ताजा अपडेट »
नेपाली चलचित्रलाई दर्शकको साथ:

‘पूर्णबहादुरको सारङ्गी’: बुटवलका हलमा शो थपिए पनि टिकट पाउनै मुस्किल

विहीबार, २२ कार्तिक २०८१, १९ : १४
3.38K Shares
विहीबार, २२ कार्तिक २०८१
3.38K Shares

बुटवल । तिहारको लक्ष्मीपूजाको दिन बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बुटवलसहित देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ ।

चलचित्रले बुटवलमा पाएका अधिकांश शो हाउसफूल भएका छन्, जसका कारण बुटवलमा दर्शकहरूले टिकट नपाएर २/३ दिन पालो पर्खिएर टिकट काट्नुपर्ने बाध्यता आइरहेको छ । हलहरूले मध्यरातसम्म शो थपेका छन् । बिहान ६ बजेदेखि राति ११ बजेसम्म शो खुलाउँदा पनि टिकट पाउन सक्ने अवस्था छैन ।

चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स बुटवलले दर्शकको मागसँगै शो संख्या थप्दै आइरहेको छ । सुरुमा ४ वटा शो दिएको क्यूएफएक्स बुटवलले अहिले बढाएर ७ वटा शो पु्राएको छ । क्यूएफएक्स बुटवलका म्यानेजर महेश्वर गिरीका अनुसार शनिवारसम्मको टिकट बुक भइसकेको छ ।

‘हामीले सुरुमा ४ वटा शो दिएका थियौँ । दर्शकको चाप बढेसँगै आज विहिवार ५ वटा शो चलाएका छौँ । शुक्रबार दर्शकको चाप बढी रहेकाले ७ वटा शो चलाउने तयारीमा छौँ,’– म्यानेजर गिरीले भने ।

यस्तै बुटवलको द्वारिका उदय फिल्म हलले अन्य सबै फिल्मको शो रोकेर पूर्णबहादुरको सारङ्गीलाई मात्रै शो दिएको छ । हलका एकाउन्टेण्ट चन्द्रमण्डी पाण्डेका अनुसार शुरुमा २ वटा शो दिएको र दर्शकको चाप भएका कारण अन्य फिल्मको शोे बन्द गरेर सारङ्गीलाई मात्रै शो दिएको बताए ।

‘विहान ८ः १५ देखि बजेदेखि राति ८ः३० बजेसम्म नै सारङ्गीलाई शो दिएका छौँ । अहिले हामीले अन्य कुनै पनि फिल्मलाई शो दिएका छौँऔँ,’–उनले भने । साथै शनिवारसम्मका लागि अधिकांश टिकट बुक भइसकेको उनले बताए । यस्तै बुटवलमै रहेकाे आइइनआइ सिनेमाजकाे क्यूबक्सले पनि आफ्ना अधिकांश शो सारङ्गीलाई दिएको छ । सारङ्गीलाई सुरुमा ३ वटा शो मात्रै दिएको हलले बुधबार ९ वटा शो दिएको आइइनआइ सिनेमाज्का डुयुटि अफिसर प्रतिक जिसिले बताए ।

‘सुरुमा ३ वटा शो मात्रै दिएका छौँ । चाप बढ्दै गएपछि अरुको शो कम गरेर सारङ्गीको शो बढाउँदै गएका छौँ । २ वटा हिन्दी चलचित्रलाई १/१ वटा शो मात्रै दिएका छौँ । दर्शकको चाप बढे सबै शो नै सारङ्गीलाई दिन्छौँ,’–उनले भने । दर्शकको उच्च चाप रहेकाले शुक्रबार सारङ्गीलाई ११ वटा शो दिने डुयुटि अफिसर जिसिले बताए । शुक्रबारका ११ वटै शो को अधिकांश टिकट बुक भइसकेको उनले बताए ।

यता बुटवलको पुरानो सिनेमा हल मिलन चलचित्र हलले पनि सारङ्गी हेर्न आउने दर्शकको चाप बढेपछि शो बढाएको छ । शुरुमा २ वटा मात्रै शो संचालन गरेको मिलन चलचित्रले विहिबारबाट एउटा शो थप गरी ३ वटा शो चलाएको हलका संचालक कृष्ण पाठकले बताए । ‘हाम्रोमा अग्रिम टिकटको व्यवस्था छैन् । आज दर्शकको चाप धेरै भएर एउटा शो थप गरेका छौँ । भोलिदेखि पनि ३ वटा शो नै संचालन गछौँ,’– उनले भने ।

गन्धर्व समुदायको कथामा आधारित यस सिनेमाले बाबुछोराको संघर्ष र परिवारिक भावनाहरूलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । चलचित्रको कथा र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकहरूमा गहिरो प्रभाव पारेको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण यो चलचित्रले अनुमान र व्यापारिक गणितलाई उल्टाइदिएको छ । दर्शकको हुटहुटीले बक्स अफिसमा उछाल ल्याएपछि ‘पूर्णबहादुरको सारङ्गी’ले यही अनुरूप चले ‘टर्निङ पोइन्ट’ ल्याउदै घरेलु बक्स अफिसमा यस अघिका चलचित्रका रेकर्ड तोड्ने अनुमान  छ ।

यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन सुरु गरेको छ । टोकियोबाट सुरुवात सिनेमाले विहीबारदेखि अष्ट्रेलिया र मध्यपूर्व, शुक्रबारबाट अमेरिका र बेलायत देशहरुमा समेत प्रदर्शन हुन लागेको छ । 

सरोज पौडेल निर्देशित यस चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।

सेभेन सिज सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी रहेका छन् भने रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा छन् ।

 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।