ताजा अपडेट »

सीता थापा: १९ वडा भएको बुटवलको वडाध्यक्षकी एक मात्रै महिला उम्मेद्वार

मंगलबार, १३ बैशाख २०७९, १२ : १६
2 Shares

बुटवल । आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता सकिएको छ । बुटवल उपमहानगरपालिकामा रहेका १९ वडा मध्ये वडा नम्बर ७ मा नेकपा एमालेको तर्फबाट सीता थापाले उमेद्वारी दर्ता गराएकी छन् । थापा नगरकी एक्ली वडा अध्यक्ष उमेद्वार हुन् ।

थापाको गुल्मी जिल्लाको साबिक विरबास गाबिस वडा नं ३ मा आमा कलावती थापा र बुवा पुर्ण बहादुर थापाको कोखबाट जन्म भएको थियो । श्री जन जागृती माबि हुँगा गुल्मीबाट तत्कालिन एसएल सीसम्मको अध्ययन गरेकी छन् । उनको वुटवलका दुर्गा बहादुर आचार्यसँग विवाह भएको थियो । थापा एक छोरा र एक छोरीकी आमा हुन् । थापाले २०४२ देखि अनेरास्ववियुबाट सक्रिय राजीतिक यात्रा शुरु गरेकी थिइन् । त्यसपछि २०४५ देखि २०४९ सम्म नेपाल शिक्षक संगठन, २०४७ देखि २०४९ सम्म गुल्मी जिल्ला अखिल नेपाल महिला संघ जिल्ला सचिव, अनेमसंघ लुम्बिनी अञ्चल सदस्य, गुल्मी जिल्ला ७ नम्बर एमाले इलाका पार्टी सदस्य, २०४९ देखि हालसम्म २ कार्यकाल वडा सदस्य , एक कार्यकाल वार्ड कार्यलय सचिव, एक कार्यकाल बुटवल नगर सहसचिव, दुई कार्यकाल क्षेत्र नम्बर ४ को अनेमसंघ क्षेत्रिय अध्यक्ष , हाल पार्टीको रुपन्देही जिल्ला कमिटी सदस्य तथा अनेमसंघ जिल्ला सह इन्चार्जको जिम्मेवारी सम्हालेको अनुभव थापासंग छ ।

त्यस्तै २०५२ साल देखि २०७४ सम्म हरेक टोल टोलमा घर–घरमा पुगेर स्वास्थ्य स्यवंसेविकाको रुपमा रहेका स्वास्थ्य सेवाको क्षेत्रमा पनि योगदान गरेकी छन् । यातायातको क्षेत्रमा पश्चिम नेपाल यातायात समिति हालको (प्रालि)को एक कार्यकाल कार्य समिति सदस्य , शिव नगर सामुदायिक वनको सदस्य , सामुदायिक मेलमिलाप केन्द्रका रहेरपनि वडाबासीको सेवामा खटिएको अनुभव छ । थापासँग २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर ७बाट खुल्ला सदस्यमा विजयी भई बुटवल उपमहानगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक भएर काम गरेको अनुभव छ । वडामा रहँदा उनले धेरै पटक कार्यवाहक अध्यक्ष भएर काम गरिन् । अहिले गठबन्धनका कारण अन्य पार्टीबाट महिला सहभागिा कम देखिएको बेला नेकपा एमाले वडा नम्बर ७ को अध्यक्ष उमेद्वार थापा हुँदा भने महिलाहरु उत्साहित भएका छन् ।

उनी भन्छिन् ,‘अहिले दुई सन्तानकी आमा हुँ, म सम्पूर्ण वडावासीकै असल आमा बन्न चाहान्छु । ”पार्टीको नजरमा एक्लो वडा अध्यक्षको उमेद्वार हुन पाउँदा चूनौतीसंगै अवसर रहेको उनी बताउँछिन् । थापाले महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै आर्थिक रुपमा सवल बनाउने अभियानमा लाग्ने बताइन् । उनले आफू निर्वााचित भए वडाबासीका समस्या घरघरमा पुगेर बुझेर आवश्यकताका आधारमा सम्वोधन गर्ने बताइन्। महिला बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, पछाडि परेको समुदाय, अपांगता,युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, युवा बेरोजगार, बैदेशिक रोजगारबाट फर्किएका लगायत शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, मानविय विकासका कार्यहरुलाई प्राथमिकतामा पारेर काम गर्ने प्रतिवद्धता रहेको उनले बताइन् । वडा नम्बर ७ मा ६ हजार ६ सय ७८ मतदाता रहेका छन् । २०७४ को निर्वाचनमा २ हजार ४४ मतका साथा थापाले खुला सदस्यमा जीत हासिल गरेकी थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।