ताजा अपडेट »

‘घनश्याम’जीहरुलाई कसरी बुझ्ने !

शुक्रबार, १८ भदौ २०७८, १७ : १०
30 Shares

करिब तिनवर्ष देखि नेकपा भित्र गम्भीर प्रकारको अन्तरसंर्घष चल्यो । परिणामतः पार्टी तीन टुक्रामा बिभाजन हुन पुग्यो, यतिबेला एउटा समुहको नेतृत्व केपी ओलीजीले गर्नुभएको छ, एउटा हिस्साको नेतृत्व प्रचण्डजीले गर्नु भएको छ भने तेस्रो समुहको नेतृत्व माधव नेपालजीले गर्नु भएको छ ।

यी तिनै समूह आ–आफ्ना ठाउँमा ठिकै होलान, आ–आफ्ना सोच र बिचार अनुसार उनिहरु अगाडि बढिरहेका छ्न । सम्भव रहदासम्म अन्तर बिरोधमा लडिरहे, सम्भावना समाप्त भैसकेपछि आ–आफ्नो सोच चिन्तनका आधारमा उनिहरु अलग हुन पुगे । जसको जहाँ विचार मिल्दथ्यो उनिहरु त्यतैतर्फ सङ्गठित भएका छन् । उनिहरुको बिचार राम्रो नराम्रो, ठिक बेठिक, अग्रगमन वा पञ्चगमनको बारेमा इतिहासमा मूल्याङ्कन हुने नै छ ।

यहाँसम्म कुरा ठिकै छ तर जब नेतृत्वका विचार र कार्यशौलीका विरुद्धमा अविछिन्नरुपमा जबर्जस्त हमला गर्दै आउनु भएका घनश्यामजी सहितका दोस्रो पुस्ताका नेतृत्वहरु जो बिगत तीन वर्षदेखि नेतृत्वका कार्यशैली, व्यवहार र चिन्तनका विरुद्ध अग्रमोर्चामा रहनु भएका साथीहरु एकाएक अप्रत्याशितरुपमा परिस्थितिमा कुनै आधारभुत परिवर्तन बिना नै जसका विरुद्ध, जसलाई आफूहरुले प्रतिगमनको यात्रा भनिएको थियो सोही यात्रामा लामबद्ध हुनको लागि कसरी तैयार हुनुभयो !

इतिहास ताजा नै छ कि वहाँहरुकै पहलकदमी कै कारण ओलीजीको सरकार अपदस्त भएको थियो । वहाँहरुकै सहयोगमा पहिलो अध्यादेश फिर्ता भएको थियो । वहाँहरुकै प्रशिक्षणले देशभरका कार्यकर्ता नेतृत्वका विरुद्धमा बोल्ने र सम्बन्ध विच्छेद गर्ने सोचमा पुगेका थिए ।

यो सबै परिस्थितिको निर्माण गर्नमा तपाईहरुको महत्वपूर्ण भूमिका रहेको थियो । तपाईहरुका स्टाटस, लेख र भाषणहरुले नेतृत्वका विरुद्ध वातावरण निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको थियो । जसका कारण सरकार ढल्यो, पार्टी तीन टुक्रामा विभाजित हुन पुग्यो । पार्टी र नेतृत्वप्रतिको विश्वासमा प्रश्न चिन्ह खडा गरिदियो । यो सबै गरिसकेपछि तपाईहरु एकाएक त्यसैमा सम्मिलित हुन पुगेको समाचार बाहिर आयो । तपाईहरु कुन विचारका आधारमा लड्नु भएको थियो के प्राप्त गर्नु भयो र विलयमा पुग्नु भयो ?

