ताजा अपडेट »

जस लिने होड : रुपन्देहीको सियारीमा एउटै अस्पतालको दुई पटक शिलान्यास

आइतबार, १९ भदौ २०७९, ०५ : ४०
12 Shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका ४ दयानगर छपियामा १५ सैयाको अस्पताल निर्माणको योजना दोस्रो पटक शिलान्यास भएको छ । आफ्नो नाममा जस बटुल्ने होडमा एउटै योजनालाई दुई पटकसम्म शिलान्यास गरिएको हो । पहिलो पटक शिलान्यास भएको करिब ७ महिनापछि शनिबार गृहमन्त्री तथा काँग्रस नेता बालकृष्ण खाँणले दोस्रो पटक शिलान्यास गरेका हुन् ।

तत्कालिन गाउँपालिका अध्यक्ष अयोध्या थारुले २०७८ माघ २३ गते तामझामकासाथ शिलान्यास गरिएको योजनालाई झन बढी तामझासहित गृहमन्त्री खाँणले २०७९ भाद्र १८ गते शिलान्यास गरे । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ सैयाको अस्पताल निर्माण गर्नका लागि पहिलो पटक शिलान्याससँगै २१ करोड ८० लाख ५० हजार २९५ रुपैया अनुमान लागत राखेर टेण्डर आब्हान गरिएको थियो । टेन्डर प्रक्रियाका सम्पूर्ण काम पूरा भई १८ करोड १ लाख ७ हजार ४८४ रुपैयामा निर्माण गर्ने गरी गत असार ८ गते निर्माण कम्पजीसँग सम्झौता गरिएको थियो । २०८१ कार्तिक ७ गते भित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । 

अस्पतालको स्तर वृद्धिसँगै १० औं तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन) को नेतृत्वमा मेडिकल अधिकृत सहित डाक्टर, नर्स सहितको टिम रहने गाउँपालिकाले जनाएको छ । अस्पताल निर्माण भएपछि सियारीवासीले चिकित्सकिय सेवा, आकस्मीक, ओपिडी, फार्मेसी, ल्याव, रेडियोलोजी लगाएतका सुबिधा प्राप्त गर्ने छन् ।  मन्त्री खांणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न आग्रह गर्दै आगामी दुई वर्षपछि सियारीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न अन्य ठाँउ जान नपर्ने उल्लेख गरे । अस्पताल निर्माणको जिम्मा कालिगण्डकी रविना जेभिले पाएको छ । 

शनिबारको शिलान्यास कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादव, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँ लगायतको उपस्थिती थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।