ताजा अपडेट »

कोभिड चौथो लहरसँग जुध्न रुपन्देहीको तयारी, अस्पतालमा छैन जनशक्ति

मंगलबार, १४ भदौ २०७९, १३ : १४
62 Shares
मंगलबार, १४ भदौ २०७९
62 Shares



भैरहवा । नेपाल–भारतको सीमा बेलहिया हुँदै नेपाल भित्रिने नेपाली र भारतीय पर्यटकहरुमा कोभिड संक्रमण भेटिने क्रम बढेपछि सीमामा निगरानी बढाइएको छ ।

कोभिडको पहिलो र दोश्रोे लहरका क्रममा देखिएको सर्तकता केही सुस्ताएपनि अहिले फेरि यसमा तीव्रता देखिएको छ । साउन महिनामा भारतीय तिर्थयात्रीहरु नेपालका बिभिन्न धार्मिक स्थल भ्रमणका लागि आउने कारण पनि सीमामा कोभिड निगरानी बढाइएको हो ।
साउन महिना भर नै बेलहिया नाका हुदै भित्रिने भारतीय पर्यटकलाई एन्टिजेन परीक्षण अनिवार्य गरी प्रवेश अनुमति दिइयो । धेरै यात्रीहरु संक्रमित भेटिएका एउटा बस नै भारत फिर्ता पठाईएको बेलहिया हेल्थ डेक्सकी स्वास्थ्यकर्मि शक्ति क्षेत्रीको भनाई छ ।

साउन महिनाको अन्तिम दिन बेलहियामा ४ सय १० जनामा गरिएको एन्टिजेन परीक्षणमा १ जना रुपन्देहीका सहित ९ जना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ साहले जानकारी दिए । रुपन्देही जिल्लामा २९ जनाको पीसीआर परीक्षणमा ५ जना संक्रमित भेटिएका छन् । भदौ ११ गते सम्म रुपन्देहीमा २ हजार २९ जनाको एण्टिजेन परिक्षण तथा १ सय ७७ जनाको पिसिआर गरिएको छ ।

एण्टिजेन परिक्षण गरिएकोमा ७७ जना र पिसिआर परिक्षणबाट ३३ जना यो अवधिमा संक्रमित भेटिएका छन् । साउन भरिमा बेलहिया नाकामा मात्र ६ हजार ९ सय ३६ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ४ सय १६ जना संक्रमित भेटिए । रुपन्देही जिल्लामा ४ सय ८८ जनाको पीसीआर जाँच गर्दा ८२ जना संक्रमित देखिएको साहले जानकारी दिए । यस अवधिमा कोभिडको कारण १ जनाले ज्यान गुमाएका छन् ।

कोरोना बिरुद्धको पूर्ण तयारीको दावी तर छैन तयारी
दोश्रो लहरमा कोभिड सुरक्षा सम्बन्धी नेपालको स्वास्थ्य संरचनाहरु धर्मराएको अवस्थाबाट पाठ सिक्दै चौथोलहरको सामना गर्न जिल्ला तम्तयार रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । कोरोना भाइरसको संक्रमण फेरि बढ्ने र महामारी देखापर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लामा कोरोना भाइरसको तेस्रो लहर संक्रमण बढ्न नदिन तयारी सुरु गरिएको छ । अस्पतालमा जनशक्ति व्यवस्थापन देखि भौतिक व्यवस्थापन, खोप एवम एन्टिजेन परीक्षणलाई तीव्रता दिइदै छ ।

बेलहिया हेल्थ डेस्कमा अहिले दैनिक औषतमा २ सय देखी ३ सय जना सम्मको एन्टिजेन परिक्षण भई रहेको र आउदो दिनमा परिक्षण सामाग्रीको अभाव नहुने जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ साहले जानकारी दिए । उनले जिल्लामा एन्टिजेन प्रयाप्त अवश्थामा रहेको बताए ।

कोभिड १९ को रोकथाम नियन्त्रण, उपचार र ब्यवस्थापनका लागी कोभिड १९ प्रतिकार योजना अनुरुप नै अगाडी बढेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

प्रजिअ पाण्डेले उपचारात्मक बिधिमा प्राथमिकता दिने र रोकथामको निम्ति नागरिकले पनि आफ्नो दायित्व पालन गर्नु पर्ने देखिएको बताए । उनले नागरिकले पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालन गरी सकेसम्म अस्पताल पुग्न नपरोस भन्नेमा सचेत हुन आग्रह गरे ।
उनले यो कार्यमा पालिकाहरुलाई बढी सक्रिय बनाएको बताए । सम्भावित जोखिमलाई हेरेर सबै पालिकालाई तयारी अवस्थामा रहन आग्रह गरेको पाण्डेले बताए । यसको साथै सीमामा बिशेष निगरानी राखिएको उनले जनाए ।

