ताजा अपडेट »

‘बुटवल छिमेकी नगरको दाँजोमा पछि पर्यो, समृद्ध आर्थिक केन्द्र बनाउँछु’

मंगलबार, १३ बैशाख २०७९, १८ : २७
24 Shares

नेपाली कांग्रेसबाट बुटवल उपहानगरपालिकाको प्रमुखको लागि खेलराज पाण्डे चुनावी मैदानमा छन् । गत निर्वाचनमा पनि उनी माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त उम्मेद्वारको रुपमा चुनावी प्रतिष्पर्धामा थिए ।

लामो समयदेखि बुटवलमा एमाले जित्दै आएको छ । एमाले विभाजनको बेलमा यसपटक जसरी भएपनि एमालेलाई पराजित गर्ने भन्दै सत्ता गठबन्धनले तालमेल गरेका छन् । यसै सन्दर्भमा बुटवलमा यसपटक गठबन्धनका जीतका आधार र के कस्ता विकासका योजना छन् ?लगाएतका समसामियक विषयमा ग्लोबल आवाजका लागि बसन्त आचार्यले खेलराज पाण्डेयसँग गरेको कुराकानीः

बुटवलमा कांग्रेस लामो समयदेखि पराजित हुँदै आएको छ । यस पटक पार्टीको अवस्था कस्तो छ?
– लामो समयदेखि पराजित भएको होइन । २०४८ सालमा कांग्रेसले बुटवलमा सांसद जितेको हो । २०४९ मा स्थानीय तहको चुनाव जितेको हो । २०५६ मा पनि सूर्यप्रसाद प्रधानले विष्णु पौडेललाई सांसदमा जित्नु भएकै हो । बीचमा लामो समयसम्म स्थानीय र प्रतिनिधिसभाको निर्वाचन हुने स्थिति रहेन । लोकतन्त्रको बहाली पछि जुन खालको अवस्था हुनु पर्ने हो त्यो नभएको जस्तो देखिएको हो । तर, संघठन कमजोर नै र चुनावै जित्न नसक्ने स्थिति भने होइन ।

केही प्राविधिक कुराहरु व्यवस्थापन गर्न नसक्दा र केही कमिकमजोरीले पराजित भएका हौँ । यस पटक यी सबै कुराहरुमा उचित ढङ्गले व्यवस्थापन गछौँ । सबैलाई मिलाएर लान्छौ र सबैलाई सम्मान गरेर जान्छौं । बुटवलमा कांग्रेसले चुनाव जित्नेमा विश्वस्त छु।

तपाइँलाई बुटवलबासीले किन मतदान गर्ने ?
– बुटवलका मतदाताले किन नेपाली कांग्रेसलाई वा गठबन्धनलाई वा मलाई भन्ने कुरामा एउटा त निरन्तर रुपमा वडादेखि मेयर, प्रदेश र संघ सबै एउटै पार्टीले जित्दा खेरी जुन प्रकारको प्रतिष्पर्धा हुनुपर्ने हो त्यो भएको छैन । विकासका बारेमा जनताका समन्वयका बारेमा प्रतिष्पर्धा हुने रहेछ । दम्भ बढेर जाने रहेछ । यसकारणले पनि परिवर्तनको जरुरी छ । दोस्रो कुरा बुटवलको जुन खालले विकास हुनु पथ्र्याे भन्ने हाम्रो चाहाना थियो, भएन । यहाँको सुकुम्बासी र अव्यवस्थित बसोबासको समाधान हुनु पथ्र्याेर पर्छ भन्ने हाम्रो मुद्दा थियो ।

जसरी यहाँको अटोभिलेज, कृषि मण्डीहरु साँगुरो हुँदै गए यसलाई विस्तार गर्नु पर्छ भनेका थियौँ । यो कुरामा ५ वर्षको अवधीमा कुनै पनि परिवर्तन भएनन् । झुम्सा खानेपानी त्यत्तिकै अलपत्र पर्याे । कुनैपनि योजनाले राम्रो गति लिन सकेन । यो ५ वर्ष समय काट्ने काम मात्रै भयो । जसरी आधुनिक बुटवलको निर्माण लागि सूर्यप्रसाद प्रधान मेयर हुँदा बुटवलको बसपार्क बनेको थियो । महिला तथा बालबालिकाको लागि आम्दा अस्पताल बनेको थियो । युवाहरुको लागि फेवा टेक्निकल इन्स्टीच्यूट बनेको थियो ।

