ताजा अपडेट »

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा गठबन्धनको मतभार एमालेको भन्दा झण्डै दोब्बर बढी

मंगलबार, २४ पुस २०८०, १४ : ४६
498 Shares

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको अङ्कगणितको आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिएको छ । यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा  दुई वटा सिटका लागि निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा दुई सिटका लागि हुन लागेको निर्वाचनमा ७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।

यहाँ सत्ता गठबन्धनकोे तर्फबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा (गुल्मी) र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी (रोल्पा) ले उम्मेदवारी दर्ता गराए । सापकोटाले महिला कोटा र सुवेदीले अन्य कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै नेकपा एमालेबाट तुलसा केसी (दाङ)ले महिला कोटा र झेविन्द्र बहादुर घर्ती क्षेत्री (पाल्पा) ले अन्य कोटामा उम्मेदवारी दर्ता गरेका छन्  । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला कोटामा विजया लक्ष्मी सिंह (कपिलबस्तु) र निरञ्जन थापा (रुपन्देही)ले अन्य कोटाबाट उम्मेदवारी दिएका छन् ।

यहाँ जनमत पार्टीको तर्फबाट एउटा मात्रै उम्मेदवारी परेको छ । नवलपरासी पश्चिमका बालगोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई पदका लागि सत्ता गठबन्धन दल काँग्रेस र माओवादीबाट संयुक्त रुपमा एक पुरुष र एक महिला गरि एक र एक जना, एमालेबाट एक महिला र एक पुरुष, राप्रपाबाट एक महिला र एक पुरुष र जनमतबाट एक पुरुष गरि तीन महिला र चार पुरुषले उम्मेदवारी दर्ता गराएका छन् । 

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र १०९ वटा पालिकाका २१८ जना प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जनाले  मतदान गर्ने छन्। राष्ट्रिय सभा निर्वाचनका लागि पालिकाका प्रमुख/उपप्रमुखको मतभार १९ र प्रदेश सभा सदस्यको ५३ तोकिएको छ । यो हिसाबले प्रदेश सभाका सदस्यहरूको मतभार संख्या ४ हजार ६११ र पालिकाका जनप्रतिनिधिको ४ हजार १४२ गरी हजार ९६४ मतभार गरी जम्मा ८ हजार ७५३ मतभार कायम हुन्छ । 

यो मध्ये सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत, नागरिक उन्मुक्ति, जनमोर्चाको गरी पक्षमा ५ हजार १७२ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा २ हजार ५४२ मतभार संख्या बढी हो ।  

एमालेको मतभार संख्या २ हजार ६३० मात्रै रहेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि गठबन्धन दललाई समर्थन गर्न सक्ने सम्भावना रहेको छ । यदि लोकतान्त्रिक समाजवादीले गठबन्धनलाई समर्थन गरेमा गठबन्धन दलको मतभार संख्या बढ्ने छन् । 

यस्तो छ दलहरुको हिसाब किताब
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा मतभारको आधारमा सबै भन्दा दल हो । कांग्रेसका २७ सांसद, ९२ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष गरी कुल ३ हजार १ सय ७९ मतभार छ । यस्तै एमालेका २९ सांसद र ६७ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष उपाध्यक्षको मतभार २ हजार ६ सय ३० छ भने माओवादीका ११ सांसद र ४० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार ३ सय ४३ छ ।

राप्रपाका ४ सांसद र ३ पालिका प्रमुख–उपप्रमुखको मतभार २६९ छ भने जसपाका ३ सांसद र ३ पालिका प्रमुख र उपप्रमुखको मतभार २७६ देखिन्छ । लोसपाका ३ सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार २३५ छ भने एकीकृत समाजवादीका एक सांसदको ५३ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका एक सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार १२९ हुन्छ भने जनता प्रगतिशील पार्टी नेपालका २ पालिका प्रमुख–उपप्रमुखको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका ३ सांसदको मतभार १४४ छ भने नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ ।
 

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।