भैरहवा। राष्ट्रिय गाैरवकाे आयाेजनाका रूपमा रहेकाे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पुनः नियमित सुचारुको माग राख्दै रुपन्देहीमा क्रियाशील रहेका ४ सङ्गठनहरूले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले बुधवार भैरहवामा पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका हुन् ।
पहिलो चरणको आन्दोलन अन्तर्गत रुपन्देहीका रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिका साथै सङ्घ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूसँग छलफल गरी विमानस्थल सञ्चालन सम्बन्धमा प्रतिबद्धता लिने तथा सम्बन्धित एअरलाईन्सका प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताएका छन् ।
उनले सम्पूर्ण सङ्घ–संस्था, राजनीतिक दल, आम सर्वसाधारण, जनप्रतिनिधि लगायत हजारौँको सङ्ख्यामा उपस्थिति भई विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध गर्ने, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्य मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूसँग अल्टिमेटम दिँदै यदि विमानस्थलबाट उडान नभए आन्दोलनको कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने पनि अध्यक्ष ज्ञवालीले बताएका छन् । उनले कालोपट्टि बाँधेर दबाबमूलक विरोध तथा शान्तिपूर्ण र्याली प्रदर्शन एवं बजार परिक्रमा गरिने समेत जानकारी दिए ।
मागको सुनुवाइ नभएमा दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा गर्ने र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सुचारु नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने ज्ञवालीले बताए । ‘सम्बन्धित मन्त्रालयका मन्त्री र कर्मचारीहरूलाई विमानस्थल प्रवेश निषेध गर्दै कालो झण्डा देखाउँछौँ, ’उनले भने–‘आन्तरिक विमानस्थलबाट आगमन प्रस्थान बन्द गर्नका लागि सम्बन्धित पक्षलाई टिकट नकाट्नका लागि आह्वान र विमानस्थल गेटमा शान्तिपूर्ण प्रदर्शन गरी आवतजावत समेत बन्द गराउनेछौं ।’
शान्तिपूर्ण विरोधका कार्यक्रमले उग्र रूप लिएमा त्यसको जिम्मा नेपाल सरकारले लिनु पर्ने अध्यक्ष ज्ञवालीले बताए । ‘यति गर्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभएमा पुनः तेस्रो चरणको आन्दोलनको घोषणा गर्न बाध्य हुनेछौँ, ’उनले भने । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरेको तर सरकारले गरेको प्रतिबद्धता पूरा नगरेकोले बाध्य भएर आन्दोलित हुनुपरेको उनले बताए ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई डाइभर्सन गर्ने स्थानको रूपमा प्रयोग मात्र गरेको बताए । एअरपोर्ट सञ्चालनकै भरोसामा निजी क्षेत्रको अर्बाैकाे लगानी भएको तर विमानस्थल सञ्चालन नहुँदा सबै लगानी डुब्ने अवस्थामा पुगेको बताउँदै उनले अबको आन्दोलनलाई लुम्बिनी प्रदेशका सम्पूर्ण निजी क्षेत्रलाई समेटेर निर्णायक बनाउने गरी अघि बढ्ने ग्लोबल आवाजलाई बताए ।
‘लुम्बिनी प्रदेशका निजी क्षेत्रका नेताहरूसँग छलफल गरेर उहाँहरूको अगुवाइमा आन्दोलन अगाडी बढाइने र त्यो आन्दोलनले पनि सार्थकता पाउँछ,’आचार्यले भने-‘नेतृत्व जसले गरे पनि फरक पर्दैन ।’ विमानस्थल सञ्चालनका लागि सिद्धार्थनगर नगरपालिकासहित यहाँ रहेका सम्पूर्ण पालिकाले पहल गर्नुपर्ने उनको भनाइछ । सङ्घीय सरकारले विमानस्थल सञ्चालनका लागि सहयोग गरेन, ’उनले भने-‘स्थानीय सरकारले पनि यसमा सहयोग गरेको अवस्था छैन।’
उद्योग व्यापार सङ्गठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले सरकारले गरेको सहमति पालना नगर्दा बारम्बार आन्दोलन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले विमानस्थल निर्माण हुने तर, सञ्चालन नहुने अवस्था दुर्भाग्यपूर्ण भएको बताए । ‘रुपन्देहीको विकासका लागि विमानस्थल सञ्चालन हुनै पर्छ, ’उनले भने–‘सम्पूर्ण सङ्घ–संस्थाहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।’
सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव कृष्ण प्रसाद घिमिरेले विमानस्थल नियमित सञ्चालनका लागि सरकारले इच्छा नदेखाएको बताउँदै सरकारले पटक पटक आश्वासन दिए पनि विमानस्थल पूर्ण र नियमित सञ्चालन हुन नसकेकोमा दुःख व्यक्त गरे ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नियमित अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता हुन नसक्दा व्यवसायी लगानी गर्नबाट पछाडि हटिरहेको बताए । भएको विमानस्थल पनि नचल्दा थप लगानीका सम्भावना पनि टरेको बताउँदै ‘सम्भावना भए लगानी गर्ने हो, नियमित अन्तर्राष्ट्रिय उडानै हुन सकेको अवस्था छैन, सम्भावना नभइन कसरी लगानी आर्कषित गर्ने ?’ उनले भने ।
प्रतिक्रिया