ताजा अपडेट »

दाङको तुलसीपुरमा पुग्दा ...

बुधबार, ०५ बैशाख २०८१, १८ : ०१
142 Shares

गत चैत्र महिनाको २३ र २४ गते दाङको तुलसीपुरमा पुगेको थिएँ । राष्ट्रिय स्वाथ्यकर्मी महासंघको प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षणमा सहजकर्ताका रुपमा । साथमा थिए पार्टी स्कूल विभागका सचिव घनश्याम कोइराला र वाइपी आचार्य पनि ।

महासंघको नेतृत्व विकास, संगठनको व्यवस्थापन र समसामयिक विषयमा सम्पन्न भएको उक्त प्रशिक्षणमा महासंघका केन्द्रीय अध्यक्ष डा झलक शर्मा, गौतम प्रमुख अतिथिका रुपमा थिए । प्रमुख वक्ताका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् लोकप्रिय गायिका कोमल वली थिइन् ।

कोमल वलीले नेतृत्व विकास, यसका आधार र नेतृत्वलाई कसरी संरक्षण गर्दै अघि बढ्न सकिन्छ भन्ने कुरालाई प्रष्ट पारेकी थिइन् । असल र निरन्तरताको अभ्यासले नै नेतृत्व विकास हुने उनको ठहर थियो । साथमा घनश्याम कोइरालाले नेतृत्व विकासका लागि ब्यक्ति आफू सचेत र  क्रियाशील हुनुपर्नेमा जोड दिए ।  हातमा दही जमाएर नेतृत्व विकास नहुने भएकाले गतिशीलता, अभ्यास, क्रियाशीलता र समन्वयकारी भूमिका निर्वाह गर्नेहरुले नै सही नेतृत्व गर्न सक्नेमा उनले जोड दिए ।

नेतृत्वका अनेक किसिम भएपनि नेपाली समाज र आफ्नो संगठनका लागि उपयुक्त हुने खालको नेतृत्वले नै संगठनलाई उँचो बनाउन सम्भव भएको  कोइरालाले बताए । साथै उनले संगठनको व्यवस्थापन चुनौतीका रुपमा रहेको बताउँदै सबैले आफ्नो संगठनहरुलाई कर्मशील बनाउनुपर्नेमा जोड दिए ।

सूचना प्रविधिका कुरा वाइपी आचार्यले गरेका थिए प्रशिक्षणमा । संसारमा सूचना हुनेहरु नै शक्तिशाली हुने गरेको उनको तर्क थियो । धनपैसा, जग्गाजमीन र हीरामोती भएर होइन, गतिलो सूचना संग्रह गर्न सक्ने र सही निर्णयका लागि प्रयोग गर्न सक्ने संगठन वा ब्यक्ति आजको सम्पन्न ब्यक्ति वा संगठन रहेको उनको ठहर थियो ।

प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका एकसय २० बढी आफू निकट संगठनका मित्रहरुले सहभागिता जनाएको उक्त प्रशिक्षणमा स्वाथ्यकर्मी र डाक्टरहरुको सार्थक सहभागिता थियो । सूचना र प्रविधिलाई आफ्नो संगठनमा प्रयोग गरेर सक्दो चुस्त, दुरुस्त बनाउन सकिएमा संगठनले गतिशीलता लिने आचार्यको दावी थियो । संगठनहरु नामका लागि र सेवा, सुविधाका लागि मात्र खुल्ने होइन, सांगठनिक तरिकाले सबैको हीतका निम्ति प्रयोग गर्नका लागि संगठनभित्र सूचना र प्रविधिलाई गतिलो तरिकाले प्रयोग गर्नुपर्नेमा आचार्यले जोेड दिए ।

वर्तमानमा सूचना र प्रविधिको अत्यधिक प्रयोग भएपनि सही र गतिलो सूचना ग्रहण गर्न नसक्दा झुठा र कपोकल्पित सूचनाको बाढीले धेरैलाई बगाउन सक्ने भएकाले सचेत रहन समेत उनले अनुरोध गरेका थिए । स्वास्थ्यकर्मीहरु झन् सूचना र प्रविधिसँग हातेमालो गरी अघि बढ्नुपर्ने अवस्था रहेको जानकारी समेत गराएका थिए ।

जनसंगठनहरुले आफ्नो माउ पार्टीहरुसँग कसरी सम्बन्ध स्थापना गर्न सक्छन् ? जनसंगठन र उनीहरुका बीच केकस्तो सम्बन्ध छ र नेपाली समाजमा रहेका जनसंगठनहरुको अवस्था कस्तो छ भन्ने विषयमा चर्चा गर्ने काम मेरो थियो ।