यो घटनाले तपाईंहरुप्रतिको विश्वास र आस्थामा गम्भीर प्रश्नचिन्ह खडा भएको छ । हामिले घनश्यामजीलाई सैद्वान्तिक र बैचारिक नेतृत्व मान्दै आएका थियौं तर आज घटनाक्रमहरुले पुष्टि गरिरहेको छ कि वास्तवमा हाम्रो बुझाई गलत रहेछ । यतिबेलाको अन्तर विरोधको घटनाले ज्ञान प्राप्त भएको छ की कुनै पनि नेतृत्व वा लिडरको मूल्याङ्कन उसको जीवनकालमा गर्न सकिदो रहेनछ । कतिपय पात्रहरुको बारेमा हामी देख्दछौ की जिवनभर क्रान्तिकारी आदर्श र व्यवहारमा हुर्किएको नेता अवसर प्राप्त हुँदासाथ कसरी प्रतिक्रान्तीमा रुपान्तरण हुन पुग्दछ ।

यो कुरा अन्तर्राष्ट्रिय जगतमा पनि र स्वयम् हाम्रै जीवन व्यवहारमा पनि हामिले अनुभूति गरेका छौं । हामिले स्वाभिमान र इमानदार ठानिएको नेता सत्ता प्राप्त हुँदासाथ कसरी उनिहरुको वर्ग धरातल रुपान्तरण हुन पुग्दछ । यो कुरा घनश्याम, भिमरावलजी बारे पनि साँचो हो । वहाँहरुले हामिलाई सिकाउनु भएको शिक्षा यो हो कि, राजनीति कार्यदिशा सही वा गलत हुनुले नै सबै कुराको निर्धारण गर्दछ तर आज वहाँहरु यो बिचारबाट भड्किनुभएको छ । आफ्नै मान्यताबाट पछाडी फर्कनु भएको छ । यतिवेला वहाँहरुले विचारलाई होइन कि आफ्नो ब्यक्तिगत हिसाब किताब, चुनाव जितिने वा हारिने, मतसँख्या कतापट्टी देखिन्छ, चुनाव चिन्ह आदि तपसिलका विषयहरुलाई नै मूख्य ठान्नु भएको छ जुन कुरा सर्वथा गलत छ ।

जनताको मनमा यो प्रश्न उठ्नु स्वोभाविकै हो कि अग्रगमन र प्रतिगमन दुई विपरित धारहरुको बीच मेल कसरी हुन सक्दछ ! त्यो अवस्थामा मात्र हुन सक्दछ् कि एक अर्कोमा विलय वा समर्पण । यहाँहरुले विगत तीन वर्षदेखी प्रतिगमनको नेतृत्व गरिएको भनिएको तपाईहरुको नेतृत्वले गद्दारी गरिरहेको थियो वा हिसाब किताब नमिलेको कारणले गर्दा आफ्नै कमाण्डरका विरुद्ध लगातार वैचारिक हमला गर्ने, साङगठनिक हमला गर्ने, समानान्तर कमिटीहरु निर्माण गरेर भिन्न चेतनाको निर्माण गरेर विखण्डनको निमित्त वातावरण तैयार गर्ने गराउने तपाईहरु गद्दार हो !

आखिर गद्दार को हो ! गद्दारी कसले गर्यो ! जसको कारण दुई तिहाई नजिकको सरकार अल्पायुमै ढल्यो, पार्टीमा अपूर्णीय नोक्सानी हुन पुग्यो । त्यस्को जिम्मेवार को हो, समिक्षा हुन पर्ने की नपर्ने ! हामी हिजो पनि ठिक थियौं आज पनि ठिक छौं, विरोध गर्दा पनि ठिक थियौं आज समर्थन गर्दा पनि ठिक छौ भन्ने कुरा हुन सक्दैन । यसको जवाफ जनता, कार्यकर्ता र हामी शुभचिन्तकहरुलाई दिन पर्ने की नपर्ने ! दोषी को हो ! तपाईहरुका कारणले यो अवस्था आएको हो भने नेतृत्व र विचार सबै ठिकै थियो भने तपाइहरुको प्रहारबाट भएको नोक्सानी बारे कारबाहीको भागिदार बन्न पर्ने की नपर्ने !

