ताजा अपडेट »

मनसुनी वर्षाले ६० जिल्ला प्रभावित

विहीबार, १० भदौ २०७८, ०७ : ००
6 Shares

काठमाडौँ। नेपालमा मनसुन भित्रिएपछि दुई महिनामा भएका विपत्जन्य घटनाले अधिक क्षति भएको पाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै केही विशिष्ट घटनाले ठूलो क्षति निम्त्याएको उल्लेख गरेको छ । मनसुनी वर्षा निरन्तर जारी छ ।

प्राधिकरणका प्रमुख अनिल पोखरेलले गत वर्षभन्दा यस वर्ष विपत्का घटना कम भएको बताए। गत वर्ष यस अवधिमा विपत्का ६८५ घटना भएका थिए । यस वर्ष यही अवधिमा ४५१ वटा विपत्का घटना भएका छन् ।प्राधिकरणले यस दुई महिनाको अवधिमा ६० जिल्ला मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण प्रभावित बनेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले विपत्का घटनाले पाँच हजार ११८ जना बासिन्दा विस्थापित हुनु परेको जानकारी दिए ।

उनले भने, “घटना अघिल्लो वर्षभन्दा कम भए पनि केही घटनाले क्षतिको दायरा बढाएको छ । अझै एक महिना मनसुनको अवधि बाँकी नै रहेकाले त्यो दायरा बढ्न सक्छ ।” सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस वर्षको विपत्का ठूला घटना हुन् । यीलगायत दिनहुँजसो विपत्का कारण भौतिक क्षति हुने क्रम जारी छ ।

यस अवधिमा बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ । बाढीमा परेर २८ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । देशभर पहिरोका १८९ घटना भएको पाइएको छ । पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । पहिरोमा परेर ५८ जना घाइते भएका थिए ।

प्राधिकरणका अनुसार भारी वर्षाका १८२ घटना रेकर्ड भएका छन् । भारी वर्षामै परेर पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यस अवधिमा चट्याङ लागेर २० जनाको ज्यान गएको छ । सर्पको डसाइबाट १० जनाको मृत्यु भएको छ ।

प्राधिकरणका विज्ञ शिवकुमार बास्कोटाका अनुसार प्रमुख घटना भएकै स्थानमा मानवीय र भौतिक क्षति बढी भएका छन् । प्राधिकरणको विवरणअनुसार विपत्ले ७१३ वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सडक तथा नदी मार्गमा बनेका २९ वटा झोलुङ्गे पुल र २७ वटा पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको छ । बाढीले २५ वटा हाइड्रो पावरमा क्षति पुर्याएका छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।