ताजा अपडेट »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलप्रति प्राधिकरण नै किन नकारात्मक ?

शुक्रबार, १४ मंसिर २०८१, १७ : १४
200 Shares
शुक्रबार, १४ मंसिर २०८१
200 Shares

बुटवल । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरिक विमानस्थल बनाउनु पर्ने बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो संचालनको विषयमा भैरहवामा आयोजित कार्यक्रममा बोल्ने क्रममा महानिर्देशक अधिकारीले काठमाडौं बाहिर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नरहेको आसय व्यक्त गरे । 

‘भैरहवा, पोखरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सबै क्यान अन्तर्गतकै भएकाले काठमाडौं आउने जहाज घटाएर भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न सकिएला तर, बजारका हिसाबले हेर्ने हो भने काठमाडौंबाहेक अर्को विमानस्थल चल्न सक्दैन यही सत्य हो,’ महानिर्देशक अधिकारीले भने ।

‘अहिले पनि धेरै दवाब र विरोधकाबीच विमान कम्पनीहरुलाई डण्डा लगाएर भैरहवा पठाइएको छ जुन टेक्निकल कारणले हो भन्नेपनि सबैले बुझेकै कुरा हो । यत्तिको विमानस्थल आन्तरिक पनि चाहिन्छ भनेर चित्त बुझाउनुस् के गर्नु छ अब उपाय यहि हो यसको,’ अधिकारीले भने । अहिले विभिन्न पाँचवटा विमान कम्पनीले भैरहवाबाट सातामा २४ वटा अन्तर्राष्ट्रिय उडान गरिरहेको तर, यात्रु नहुँदा कतिपय विमानहरु भैरहवामा अवतरण र उडान मात्र गर्दै आएकाले यो विमानस्थल चल्न नसक्ने उनको दाबी छ । महानिर्देशक अधिकारीले सधैभरी घाटा खाएर विमानस्थल सञ्चालन नहुने बताउँदै भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकिने उल्लेख गरे । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन नसक्नु तथा पछिल्लो समय उडान नियमित हुनै लाग्दा प्राधिकरण नेतृत्वले दिएका उक्त अभिव्यक्तिले यहाँका उद्योगी व्यवसायी चिन्तित बनेका छन् । विगतमा समेत काठमाडौंमा व्यवसायिहरुको सिन्धिकेटका कारण राजधानी बाहिरका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नदिन चलखेल भएको आरोप लाग्ने गरेका छन् । यही आरोपलाई बल पुग्ने गरी विहिबारको कार्यक्रममा क्यानका महानिर्देशकले नै भैरहवा र पोखारामा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँदा खर्च बढी हुने र औचित्यमाथि प्रश्न उठाउँदै सरकारले जबरजस्ती गरेको आसय व्यक्त गरेका हुन् । 

यद्यपी भैरहवा विमानस्थलका महाप्रवन्धक प्रताप तिवारी भने यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि पूर्ण रुपमा तयारी र सक्षम रहेको बताउँछन् । यहाँका निजी क्षेत्र तथा पर्यटन व्यवसायीहरुले गौतमबुद्ध अन्तार्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुने विषयमा चिन्ता व्यक्त गरिहेका बेला प्राधिकरणको उक्त अभिव्यक्तिले थप निराश बनेका छन् । यो विमानस्थलमा हाल सातामा २४ वटा उडान हुँदै आएको विमानस्थलका महाप्रवन्धक प्रताप तिवारी बताउँछन् । 

