ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पताललाई जोडेर प्रचार सामग्री राखेका निजी संस्थाले धमाधम मेटाउँदै

शुक्रबार, ०४ असोज २०८१, १७ : ५७
436 Shares
शुक्रबार, ०४ असोज २०८१
436 Shares

बुटवल । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सरकारी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको नाम टासेर प्रचार गर्न रोक लगाइएपछि बुटवलमा धमाधम मेटाउने काम सुरु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले  सरकारी अस्पतालको नाम र पद प्रयोग गरी निजी स्वास्थ्य संस्थाको ओ।पि।डि टिकट, साइन बोर्ड, आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार नगर्न निर्देशन जारी गरेपछि मेटाउने अभियान सुरु भएको हो । 

यसैबिच लुम्बिनी प्रादेशिक अस्पतालले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पनि मन्त्रालयको पत्रानुसार निर्देशन जारी गरेपछि निजी स्वास्थ्य संस्थाहरूमा नाम मेटाउने अभियानले तीव्रता पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। इन्द्र ढकालले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको  निर्देशन तथा निर्णय स्वागतयोग्य भएको बताउँदै मेसु ढकालले आफ्नो अस्पताल मातहतका कुनै पनि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कार्यान्वयनका लागि कडाईका साथ लागू गरिने बताए । 

अस्पतालको स्वास्थ्य सेवा सुधार तथा जनगुनासो कम गर्नका लागि कार्योजना निर्माण गरी अघि बढिएको बताउँदै उनले विशिष्टकृत अस्पतालको रूपमा विकास गरिने उल्लेख गरे । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको पछिल्लो निर्देशनको स्वागत गर्दै सकेसम्म स्वास्थ्य सेवाका लागि सेवाग्राहीलाई प्रादेशिक अस्पतालबाट बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने लक्ष्यका साथ योजना अघि बढाइएको बताए । 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि दीर्घकालीन र तत्कालीन योजना निर्माण गरी अघि बढिएको उल्लेख गरे । सरकारी अस्पतालमा जागिर खाने तर, निजी स्वास्थ्य संस्थामा आफ्नो नाम झुण्ड्याएर दिन बिताउने परिपाटीलाई अन्त्य गरिने उनले दाबी गरे । प्रदेश सरकार मातहतका सबे सरकारी अस्पतालहरूमा जनशक्ति व्यवस्थापन, उपकरण व्यवस्थापन लगायतका लागि आवश्यक व्यवस्था गर्न मन्त्रालय लागिरहेको उनले बताए । 

गएको भदौ २८ गते बसेको मन्त्री स्तरीय बैठकको निर्णयले सरकारी नियुक्ति खाएकाहरूको नाम र पद प्रचारका लागि निजी स्वास्थ्य संस्थामा राख्न नपाइने निर्णय गरेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।