“बेलहियामा भारतबाट आउने नेपाली र भारतीयहरु माथी निगरानी बढाएका र्छौ ।” प्रजिअ पाण्डेले भने “दैनिक आउजाउ गर्ने बाहेक भारतमा बसेर आएका नेपाली र भारतीयहरुको अनिवार्य शून्यबिन्दुमै एन्टिजेन परिक्षण गरिरहेका छौं ।”

रुपन्देहीको कोभिड बिशेष अस्पताल तोकिएको लुम्बिनी प्रादेशिक अस्पतालमा ३८ वटा जनरल बेड, ३२ वटा एचडियु बेड, २२ वटा आईसियु बेड र ६ भेन्टिलेटर रहेका छन् । भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा ७० वटा जनरल बेड, ९० वटा एचडियु बेड, १० आईसियु बेड र १० भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । यस्तै भैरहवाकै भीम अस्पतालमा २५ वटा जनरल बेड, ३० वटा एचडियु बेड, १० वटा आईसियु बेड र ३ भेन्टिलेटर रहेको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पनि १० वटा जनरल बेड सहित १० वटा एचडियु बेड, १५ वटा आईसियु बेड र १० वटा भेन्टिलेटर छन् । यसरी कोभिड केन्द्रित गरेर जिल्लामा १४३ वटा जनरल बेड, १६२ वटा एचडियु बेड, ५७ वटा आईसियु बेड तथा २९ वटा भेन्टिलेटर तयारी अवश्थामा रहेको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रको दावी छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जिल्लामा कोभिड संग जुध्न उच्च तयारी गरेको जनाए पनि तोकिएको अस्पतालहरुको अवश्था भने फरक रहेको छ । भैरहवा स्थित भिम अस्पतालले अहिले १ जना पनि कोभिड संक्रमित बिरामी लिएको छेन । अस्पतालमा बनाईएको कोभिड बिशेष कक्ष पनि त्यत्तिकै खेर गई रहेको छ । अस्पतालमा एक जना पनि कोभिड संग सम्बन्धित स्वास्थ्यकर्मि नरहेको भिम अस्पतालका प्रशासन प्रमुख गोविन्द ज्ञवालीले बताए ।

“सुरुको अवश्थामा रहेको कोभिड जनशक्तिलाई प्रदेश सरकारले म्याद थप नगरे पछि अहिले यस सम्बन्धि जनशक्ति छैन ।” ज्ञवालीले भने “हामी भिम अस्पतालमा कोभिडका बिरामी आए फर्काउने अवश्थामा रहेका छौं ।”

भिम अस्पताल जस्तै अवश्था लुम्बिनी प्रादेशिक अस्पतालको पनि छ । प्रादेशिक अस्पतालमा अहिले ५ वटा आईसियु बेड र फिभर क्लिनिकमा ७ वटा जनरल बेड सञ्चालनमा रहेको अस्पतालका कोभिड श्रोत ब्यक्ति डाक्टर नन्दु पाठकले बताए । “अस्पतालमा कोभिडको बिरामी नरहेको र अस्पताल पनि निर्माणको क्रममा रहेको हुदा कोभिड बेडलाई अन्यत्र प्रयोग गरिएको छ ।” पाठकले भने “अस्पतालमा सुरु देखि नै १ सय ८० जना स्वास्थ्यकर्मि कोभिडको लागी भर्ना भएका थिए । अहिले उनिहरुलाई पनि अन्य वार्डमै प्रयोग गरिएको छ ।”

अहिले अन्यत्र प्रयोग गरिए पनि र अस्पतालको निर्माण कार्य पनि सकिएको कारण कोभिड सम्बन्धि जनशक्ति र बेडहरु तैयारी अवश्थामा राखिने पाठकले दावी गरे ।

सरकारी अस्पतालहरुले कोभिड संक्रमित बिरामीको उपचारमा चासो नदेखाउदा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कोभिडको बिरामी आई पुगेका छन् । अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार लुम्बिनी प्रदेशमै उपचार नपाएका अलि जटिल प्रकृतिका संक्रमितहरु मेडिकल कलेज आई रहेका छन् ।