अटो व्यवसायीहरुको लागि अटो भिलेज निर्माण भएको थियो । भूपू सैनिकहरुको लागि पेन्सन क्याप निर्माण भएको थियो । लायन्स आँखा अस्पताल र फुलबारी पार्क लगाएत सिद्धार्थ गौतमबुद्ध क्याम्पसदेखि लिएर बुटवलमण्डपको निर्माण लगायतका काम सूर्यप्रसादको पालामा भएका थिए । जसरी नेपाली कांग्रेसको नेतृत्वले विकास गर्यो । त्यो खालको टक्कै देखिने गरी विकास र जनताले बुझन्ने गरी विकास यो ५ वर्षमा कुनै पनि योजनाहरु स्पष्ट रुपमा हुन सकेनन् ।

बुटवल अरु छिमेकी नगरपालिकाहरुको दाँजोमा कम्पिटेशनमा बाहिरबाट हेर्दा धेरै पछाडि परेजस्तो देखिन लायो । अब जुन दलले चलाएको छ, त्यस दलको परिवर्तन बिना अब हुँदैन भन्ने कुरा सबैलाई महशुस भएको छ । सबैले एक पटक नेतृत्व परिर्वतन गरौँ , एक पटक मौका दियौँ । एक पटक खेलराज पाण्डेलाई मौका दियौँ भने उहाँले पनि गर्ने र नगर्ने कुराको अनुभूति हुन्छ भन्ने खालको तल जनस्तरसम्म कुरा गएको छ । यसकारण पनि पक्कै मलाई लाग्छ यो पटक नेतृत्व परिर्वत हुन्छ, म यो चुनाव जित्छु ।

दल तथा नेतृत्व परिवर्तनको आवश्यकता बाहेक तपाइँको जीतका आधारहरु के–के हुन सक्छन् ?
–बुटवललाई समृद्ध आर्थिक केन्द्र बनाउन नेपाली कांग्रेस र त्यसको नेतृत्वले मात्रै सक्छ भन्ने कुरा अब प्रष्ट भएको छ । दोस्रो सुकुमबासी र अव्यवस्थित समस्या बुटवलमा छ । त्यो समस्या समाधान गर्ने चाहान नेपाली कांग्रेससँग मात्रै छ । ज्योतिनगरको पहिरो, तिनाउ दानब करिडोर भित्रका विस्थापित जनताहरुको व्यवस्थापन, मोतिपुर औद्योगिक भित्र जग्गाको समस्या छ त्यसको समाधानदेखि लिएर राजर्माग चौहारादेखि चिडियाखोलासम्मको बाटो दुरर्दशा छ, त्यसको समयमै निर्माण ।

यी सबै कुरा नेपाली कांग्रेस र यसको नेतृत्वले गर्न सक्छ भन्ने कुरा छरपष्ट भइसकेको छ । यो हामी गर्छौ पनि र पहिला जसरी हामी गरेर देखाएका थियौँ । प्रदेशको राजधानी बुटवललाई बनाउँछौँ भनेर हामीले जनताका बीचमा कबुल गरेका थियौँ । यसलाई बनाएर देखायौँ । तर, नेकपा एमालेको नेतृत्वले बुटवलमा राजधानी राख्न चाहेन । यहाँबाट हट्यो । हामीले अरु पनि बोलेका कुराहरु समयमा पूरा गरेका छौँ । अब भोलिका दिनमा पनि बोलेका कुराहरु पुरा गछौँ । यही आधारमा नै हाम्रीले चुनाव जित्छौँ ।