नेपालको प्रजातान्त्रिक, लोकतान्त्रिक एवम् गणतान्त्रिक आन्दोलनमा सरिक भएर स्वाथ्यकर्मीहरुले गरेको योगदान भूल्न नहुने कुरा मैले भनिरहँदा पार्टीहरुले आआफ्ना जनसंगठनहरुलाई बिर्सिदै गएको हो कि भन्ने चिन्ता सहभागीले ब्यक्त गर्दै थिए । मुटु र शीरा, धमनीकोजस्तै सम्बन्ध रहेको पार्टी र जनसंगठनको सम्बन्धमा दिनप्रतिदिन ओरालो लागेको हो कि भन्ने सन्देह दुबै पक्षले हटाउँदै जानुपर्छ कि ?

स्वाथ्यकर्मी र चिकित्सकहरु यस्तो विषयमा दुई दिनसम्म कसरी बस्लान् र भन्ने चिन्ता आयोजकलाई छँदै थियो भने हामी तीनजना सहजकर्ताहरुलाई चिन्तनको विषय थियो । उनीहरुलाई कुन तन्तुले बाँधिराख्न सकिएला भन्ने हाम्रो चिन्तनलाई आयोजकको गतिशीलताले जोडिरहेको थियो । सय बढी सहभागिहरुलाई आवासीय प्रवन्ध गरिएको उक्त प्रशिक्षणमा उचित खानपान, चियापानको प्रवन्ध मिलाउनु र प्रश्न गर्ने ठाउँ नराख्ने नेपाल स्वाथ्यकर्मी महासंघ, लुम्बिनी प्रदेश समिति धन्यवादको पात्र बनेको छ । यस महासंघसँग सम्बन्धित इन्चार्ज खगराज पोखरेल, अध्यक्ष चिन्तामणि ज्ञवाली, सचिव कृष्णगोपाल चौधरी, कोषाध्यक्ष दोर्णबहादुर ओली लगायतको टीमको सक्रियता हेर्दा व्यवस्थापन पक्ष अति नै तगडा भएको सबै सहभागीहरुले बताएकै कुरा भयो ।

उक्त दुई दिने प्रशिक्षणमा स्वास्थ्यकर्मीका समस्या, अवस्था, स्वाथ्य नीति, नियम र कानूनका कुरा साथै स्वास्थ्य सेवालाई जनमुखी बनाउन सबै स्वास्थ्यकर्मीहरु लाग्नुपर्नेमा सबैको एकमत देखिन्थ्यो । जनताका असल सेवक नै स्वास्थ्यकर्मी भएपनि सरकारको नजरमा  स्वास्थ्य क्षेत्र र स्वाथ्यकर्मीहरु प्राथमिकतामा नपरेको कुरा वजेट विनियोजनले नै देखाएको प्रमुख अतिथि डा.झलक शर्मा गौतमले बताएका थिए । द्वन्दकालमा समेत राज्य र विद्रोही पक्षहरुबाट स्वास्थ्यकर्मीहरु नै चपेटामा परेको स्मरण गराउँदै डा.झलकले नेपालमा स्वास्थ्य वीमाको निरन्तराको कुरा गर्दै जनमुखी स्वास्थ्य सेवामा राज्यको  खास ध्यान जानुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा घनश्याम पाण्डे, लक्ष्मण आचार्य, पूर्णबहादुर बुढा, हुकुमबहादुर बस्नेत लगायतका साथीहरुले प्रशिक्षणमा शुभकामना ब्यक्त गरेका थिए । साथमा पूर्वमन्त्री, तुलसीपुर उपमहानगरपालिकाका पूर्व उपमप्रमुख लगायतको भव्य उपस्थिति थियो । विशेष रुपमा कार्यक्रमलाई टुंगोमा पुराउन सक्दो सहयोग गर्ने भाष्कर आत्रेय, बाबुराम भट्टराई लगायतका स्वाथ्यकर्मीहरुको योगदान प्रशंसनीय छ । सहभागीहरुले दुई दिवसीय विषयगत प्रशिक्षणलाई नजिकबाट चित्त बुझाएको कुरा पृष्ठपोषण प्राप्त भयो । उनीहरुमा नेतृत्व विकास र संगठनको व्यवस्थापनमा पक्कै पनि चुस्त र दुरुस्तापना पक्कै आउने छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।