महाप्रवन्धक तिवारीका अनुसार विमानस्थललाई थप गुणस्तरीय र भिजिविटी समस्या समाधानका लागि आरएनपी एआर प्रविधि जडानको प्रक्रिया समेत अघि बढेको छ । हाल विमानस्थलमा जडान गरिएको आईएलएस प्रविधि सञ्चालनका लागि भारतबाट अनुमति नपाएपछि त्यसको विकल्पमा आफू भैरहवा आएपछि नै आरएनपी एआर प्रविधि जडानका लागि प्रक्रिया अगाडि बढाएको तिवारीको भनाइ छ । आरएनपी एआर नेभिगेसन प्रणालीले बाक्लो हुस्सु र कुहिरो लागेको खराब मौसममा पनि जहाजलाई सुरक्षित उडान अवतरणका लागि मद्दत पुग्ने उनले बताए । तिवारीका अनुसार उक्त प्रविधि जडानका लागि विमास्थलले थप खर्च गर्नुपर्दैन। विमान कम्पनीहरु जसको जहाजमा त्यो उडान विधिमा अवतरण गर्ने प्रणाली छ ती जहाजहरु त्यही प्रविधिमार्फत कम भिजिबिलिटीमा पनि अवतरण गर्न सक्छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले कम भिजिबिलिटीमा पनि जहाजहरु उडान तथा अवतरणका लागि आरएनपी एआर प्रविधि जडानको तयारी अगाडी बढेको बताए । भुलका अनुसार आरएनपी एआर प्रविधि भू–उपग्रहमा आधारित प्रविधि हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिउँद याममा लाग्ने बाक्लो हुस्सुका कारण जहाजहरुको अवतरण तथा उडान प्रभावित हुने भएकोले कम भिजिबिलिटीमा पनि जहाज उडान अवतरण गराउन मिल्ने प्रविधि जडानको तयारी गरिएको हो । आगामी माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडान गर्ने गरी तयारी अघि बढेको भुलले बताए ।

यसअघि नै विमानस्थलमा जडान गरिएको आइएलएस क्याट टु (इन्स्ट्रमेन्टल ल्यान्डिङ सिस्टम) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो । यो प्रविधि संचालनमा आएपछि आठ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्नेछ । हाल भैरहवामा भिओआर डिएमई (परम्परागत प्रविधि) मा आधारित उडान तथा अवतरणका लागि एकहजार आठसय मिटर सम्म भिजिबिलिटी आवश्यक पर्छ । तर बाक्लो हुस्सु लाग्ने भैरहवामा पुस माघ महिनामा भिजिबिलिटी अत्यन्त न्यून हुन्छ ।

क्यान महाप्रवन्धकको अभिव्यक्तिप्रति आलोचना 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यानका महानिर्देशकको अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन् । सरकारले बनाएको कार्ययोजनालाई खण्डित हुने गरी बोल्ने अधिकार सरकारी निकायमा रहेका कुनैपनि कर्मचारीलाई नभएको भन्दै जनतालाई निराशा बनाउने खालका अभिव्यक्ति बन्द गर्न उनले सचेत गराए । 

सरकारले आवश्यकता देखेर भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको र यसको संचालनका लागि पनि कार्ययोजना बनाइरहेको उल्लेख गर्दै सरकारको निर्णय कार्यान्वयन गर्ने तहमा बसेका व्यक्तिले नै नकारात्मक अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाए ।

‘विमानस्थल सञ्चालनको योजना सरकारले बनाउने हो सम्बन्धित निकायमा बसेकाहरुले सरकारका योजनालाई कार्यान्वयन गर्ने हो तर, विमानस्थल संचालनका लागि श्रम, स्वास्थ्य, भिसा सम्बन्धि कार्यालय सञ्चालन गर्न सरकारले दिएका निर्देशन र निर्णय कार्यान्वयन नगर्ने विमानस्थल चल्दैन भनेर अफवाह फैलाउने कार्यप्रति मेरो आपत्ती छ,’ मुख्यमन्त्री आचार्यले भने ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पनि महानिर्देशक अधिकारीको अभिव्यक्तिबारे आपत्ति जनाए । ‘जिम्मेवार निकायमा रहेका व्यक्तिको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति प्रति मैले खेद व्यक्त गर्दछु,’ ढकालले भने ।

संघीय सांसद बासुदेव घिमिरेले सरकारले विमानस्थल चल्छ भनेर चलाएपछि त्यसकाविरुद्ध नकारात्मक सन्देश प्रवाह गर्ने अधिकार कसैलाई पनि नभएको बताए । उनले संचालन गर्नेबित्तिकै नाफा खाएका कुनैपनि व्यवसाय नहुने भन्दै विमानस्थल पनि एक प्रकारको व्यवसाय भएकोले संचालन गर्ने बित्तिकै नाफा हुन्छ भनेर नसोच्न आग्रह गरे ।

‘सुरु हुनेबित्तिकै नाफा हुने व्यवसाय कुन छ, विमानस्थल पनि त्यस्तै हो, सरकारले घाटा सहेर भएपनि संचालन गर्ने भनेपछि सरकारको निर्णय कार्यान्वयन गर्ने निकायले निर्णय कार्यान्वयन गर्ने हो, जनतालाई निराश बनाउँदै हिँड्ने छुट कसैलाई छैन,’ घिमिरेले भने ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।