ताजा अपडेट »

५०औं स्थापना दिवसको अवसरमा पञ्चकन्यामा नि:शुल्क दन्त शिविर

सोमबार, १३ भदौ २०७९, २२ : १४
36 Shares
सोमबार, १३ भदौ २०७९
36 Shares


भैरहवा । पञ्चकन्या समूहले आफ्नो स्थापनाको ५० औं वर्षको अवसरमा उद्योगमा काम गर्ने कर्मचारी, कामदार एवम् उनिहरुका परिवार लक्षित ४ दिने नि:शुल्क दन्त शिविर सोमबारबाट सुरु गरेको छ ।

भदौ १६ गते सम्म चल्ने उक्त दन्त शिविरको आज एक कार्यक्रमकाबीच सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ्गले स्वस्थ्य कर्मचारीले उद्योगलाई आफ्नो गुणस्तरिय काम दिन सक्ने भएकोले पञ्चकन्याको यो प्रयासको सराहना गरे । उनले पञ्चकन्या समूहको यो कार्यलाई अन्य उद्योगहरुले पनि सिको गर्नु पर्ने आवश्यकता औंल्याएँ ।

यस्तै समूहका उप–महाप्रवन्धक देवेन्द्र साहुले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत पञ्चकन्या समूहले यस्तो कार्यहरु गर्दै आएको जनाए । उनले समूहको ५० औं वर्षको अवसरमा पहिलो कार्यक्रमको रुपमा दन्त शिविर राखिएको र यससंगै अन्य कार्यक्रमहरुलाई निरन्तरता दिँदै लैजाने जानकारी दिए ।

“दन्त शिविरमा उद्योगमा कार्यरत कर्मचारी, कामदार मात्र नभई उनिहरुको परिवारको पनि चेकजाँच गरिनेछ ।” साहुले भने “कामदार एवम कर्मचारीको परिवार बाहिरका कोही छरछिमेकी पनि दाँत सम्बन्धि समस्याले पिडित भए उनिहरुको पनि उपचार गरिनेछ ।”

सबै गरि ४ दिनमा १ हजारदेखि १ हजार २ सम्म जनालाई यो सेवा प्रदान गर्ने लक्ष्य रहेको साहुले जनाए । “पञ्चकन्या समूहको उद्देश्य नाफा कमाउनु मात्र होइन, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अगाडि बढाउनु पनि हामीले आफ्नो जिम्मेवारीको रुपमा लिएका छौं ।” उनले भने रुपन्देही क्षेत्रको औद्योगिक विकासको प्रारम्भिक रुपरेखा कोर्ने पञ्चकन्या समूहले उद्योग सञ्चालनसँगै सामाजिक उत्तरदायित्वलाई समेत विशेष महत्व दिदै आएको उनले बताए ।

सहयात्री नेपालको प्राविधिक सहयोगमा आयोजित दन्त शिविरमा परामर्श, दन्त परीक्षण, दाँत सफा गर्ने लगायतका सेवा उपलब्ध हुने सहयात्री नेपालका अध्यक्ष दिपेश घिमिरेले बताए । उनले शिविरमा सहयात्री नेपालको तर्फबाट ८ जना दन्त चिकित्सक तथा ४ जना नसै गरी १२ जना स्वास्थ्य जनशक्तिसहित आवश्यक औषधी र उपकरणहरुको सहयोग रहेको जानकारी दिए ।

पञ्चकन्या समूहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले बिक्रम सम्बत २०२९ सालमा पूर्वी नेपालको इलाममा पञ्चकन्या राईस मिल स्थापना गर्दै यस समूहको औद्योगिक यात्रा सुरु गरेका थिए ।

जुन यात्रा २०३८ सालमा रुपन्देहीको कोटिहवामा प्लाष्टिक पाइप उद्योग स्थापना गरे पश्चात दु्रत गतिमा अगाडि बढ्यो । २०३९ सालमा आइरन उद्योग, २०४६ सालमा पीभीसी पाइप उद्योग, २०५४ सालमा फलामे छड उद्योग, २०६३ सालमा सीपीभीसी पाइप उद्योग तथा २०७१ सालमा स्टेनलेस स्टिल ट्यांकी उद्योगको स्थापना गर्दै उद्योगले आफ्नो ५० वर्षको यात्रा पार गरेको छ ।

पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुको अध्यक्षता, तिलोत्तमा–१५ का वडाअध्यक्ष खेमराज गुरुङको प्रमुख आतिथ्यता, तिलोत्तमा–१५ का वडा सचिव मान बहादुर खातीको विशिष्ट आतिथ्यता, उद्योगका इञ्जिनियर मिलन थापाको स्वागत तथा प्रशासन प्रबन्धक राजेन्द्र ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।