ताजा अपडेट »

सबै नतिजा सार्वजनिक, कसले कति स्थानमा जिते ?

सोमबार, १६ मंसिर २०७६, १५ : ३८
2 Shares

मंसिर १६,

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थानमा चुनाव जितेको छ । समाजवादी पार्टी नेपालले चार र राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन स्थानमा विजयी हासिल गरेका छन् भने एक स्वतन्त्र उम्मेदवारले पनि उपनिर्वाचनमा बाजी मार्न सफल भएका छन् ।

कसले कति स्थानमा जिते ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३० स्थान

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १३ स्थान

समाजवादी पार्टी नेपालले ४ स्थान

राष्ट्रिय जनता पार्टी (राजपा)ले ३ स्थान

राष्ट्रिय जनमोर्चा १ स्थान

र स्वतन्त्र उम्मेदवार १ स्थान

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २४ वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसले भने प्रदेशसभा सदस्य एक, उपमहानगर प्रमुख एक र ११ वडाध्यक्ष पदमा विजयी हासिल गरेको हो । समाजवादीका उम्मेदवारले चार र राष्ट्रिय जनता पार्टीका उम्मेदवारले तीन वडाध्यक्ष पदको नतिजा आफनो पक्षमा पार्न सफल भए । नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले बागलुङमा प्रदेशसभा सदस्य एक पद जितेको छ भने एकजना स्वतन्त्र उम्मेदवार प्यूठानमा वडाध्यक्षमा विजयी भएका हुन् ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै विभिन्न कारणले रिक्त भएका ५२ पदमा अव नयाँ जनप्रतिनिधिको प्रवेश भएको छ । सिट सङ्ख्याका आधारमा उपनिर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा खासै असर नगरे पनि जनप्रतिनिधि छनोटको आधारमा भने केही फेरबदल भएको छ । अघिल्लो निर्वाचनजस्तै धेरै क्षेत्रमा पुरानै दलका प्रतिनिधि चयन भए पनि कतिपय स्थानमा भने एक दलका उम्मेदवारले अर्कोलाई विस्थापित गरेका छन् ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं–२ मा नेकपाले जित दोहो¥याएको छ भने कांग्रेसले प्रदेशसभामा भक्तपुरबाट सिट सङ्ख्या बढाएको छ । बागलुङको प्रदेशसभा सदस्यमा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाले जितेको छ भने स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख जितेर कांग्रेसले प्रमुखको सङ्ख्या बढाएको छ । नेकपाले प्रतिनिधिसभासहित दाङको प्रदेशसभा र उपनिर्वाचन भएका तीनवटै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको छ । उपनिर्वाचनबाट सात महिला, सात मधेशी, १८ आदिवासी जनजाति र एक अल्पसङ्ख्यकको चयन भएको छ । - रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।