ताजा अपडेट »

देशभर वर्षा : पाँच हजार घर डुबानमा

सोमबार, १४ भदौ २०७८, ११ : ४८
4 Shares

काठमाडौ। लगातारको वर्षले देशभर ५ हजार बढि घर डुबानमा परेको अनुमान गरिएको छ। मनसुनी विपतबाट देशभर करिब चार हजार पाँच सय घर डुबानमा परेको र ९० हजारभन्दा बढी जनसङ्ख्या प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको हो।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो तीन दिनमा नौ जनाको मृत्यु, चार जना बेपत्ता र पाँच जना घाइते भएका छन् । बाढीपहिरो र डुबानबाट ४२ घर पूर्ण क्षति हुनुका साथै ७५६ जनालाई सुरक्षित आश्रय स्थलमा सारिएको छ।

गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङका अनुसार देशका विभिन्न भागमा जारी वर्षाले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । घर भत्किएर काभ्रे, सुर्खेत र पाल्पा गरी आइतबार तीन जनाको मृत्यु भएको छ, अन्य दुई जना घाइते भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका पहाडी र समथर भूभागका दर्जनभन्दा बढी सडक अवरुद्ध छन् । तराईका विभिन्न जिल्ला डुबानमा परेका छन् । यस पटक तराईको जनजीवन बढी प्रभावित बनेको छ । नवलपरासी पूर्व, कैलाली, काभ्रे, सिन्धुपाल्चोक, दार्चुला, बझाङ, सुर्खेत र उदयपुरका विभिन्न स्थानमा पहिरो गएको छ । तराई भएर बग्ने ठूला नदीहरू सप्तकोसी र नारायणीले सतर्कताको तह पार गरेपछि उच्च जोखिम बढाएको छ । रौतहट, सर्लाही, सिरहा, धनुषा, बाँके, कैलाली, दाङ, रुपन्देही, झापालगायतका जिल्लामा डुबानले समस्या पारेको छ ।

यता रुपन्देहीमा पनि बाढीको प्रकोप उच्च छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार बिहीबारदेखि यता बाढी र वर्षे पानीले ९५० घर डुबानमा परेका छन् । विभिन्न स्थानका ३६ वटा घरमा पूर्ण क्षति भएको छ । हालसम्म बाढीले तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बाढीपहिरो र डुबानको तीनथरि विपत् कारण स्थानीयवासीले सास्ती खेप्नु परेको बताईन। उनका अनुसार नदीमा बाढी र पहाडमा पहिरोले सुरक्षा जोखिम बढाएको छ । हुप्सेकोटको विभिन्न बस्ती पहिरोले थिलथिलो बनाएको छ । सोही स्थानको तल्लो गाउँमा पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।

शुक्रबार पहिरोले तीन जनाको ज्यान गएको थियो । डेढगाउँमा दुई स्थानमा, बाणथर र रुचाङमा पनि पहिरोको जोखिम बढेपछि स्थानीयवासी विस्थापित भएका छन् । देवचुलीमा बाढीले क्षति पु¥याएको छ । कावासोती–४ मा पनि पहिरोले घर पुर्न थालेपछि स्थानीयवासीलाई अन्यत्र सारिएको छ । डुबानले अस्तव्यस्त सडक शनिबार रातिदेखि खुले पनि आइतबार डाइभर्सनबाटै खोला पसेपछि पुनः सडक अवरुद्ध भएको प्रजिअ पङ्गेनीले बताइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।