ताजा अपडेट »

गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने एयरलाईन्सको ‘टार्गेट’ वैदेशिक रोजगारीमा जाने यात्रु

मंगलबार, १३ बैशाख २०७९, १५ : ५९
8 Shares

भैरहवा । वैैदेशिक रोजगारीमा जाने युवाहरुलाई उडान भर्न अहिले काठमाण्डौं नै पुग्नु पर्ने बाध्यता रहेका छ । लामो दुरी, एउटै विमानस्थल भएको कारण यात्रुहरुको चाप, विमानको चाप लगायतले सास्ती खेप्दै आएका बैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागी गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलले केही राहत दिने भएको छ ।

निर्माण सम्पन्न भई सञ्चालनको प्रक्रियामा रहेको भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बिदेशी सहित स्वदेशी बिमान कम्पनीहरुले चासो देखाएका छन् । जेठ २ गतेबाट कुवेतको जजीरा एयरलाईन्सले औपचरिक उडान सुरु गर्ने भए पनि उसको प्रतिष्प्रर्धा गर्न अन्य कम्पनीले समेत भैरहवा बिमानस्थलबाट उडानमा चासो दिएका छन् । बिशेष गरि बैदेशिक रोजगारीमा जान चाहने यात्रुहरुलाई लक्षित गरि हवाई कम्पनीहरुले भैरहवाबाट उडान भर्न चासो देखाएको बिमानस्थलको भनाई छ ।

बैशाख १५ गते गौतम बुद्ध बिमानस्थलमा परिक्षण उडान भए पछि यसले विमानस्थल सञ्चालनमा अझ सहजता ल्याउने विश्वास गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम आलेले बैशाख १ गते परिक्षण गर्ने जनाए पनि सो दिन सो उडान हुन सकेन । १ गते हुन नसकेको परिक्षण उडान बैशाख १५ गते हुदैछ । सो दिन नेपाल एयरलाईन्सको एयरबस ३३० अथवा एयरबस ३२० भैरहवा अवतरण हुनेछ ।

त्यस लगत्तै पहिलो अन्तराष्ट्रिय उडानको रुपमा कुवेतको जजीरा एयरलाईन्स जेठ २ गते बिहान ७ बजे भैरहवा आउनेछ । यस पछि साताको ३ दिन जजीरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका प्रवक्ता श्याक किशोर साहले जानकारी दिए ।

जजीरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राती पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राती अढाई बजे फिर्ता हुने तालिका रहेको साहले बताए । अहिले जजीराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याउदै छ । सम्भवतः जुलाईदेखी जजीराले दैनिक उडान भर्ने साहले जनाए । यस संगै परिक्षण उडान लगत्तै नेपालको नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्स सहित अन्य बिदेशी कम्पनीहरुले समेत उडानमा चासो देखाएका छन् ।

एयर अरबिया, फ्लाई दुबई, सलाम एयर लगायत जजीरा संग प्रतिष्प्रर्धा गर्ने वायुसेवा गर्ने कम्पनीहरुले चासो देखाएका छन् । बिशेष गरि बैदेशिक रोजगारीमा जाने यात्रुलाई लक्षित गरि उडानहरु गर्ने कम्पनीले चासो देखाएका छन् । यस संगै बुद्ध धर्मावलम्बी देशहरु खास गरि दक्षिण पूर्वि देशहरु थाईलैण्ड, मलेशिया, भियतनाम, लाओस, कम्बोडिया लगायतका देशहरुले पनि उडानको चासो राखेको राखेका छन् । यिनीहरुको तत्काल नियमित उडान नभए पनि बिशेष उडानहरु सुरु हुने विमानस्थलको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।