बुटवलको जीत हारको निर्णायक सुकुमबासी बस्ती हो । लालपुर्जा दिन्छौँ भन्दै सबै राजनीतिक दलले भोट माग्छन् । सत्तामा जाने झ्याङ मात्रै गराउने तर जिते पछि वास्ता नगर्ने गरेको स्थानीयको गुनासो छ । अब तपाई मेयरमा निर्वाचित हुनुभयो भने यसलाई कसरी समाधान गर्नु हुन्छ ?
– यसका दुई वटा विकल्पहरु छन् । एउटा अल्पकालिन विकल्प र अर्को दिर्घकालिन विकल्प । अल्पकालिन विकल्पमा यसलाई बुटवल भित्रै दर्ता गरेर यही राजश्व लिएर वडा कार्यालयबाट नामसारी विधिमा जान सकिन्छ । मेरो जग्गा पक्का छ । मैले यो जग्गाको लागि दुःख पाउनु पर्दैन । मेरो जग्गा हराउँदैन् । सुकुम्बासी र अव्यवस्थित भए पनि मेरो जग्गा उपमहानगरको मातहतमा छ । नगरसँग करको दायरामा छ भनेर पनि केही व्यवस्थापन गर्छाैँ । अर्को नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासको लागि सुकुम्बासी राष्ट्रिय भूमि आयोग गठन गरेको छ । यो अहिले निर्वाचनको समय भएकाले जुन जग्गाहरु नाप्नु पर्ने हो, त्यो सुरुवात हुन सकेको छैन । अब हामी निर्वाचन पछि त्ससलाई प्रक्रियागत ढङ्गबाट अगाडि बढाउँछौँ र यसको समस्या समाधानमा लाग्छौँ ।

बुटवलका सडक धुलाम्य छन् । चौतर्फि आलोचना पनि भइरहेको छ । तपाइँहरु माथि अरु चुनाबी एजेण्ड नभएर बाटोलाई देखाएर आलोचना गरेको भन्ने आरोप छ नि?
–सत्तामा बस्नेलाई आरोप लगाउन त कसरी मिल्छ र? बुटवल उपहानगरपालिकामा ५ वर्षमा उहाँहरु(एमाले) बस्नु भो । संघको भए पनि प्रदेशको भए पनि समन्वय त उमहानगरपालिकाले गर्ने हो । धेरै कुराहरु त प्रदेश र संघकै छन् । तिनाउ करिडोर संघको छ । राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको सडक संघको हो भन्ने पछि केही नगरिकन दिनभरी नगरपालिकामा जानि हाजिर गर्ने फर्केने काम मात्रै काम हुन्छ?

त्यसको राजनीतिक काम नेतृत्व गर्नु पर्छ । यी समस्या समाधानका लागि प्रदेशमा डेलिगेशन जाने, केन्द्रमा जाने गर्ने पर्ने होइन र ? जे जे अन्तबाट बजेट आएको छ । त्यत्तिमा काम गर्ने अरुलाई पन्छाएर अरुको भाग लगाइदिएर नगर्ने हो भने त किन जनप्रतिनिधि हुनुपर्याे ? स्थानीय जनप्रतिनिधिको दायित्व आफ्नो नगरपालिका भित्र भएको बजेटको उचित व्यवस्थापन गरेर अगाडी बढाउने र अर्को भनेको आफ्नो क्षेत्र भित्र बजेट परेन भने त्यसको लबिङ गरेर प्रदेश र केन्द्रमा डेलिगेशन गएर, विभिन्न राजनीतिक नेतृत्वसँग डेलिगेशन गएर सहयोग मागेर बुटवललाई देशकै सवल आर्थिक केन्द्र बनाउनु पर्दैन्?यो उपमहानगर सबैको साझा नगर हुनु पर्यो नि ।

त्यहाँ जाँदा हामी सबैको अभिभावक मेयर हुनुहुन्छ भनेर सबै बुटवलबासीलाई अनुभव हुनुपर्छ । यसकारण कति पय राजनीतिक कुराहरु हुन्छन् कतिपय कुराहरु मनन गर्ने खालका हुन्छन् । अहिले बुटवल सबैको साझा नगर जस्तो हुन सकेको छैन् । सबै राजनीतिक दलका साथिहरु जाने परिस्थिती छैन् । सबै संघ संस्था नगरपालिकाको छाता भित्र अटाउन सकेका छैन् । कतिपय बुटवलबासी त्यहाँ जाँदा फरक व्यवहारले हेरिन्छ । त्यसकारण नगर सबैको साझा हो, यो नगर बुटवलबासीलाई सबैलाई मिलाएर राख्ने थलो हो । मेलमिलापको केन्द्र हो । हामी सबैको अपनत्व भएको ठाउँ हो भन्ने कुराको लागि पनि नेपाली कांग्रेसले जित्न जरुरी छ । कांग्रेसले जिते सबैलाई मिलाएर लग्छ ।

