ताजा अपडेट »

गम्भीर प्रकृतिका फौजदारी कार्यविधि संहिता परिवर्तन गर्ने अध्यादेशप्रति सर्वोच्च बारको आपत्ति

मंगलबार, २७ मंसिर २०७९, १५ : ४९
127 Shares
मंगलबार, २७ मंसिर २०७९
127 Shares

बुटवल । सर्वोच्च अदालत बार एशोसिएशनले सरकारले गम्भीर प्रकृतिका फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ । काम चलाउ सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनसमेत सरकार समक्षम आग्रह गरेको छ ।

‘मुलुकी फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन जारी गर्ने निर्णय गरी मंसिर २६ गते प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको कार्यप्रति बार एशोसिएशनको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।’–विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको निर्वाचनबाट निर्वाचित सांसदको पहिलो अधिवेशन बस्न नपाउँदै काम चलाउ सरकारले कानुनमा नै संशोधन गरी अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिने उद्देश्यले प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन, कानुनी मुल्य र मान्यता, फौजदारी कानुनका स्थापित सिद्धान्त तथा सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको उपहास गरेको भन्दै बारले निर्णय सच्याउन आग्रह गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गर्न अध्यादेश ल्याएको हो । उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाइएको छ । सत्तास्वार्थका लागि कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश ल्याइएको भन्दै सरकारको विरोध भइरहेको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा अदालतमा दायर भएर विचाराधीन रहेको मुद्दा फिर्ता लिन नहुने उल्लेख छ । तर सत्ता गठबन्धनले नयाँ सरकार गठनको सहजताको लागि अध्यादेश ल्याउन लागेको हो । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने अडान सरकार समक्ष राख्दै आएको छ ।

सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा भएको घटनालाई मधेसवादी दल र डा बाबुराम भट्टराइले राजनीतिक मुद्दा भएको दाबी गर्ने गरेका छन्। झडपको बहाना राजनीतिक देखिए पनि घटनाको प्रकृतिले आपराधिक देखिएको थियो जुन अदालतबाट समेत पुष्टि भएको थियो।

थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा प्रदर्शनकारीले लखेटेर नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक तथा सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना, सशस्त्रका २ र १ बालकको हत्या गरेका थिए। उनीहरूले सुरक्षाकर्मीलाई लखेटी लखेटी खुर्पा, भाला, बन्चरो, खुकुरी लगायतका घरेलु हतियारले हानेर हत्या गरेको खुलेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।