ताजा अपडेट »

भारतबाट पसेको हात्तीको बथान नफर्किदा त्रास

आइतबार, १३ भदौ २०७८, ११ : ५१
2 Shares

झापा । भारतबाट नेपाल पसेका २० जङ्गली हात्ती एक महिनादेखि नेपालको जङ्गलमा डुलिरहेका छन् । सीमामा लगाइएको विद्युतीय तारबार नाघेर गत साउन १३ गते ती हात्ती बाहुनडाँगी गौँडा हुँदै नेपाल पसेका थिए । भित्रिएका हात्ती लामो अवधिसम्म नेपालमै बसिरहँदा स्थानीयवासीमा त्रास बढेको मानव हात्तीद्वन्द्व न्यूनीकरण अभियानकर्मी शङ्कर लुइँटेलले बताए ।

भारतको सुकुना वन क्षेत्रबाट मेची नदी तरेर हात्तीको बथान आहारको खोजीमा बर्सेनि नेपाल पस्ने गथ्र्यो । नेपालले बाहुनडाँगीको तिरिङदेखि काँकरभिट्टासम्म १८ किलोमिटर सीमा क्षेत्रमा विद्युतीय तारबार निर्माण गरेको सात वर्षपछि हात्तीको बथान नेपाल पसेको यो पहिलो पटक हो । हात्तीको प्रवेशविन्दु बाहुनडाँगीमा दुई दशकदेखि क्रियाशील उनका अनुसार २०७१ सालयता हात्ती नेपाल पसेका थिएनन् । यसअघि नेपाल पसेका हात्ती बढीमा चार दिनमै भारततिरै फर्किन्थे । “ यसपाली एक महिना भइसक्यो हात्तीको बथान भारततिर फर्किएको छैन,” अभियानकर्मी लुइँटेल भन्छन्, “किन फर्किएनन् भन्ने नयाँ खोजको विषय भएको छ । कतै यिनीहरु नेपालतिरै बस्न लागेका त होइनन् भन्ने प्रश्न पनि उब्जिएको छ ।”

उनका अनुसार २० मध्ये १८ एउटै झुण्डमा डुल्ने गरेका र दुई दाह्रे हात्ती भने अलग्गै छन् । बथानबाट लखेटिएका हात्तीलाई “मालजोरिया” भन्ने गरिन्छ । ती दुई हात्ती बथानको छेउछाउ नै डुल्ने गरेका छन् । हाल झापामा १३ रैथाने हात्ती रहेको डिभिजन वन कार्यालयले जनाएको छ । ती हात्ती पनि कुनै बेला यसरी नै भारतबाट पसेर यतै बसेको हुनसक्ने लुइँटेलको अनुमान छ । हालै भित्रिएका हात्तीको बथान उत्तरी झापाको मेचीनगर, अर्जुनधारा र कनकाइको वन क्षेत्रमा डुलिरहेका छन् । ती वन क्षेत्रमा हात्तीले रुचाउने जङ्गली अठिया केरा र बाँसको तामाजस्ता आहारा प्रशस्त मात्रामा छ । नयाँ बथानले अहिलेसम्म मानवीय क्षति नगरे पनि कनकाइको सुकेडाँगीमा एउटा घरपालुवा जनावर मरेको थियो । जङ्गल आसपास मानव वस्तीमा हात्ती डुल्ने गर्दा स्थानीयवासीमा त्रास बढेको छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।