पहिला पनि तपाई माओवादीसँग सहकार्य गरेर नै मेयरमा उठनु भएको थियो । तर, पराजित हुनु भयो । यस पटक पनि माओवादीसहित ५ दलिय गठबन्धन छ तर, विवाद देखिएको छनि ?
–कतिपय कुराहरु गर्दै जाँदा मिलाउने कुरा हो । पहिला गठबन्धनको मर्म र भावना विपरीत गठबन्धन दलहरु कहिँ पनि जानु हुन्न । त्यसमा हामीले वा अरुले काम गर्दा केही कुरा मिलाउन बाँकी छ भन्ने थप सरसल्लाह गछौँ । गठबन्धन दलहरु हामी एक भएर नै जान्छौँ ।

‘पहिलो गासमै ढङ्गा’ भने जस्तै टिकट वितरणमा कांग्रेसमा विवाद देखियो । क्षेत्रीय सभापति हरि लम्सालले असन्तुष्टि जनाउँदै पार्टी नै परित्यागको घोषणा नै गर्नु भयो। यस अवस्थामा कसी अगाडि बढ्दै हुनुहुन्छ ?
–हरि दाईप्रति मेरो सम्मान छ । उहाँले अनुकुल समयमा सबै कुरा हामीसँग पक्कै पनि सरसल्लाह गरेर जानु हुने छ । कहिले काही राजनीतिमा यस्ता घटना हुने गर्छन् । अर्को क्षेत्रीय समितिको कुरा, क्षेत्रीय समितिको बैठक बसेर बुटवलको नगरमा नगर समितिले सिफारिस गरेको सिफारिसलाई नै अनुमोदन गरेर जिल्ला र प्रदेशमा पठाउँनु भएको हो । बाहिर आए जस्तो ठूलो समस्या छैन् । हाम्रले मिलाउन सक्ने र गर्न सक्ने समस्याहरु छन् । म सबैलाई भेटेर मिलाउँछु । सबैको चित्त बुझाएर अघि बढ्ने छु ।

तपाइँले जित्नु भयो भने बुटवलमा सबै भन्दा पहिला के काम गर्नु हुन्छ ?
–सबै भन्दा पहिला सुकुम्बासी र अव्यवस्थित बसोबासका लागि पहल गर्छु । दोस्रो विपि पुष्पलाल पार्क बनाएर सबै राजनीतिक दलका साथीहरुलाई त्यहाँ गएर आदरणीय नेताप्रति समान गर्ने बतावरण बनाउँछु।

तपाइँले चुनावमा गरेको प्रतिवद्धता निर्वाचित भएपछि कार्यान्वयन गर्नु हुन्छ भन्नेर नागरिकले कसरी विश्वास गर्ने?
–राजनीतिमा बोली र वचनलाई नै विश्वास गर्ने हो । यो संसार विश्वासमै अडिएको हुन्छ । राजनीति पनि विश्वासमा नै अडिएको हुन्छ । यो कुरा फिलिङ गर्ने कुरा हो । राजनीतिक जीवन यात्रा धेरै लामो हुन्छ । मैले बुटवलमा ५ वर्षमा केही गर्न सकेन भने मेरो पनि राजनीति त्यही समाप्त भएर जान्छ । म यो ५ वर्षमा समाप्त हुँ भन्ने म पनि चाहँदैन र नेपाली कांग्रेसले पनि चाहँदैँन।

आगामी नेतृत्वको लागि चुनावी प्रतिष्पर्धामा जाँदै गर्दा बुटवलबासीलाई के भन्नुहुन्छ ?
–मैले बुटवल उपमहानगरपालिकालाई सबैकै मेलपिलापको थलोे बनाउन चाहान्छु । नेपाली कांग्रेस र गठबन्धन दल पनि त्यही चाहाँछौँ । यसकारण यो कसैको मात्रै नगरपालिका होइन । अरुको प्रवेश निषेध हुने अरुले केही कुरा जानकारी नपाउने नगरपालिका बन्नु हुँदैन। यो सबैको साझा थलो र साझा चौतारी हुनु पर्छ । यसकारण सबैको अपनत्व हुनका लागि यसपटक गठबन्धन दल, नेपाली कांग्रेस र मलाई सहयोग गरिदिनु होस् र मैले कसैको चित्त दुखाउने गरी काम गर्ने छैन । साथै बुटवल उपमहानगरमा काम गर्दा सबैसँग सरसल्लाहा लिएर मेलमिलापको नीतिलाई अगाडि बढाउने सबैमा प्रतिबद्धता व्यक्त गर्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।