ताजा अपडेट »

मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने

आइतबार, १७ मंसिर २०८०, १७ : ३२
47 Shares


गुल्मी । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यहि मंसिर २० गते गुल्मीको वामीटक्सारमा आउने कार्यक्रम तय भएपछि सो पार्टीको गुल्मी जिल्ला कमिटीले विशाल आम सभाको तयारी गरिएको जनाएको छ ।

आइतबार सो पार्टीले सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो । आमा सभालाई सम्बोधन गर्नु अघि नेता ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष काउछाले जानकारी दिए ।

नेकपा एमालेले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोक मार्गमा केन्द्रित झुलाघाट चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा रुकुमबाट बुर्तिबाङ हुँदै खर्वाङसम्मको मध्यपहाडी लोकमार्गमा अध्यक्ष ओली आउने र कोखैमा रहेको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा मंसिर २० गते दिउँसो एक बजेको समयमा बिशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका जिल्ला अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

उनले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको नेतृत्व उक्त आम सभामा आउने गुल्मी जिल्लाका १२ वटै पालिका ९३ वडा, छिमेकी बाग्लुङ्गको बडिगाड गाउँपालिका, गलकोट नगरपालिका सहित आम सभामा १० हजार मानिस उतार्ने तयारी गरिएको बताए ।

ओली आउने भएपछि एमालेजन मात्र सबै दलमा आस्था राख्ने जनता पनि सहभागी हुने अपेक्षा राखिएको उनको भनाई थियो । नेकपा एमालेले १२ वटै पालिकामा संगठन सुदृढिकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आइतबार पाँचौं पालिकाका रुपमा गुल्मीदरबारमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको र यहि मंसिर २९ गते १२ वटै पालिकामा प्रशिक्षण सम्पन्न गरी त्यसको प्रगति सार्वजनिक गरिने बताए ।

उनका अनुसार एक पालिकामा ११ जना प्रशिक्षक खटिएका छन् । त्यस्तै अध्यक्ष ओलीको नेतृत्वमा मध्यपहाडी लोक मार्ग हुँदै झुलाघाट चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्यबारे नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले जानकारी गराएका थिए । जनतासँग प्रत्यक्ष जोडिने, उनीहरुका गुनाँसा र सुझाव सुन्ने सोही अनुरुपको योजनाहरु बनाउने मुख्य उद्देश्य रहेको प्यूठानका संघीय सांसद समेत रहनुभएका नेता थापाले बताए ।

यो यात्रा सामान्य नभएर निकै महत्वपूर्ण र पार्टीको लागि जनतासँग जोड्ने ठुलो अवसरका रुपमा लिएको उनको भनाई छ । उनले नेकपा एमाले सरकारमा छदाँ पारेका अरबौका योजनालाई वर्तमान सरकारले करोडमा झारेको र विकासको गति दिन नसकेको आरोप लगाए । अर्को प्रसँगमा नेता थापाले रिडी, रुद्रवेणी, वामीटक्सार, हुँदै आफु २०५६ सालमा ट्याक्टरमा खारको न्वागी मेला हेर्न पुगेको स्मरण गर्दै अहिले यो सडक पिच हुने अन्तिम चरणमा पुगेको तर ठेकदारका ढिलासुस्तीका कारण जनतामा निराशा पैदा भएको बताए । उनले विकास हुँदै नभएको भनेर एक थरीले एकखालको भाष्य सिर्जना गरेको तर त्यो गलत भएको धारणा राखे ।

जम्मा एउटा पूर्वश्चिम राजमार्गले कुनाकाप्चाका जनतालाई सुविधा दिन सकेको थिएन् । त्यसको विकल्प खोज्दै मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग सहित चार वटा राजमार्ग निर्माणको काम तिव्र पारिएको छ उनले भने –‘अध्यक्ष ओलीको नेतृत्वमा गरिएको यो यात्राको क्रममा ती मार्गहरुमा कहाँ, कति पुल, अपुग छन् , र सडकको अवस्था के छ, भन्ने बारेपनि अध्ययन अवलोकन गरिने छ ।

पत्रकार सम्मेलनमा सो पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख गणेश श्रीपालीले मंसिर २० गते अध्यक्ष ओलीले वामी टक्सारमा विशाल आम सभालाई सम्बोधन गर्ने कार्यक्रममा जिल्लाका सारा सञ्चारकर्मी र आम जनतालाई पार्टीले चुले निम्तो दिएको सञ्चार माध्यमबाट जनाकारी गराई दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सो पार्टीका प्रदेश कमिटि सदस्य कृष्ण सुनार, प्रेस चौतारी पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, रेसुंगा नगरकमिटि अध्यक्ष हरिप्रसाद पोखरेल, अर्का नेता राजेन्द्र प्रसाद पाण्डे लगायतको सहभागिता थियो । पूर्वप्रधानमन्त्री मुसिकोट नगरपालिकामा आउने भएपछि त्यस नगरपालिकाले त्यस दिनको कार्यक्रमलाई ठुलो अवसर र गौरवका रुपमा लिदैं तयारी तिव्र पारेको छ ।

आम सभा वामीटक्सारको स्मार्ट पार्कमा हुने जनाइएको छ । आम सभामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिपकुमार ज्ञवाली लगायतका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।