ताजा अपडेट »

आँगनमा खेल्दै गरेका बालकलाई चितुवाले लग्यो, जँगलमा मृत फेला

आइतबार, ०४ फागुन २०८१, ०९ : १६
652 Shares
आइतबार, ०४ फागुन २०८१
652 Shares

दाङ । बर्दियामा चितुवाको आक्रमणबाट एक बालकले ज्यान गुमाएका छन् । शनिबार साँझ करिब ७ बजेको समयमा बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट २ वर्षीय बालक रिहान चलाउनेको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्तिमगरका अनुसार आगनमा खेलिरहेका बालकलाई  चितुवाले टिपेर लगेको थियो। मृत भेटिएको उनको घाँटी र टाउको पछाडिको भागमा चोट लागेको छ। घाउखतको विश्लेषण गर्दा चितुवाले आक्रमण गरेको भन्ने निष्कर्षमा प्रहरी पुगेको हो।

आफू भित्र भएको समयमा बाहिर आँगनमा खेलिरहेको छोरा नदेखेपछि रिहानका आमा रचनाले हार गुहार गरेकी थिइन्। गाउँलेहरू मिलेर यताउता खोज्दा नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो। प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको डिएसपी घर्तिमगरले जानकारी दिए।

रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन्। रचनाको घर भने बाँकेको राप्तिसोनारी गाउँपालिका–५ हो। आइतबार पोष्टमर्टमपछि शव आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।