गम्भीर आत्मालोचना बिना नै तीन वर्षसम्म प्रतिगमनकारी भनिएको नेतृत्वको सङ्गठनमा सगौरव पदस्थापन हुने चिन्तनले अगाडिको यात्रा कसरी अगाडी बड्दछ ! यो प्रश्न बारम्बार दोहोरिने छ की दोषी को हो !तपाईहरु वा मूल नेतृत्व ! कहाँ बिग्रीएको थियो र कहाँ सच्चियो ! राजनैतिक र बिचारधारात्मक विषय थिएकी थिएनन् ! यदि त्यो चिन्तन र दृष्टिकोणको प्रश्न थियो भने जेष्ठ दुईमा फर्कदैमा कसरी समाधान हुन पुग्यो ! यहाँहरुले आफ्नै नेतृत्व र आफ्नै सरकारका विरुद्धमा तीनवर्षदेखी राखेका विचारहरुको सामग्री जम्मा गरौं त ! त्यसले यहाँहरुलाई कसरी गिज्जाउने छ ।

कुनैपनी ब्यक्तिले हरेक विचार रोज्न पाउने, पार्टी रोज्न पाउने, धर्म रोज्न पाउने, जीवनसाथी रोज्न पाउने स्वतन्त्रताको विषय हो । त्यसमा हामी सबै स्वतन्त्र छौ । संसारलाई राम्रो लाग्नु पर्छ भन्ने छैन, आफूलाई राम्रो लाग्नु पर्यो, आफूलाई विश्वास हुनुपर्यो । यो सामान्य चेतनाको कुरा हो । तर जब आफू मूल मान्यता र विचारबाट क्रमभङ्ग गरिएको अवस्थामा त्यसबारेको जानकारी गर्नु–गराउनु अनिवार्य बन्न पुग्दछ । हामी हिजो किन त्यहाँ थियौं र आज हामी किन त्यहाँ छैनौं ! को बारेमा विषय उठ्नु उठाउनु सान्दर्भिक बन्न पुग्दछ ।

जस्तोकि यकजना दाजु तीन वर्षदेखि लगातार मेरी श्रीमती चरित्रहीन छन् भनेर शहर बजार, गाउँ टोल, जताततै, जहितही, विज्ञापन गरिरहन्छन्, अनि उनलाई प्रश्न गरिन्छकी दाजु ! के तपाईकी श्रीमती साच्चिकै चरीत्रहिन छन् त ! के यो कुरामा तपाईं विस्वस्त हुनुहुन्छ त ! उनी भन्दछन् की हो यो कुरामा म पूरै विश्वस्त छु की उनी साच्चिकै चरित्रहीन महिला हुन् । अनि उनलाई हामी सल्लाहा दिन्छौं कि चरित्रहिन महिलासँग चरित्रवान पुरुषको सम्बन्ध हुन सक्दैन । त्यसैले यसको विकल्प सम्बन्ध विच्छेद नै हो । अनि अगाडि दाजु भन्दछन् की उनीबिना म बाच्न सक्दैन, त्यसैले सम्बन्ध विच्छेदको कुरा नगरौं, अरु केही उपाय छ भने भन्नुहोस् ।

के साच्चै यस्तै होत घनश्यामजीहरुको अन्तर संघर्षको कथा ! तीन वर्षसम्म लगातार पार्टी र नेतृत्वलाई बदनाम गर्ने, पार्टी छिन्नभिन्न पार्ने, सरकार ढाल्ने, नेतृत्वको चरित्रहत्या गर्ने, पार्टी बिभाजनको निम्ति कार्यकर्तालाई प्रशिक्षण गर्ने अनि आफू पुरानै पदमा पुरानै आसनमा सगौरव विराजमान हुने । अनि उल्टोपट्टी फर्केर आफ्नै निर्देशनमा मूलधारबाट सम्बन्ध विच्छेद गरेका साथीहरुलाई तथानाम गाली गर्ने प्रक्रियाको थालनी गर्ने । के यहि होत विचारको संघर्ष ! के यहि होत अग्रगमनको यात्रा ! के यहि हो त यक्काइसौ सताब्दीको मार्क्सवाद ! के यही होत जनवादी केन्द्रीयता !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।