वैशाख। पुनः अमेरिकी राष्टपतिकाे कार्यभार सम्हालेसङै सारा विश्वसँग भन्सार युद्ध सुरु गरेर सबैलाई चिढ्याएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भने चीनसँगको व्यापार युद्धमा अन्य देशहरूकको साथ खोज्ने अभियानमा लागेका छन्।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च रेसिप्रोकल महसुल लगाउने घोषणा गरेका थिए। उनले आठ वटा देशहरूलाई ४० प्रतिशतभन्दा बढी भन्सार लगाउने घोषणा समेत गरेका थिए। उनले मुख्य प्रतिस्पर्धी चीनलाई ३४ र भारतलाई २७ प्रतिशत भन्सार तोकेका थिए। अमेरिकासँग घनिष्ठ सम्बन्ध भएको युरोपियन युनियनलाई पनि उनले २० प्रतिशत भन्सार लगाएका थिए।
चीनलाई लगाएको भन्सार दर पटक-पटक बढाए पनि ट्रम्पले ७० भन्दा बढी देशहरूलाई लगाएको पारस्परिक भन्सार भने ९० दिनका लागि भन्दै रोकेका छन्। ती देशहरूले अमेरिकी कर नीतिको विरोध नजनाएको, जबाफी भन्सार पनि नलगाएको र छलफलका लागि तयार रहेको देखिएको भन्दै रेसिप्रोकल भन्सार रोकेर उनले सबै देशलाई विश्वव्यापी १० प्रतिशत भन्सार दर मात्रै लगाएका हुन् ।
पटक-पटक अमेरिका र चीनले जबाफी कदम चालेर थप महसुल लगाएका कारण ट्रम्पको दोस्रो कार्यकालमा चिनियाँ वस्तुमा लगाएको भन्सार महसुल बढेर १४५ प्रतिशत पुगेको छ। चीनले पनि जबाफमा अमेरिकी उत्पादनमा १२५ प्रतिशत भन्सार महसुल लगाएको छ।
ट्रम्पले त्यसपछि चीनबाट आयात हुने स्मार्टफोन लगायत इलेकट्रोनिक्स सामानहरूमा रेसिप्रोकल (पारस्परिक) भन्सार दर नलगाउने भनेका छन्। तर इलेकट्रोनिक्स सामानमा दिएको छुट पनि अल्पकालीन मानिन्छ। यसरी अमेरिका र चीनबिच सबै व्यापार नै रोकिने गरी व्यापार युद्ध पनि सुरु भएको छ।
यस्तोमा चीनसँगको व्यापार युद्ध जित्न अमेरिकालाई अरू देशहरूको साथ आ वश्यक छ। त्यसैले सुरुमा सारा विश्वसँग भन्सार युद्ध सुरु गरेका ट्रम्प अहिले चीनविरुद्ध मोर्चा बन्दी गर्न लागेका छन्। उनले अरू देशलाई फकाउने प्रयास गरीरहेका छन्।
यही माहाेलमा ट्रम्पले भारतीय मूलकी श्रीमती भएका उपराष्ट्रपति जे डी भान्सलाई भारत भ्रमणमा पठाएका छन्। भान्स उनकी भारतीय मूलकी पत्नी उषा भान्स र उनीहरूका तीन छोराछोरी चार दिने भ्रमणका लागि भारतमा छन्।
भान्सका छोराछोरी भारत आउँदा भारतीय पोसाकमा सजिएर आएका थिए भने उनीहरूसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भान्सका दुई छोरा र एक छोरीलाई मयूरको प्वाँख उपहार पनि दिएका थिए।
भारतलाई भन्सारको राजा भन्ने ट्रम्पले अहिले चीनविरुद्ध साथ खोज्ने क्रममा ट्रम्पले उपराष्टपति भान्सलाइ भारतको भ्रमणमा पठाएको बुझिन्छ।
प्रतिक्रिया