सीमाबाहेक पालिकातथा अस्पतालहरुमा पीसीआर चेक गराएर संक्रमित देखिएकाहरुलाई सुरक्षित रुपमा घरमै आईसोलेट गरी राखिएको छ । हालकोभिड संक्रमणको गतिबढ्न थालेपनि यसैको कारण अस्पताल भर्ना हुने अवस्थाभने नरहेको जिल्ला स्वास्थ्यकार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको भनाइ छ । प्रायनागरिकले कोभिड बिरुद्धको खोप लगाई सकेकाले पनि संक्रमण दर बढे पनियसको जोखिमकमभएको उनले बताए ।

पूर्ण खोप सुनिश्चित जिल्ला
जिल्ला स्वास्थ्य कार्यालयले रुपन्देही जिल्ला कोभिड १९ बिरुद्ध पूर्ण खोप सुनिश्चित जिल्लाको रुपमा घोषणा भएको छ । रुपन्देहीको जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको छ । यी मध्ये १२ बर्ष भन्दा माथिका ८ लाख ३५ हजार ७ सय ९० जना छन् । तर जिल्लामा लक्ष्य भन्दा बढी अर्थात ८ लाख ५३ हजार ७८ जनालाई कोभिड बिरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख ढकालले जानकारी दिए ।

देवदह, बुटवल, सैनामैना, कन्चन, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिकामा खोपमा शत प्रतिशत भन्दा बढी प्रगति भएको छ । बाँकी पालिकाहरुमा भने एक सय प्रतिशत भन्दा केही कमले दुई डोज लगाउन पाएका छन् । पूर्ण खोप घोषणा गर्नु अघि घर घर गई तथ्यांक संकलन गरी १२ बर्ष माथिका खोप लगाउन मिल्ने अवस्थामा भएका कुनै पनि नागरिक नछुटेको पाइएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । ढकालका अनुसार, जिल्लामा अन्यत्रबाट बसाई सरेर आएका र कर्मचारीहरु समेत गर्दा समग्र जिल्लाको प्रगति १०२ प्रतिशत देखिएको हो ।

दुई डोज सम्म शत प्रतिशत वा त्यस भन्दा माथि खोप लगाएका पालिकाहरुमा तिलोत्तमा नगरपालिका (९५ हजार ९ सय ६६ जना अर्थात १३३ प्रतिशत), देवदह नगर पालिका (१२३ प्रतिशत), सैनामैना नगर पालिका (११७ दशमलव ६ प्रतिशत), बुटवल उपमहानगर पालिका (१०० दशमलव ५ प्रतिशत), सिद्धार्थनगर नगरपालिका (१०३ प्रतिशत) र कन्चन गाउँपालिका (१०१ प्रतिशत) छन् ।

यसैगरी ८० प्रतिशत भन्दा बढीलाई खोप लगाइएका पालिकामा शुद्धोधन गाउँपालिका र रोहिणी गाउँपालिका (९७दशमलव ५ प्रतिशत), मर्चवारी गाउँपालिका (९३ दशमलव ३ प्रतिशत), ओम सतिया गाउँपालिका (९० दशमलव ५ प्रतिशत), सियारी गाउँपालिका (८९ प्रतिशत), मायादेवी गाउँपालिका(८६ दशमलव २ प्रतिशत), गैडहवा गाउँपालिका (८२ दशमलव ४ प्रतिशत) र कोटहीमाई गाउँपालिका (८० दशमलव २ प्रतिशत) छन् । दुई पालिका लुम्बिनी सांस्कृतिक नगरपालिका (६९ दशमलव ९ प्रतिशत) र सम्मरीमाई गाउँपालिका(७८ दशमलव ९ प्रतिशत) मा भने ८० प्रतिशतखोप लगाउन सकिएको छैन ।

संक्रमण र मृत्युको कुल आँकडा
जिल्ला स्वास्थ्यकार्यालय, रुपन्देहीले उपलब्ध गराएको कुल तथ्यांक (पहिलो चरणदेखि हालसम्म) अनुसार, रुपन्देहीमा १ लाख ४६ हजार ४ सय १२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३५ हजार ६ सय ५१ जना संक्रमित भेटिएका छन् । यस्तै ७६ हजार २ सय १४ जनाको एन्टिजेज परीक्षण गर्दा ३ हजार ७७ जना गरी जिल्लामा अहिले सम्म ३८ हजार ७ सय २८ कोभिड संक्रमितहरु देखिएका छन् ।

यस मध्ये बेलहिया हेल्थ डेक्समा मात्रै १ हजार २ सय ३३ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ साहले जानकारी दिए । रुपन्देहीमा यो अवधिमा ९ सय ५५ जनाको कोभिडको कारण मृत्यु भएको सरकारी तथ्यांक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।