काठमाडौँ । विश्वका थुप्रै फेष्टिभलमा अवार्ड जित्न सफल दीपक रौनियार निर्देशित चलचित्र ‘सेतो सूर्य’ अर्थात् ‘ह्वाइट सन’ युट्युबमा रिलिज भएकाे छ । बाँसुरी फिल्मस रिलिज गरेको सेतो सूर्य नेपाली चलचित्रको इतिहासमा उत्कृष्टको सूचीमा पर्छ ।
चलचित्रमा दयाहाङ राई, रवीन्द्रसिंह बानिया, सूमी मल्ल, दीपक क्षेत्री, गणेश न्यौपाने, आशा मगराती, अमृत परियार, प्रमोद अग्रहरी, देशभक्त खनाल लगायतको अभिनय छ । सन् २०१६ मा प्रदर्शनमा आएको यो चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समीक्षकहरुले समेत निकै रुचाएका थिए ।
१० वर्षे द्वन्दकाे समयकाे कथा बाेकेकाे चलचित्रको सुरूआत शंखध्वनी बजेर हुन्छ । एउटा शव उठाउनै लाग्दा छोरा सुरजले भित्रबाट एउटा झन्डा लिएर आउँछ । ‘बुबाको अन्तिम इच्छा थियो’ भन्दै त्यो झन्डा शवमाथि ओढाइदिन्छ । शव उठाउनै लागेका ठुलो छोरा चन्द्रलाई त्यो सह्य हुँदैन र थुतेर फालिदिन्छ ।
बाबुको शव छेउमा दुइटा छोराको घम्साघम्सी पर्नै लागेका बेला गाउँले अलमलमा पर्छन्। एउटा छोरा सेनामा काम गरेर गाउँमा जमेको, अर्को माओवादी भएर वर्षौं बाहिरै बसेको । सेतो सूर्य (ह्वाइट सन) को कथा त्यसैमा अगाडि बढेको छ । चलचित्रमा दयाहाङले चन्द्रको र रवीन्द्रसिंहले सुरजको भूमिका निर्वाह गरेका छन् ।
भेनिस चलचित्र फेस्टिभल, टोरन्टो इन्टरनेसनल चलचित्र फेस्टिभल, बुसान चलचित्र फेस्टिभलमा प्रिमियर गरेर यात्रा सुरू गरेको चलचित्र थुप्रै विश्वप्रसिद्ध महोत्सवहरूमा देखाइएको थियो । २७ औँ सिंगापुर इन्टरनेसनल चलचित्र फेस्टिभलमा यसले ५५ हजार डलरसहित सर्वोत्कृष्ट अवार्ड जितेको चलचित्रले । फ्रिवर्ग इन्टरनेसनल फेस्टिभलमा चार वटा अवार्ड र भेनिस चलचित्र फेस्टिभलमा एउटा अवार्ड प्राप्त गरेको थियो ।
त्यस्तै, पाम स्प्रिङ चलचित्र फेस्टिभलमा पनि अवार्ड जितेको थियो । यसबाहेक इन्टरनेसनल चलचित्र फेस्टिभल, गोल्डेन हर्समा मनोनयनमा परेको थियो । ९० औँ अस्कर अवार्डका लागि नेपालबाट यो चलचित्र गएको थियो ।
प्रतिक्रिया