ताजा अपडेट »

कांग्रेस जिल्‍ला सभापतिहरूले केन्‍द्रीय कार्यालयमा आज एक घण्‍टा धर्ना दिने

मंगलबार, ०८ भदौ २०७८, ०९ : १६
4 Shares

काठमाडौ । नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै संस्‍थापनइतरका जिल्ला सभापतिहरूले आज पार्टी कार्यालयमा धर्ना दिने भएका छन् । क्रियाशील सदस्‍यको सूची सार्वजनिक र दुई दिन सच्‍याउने समय दिइनुपर्ने मागसहित आज ११ बजे एक घण्‍टा पार्टी कार्यालयमा धर्ना दिइने सिन्धुपाल्‍चोक जिल्‍ला सभापति विकाश लामाले जानकारी दिए । माग सम्‍बोधन नभएर विरोधका कार्यक्रम सशक्‍त बनाउँदै लैजाने उनले बताए ।

'क्रियाशील सदस्‍यको सूची सार्वजनिक गर्न हामीले शनिबार नै दुई दिनको समय दिएर सभापतिलाई ज्ञापन पत्र बुझाएका थियौँ, लामाले भने, 'नभएपछि धर्ना दिन लागिएको हो । आज सांकेतिक रूपमा एक घण्टा मात्रै धर्ना दिने कार्यक्रम छ । माग पूरा नभए यो आन्दोलन थप सशक्त बनाउँदै लैजान्छौँ ।'

सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने माग समेत आफूहरूको रहेको उनले बताए । आगामी अधिवेशनमा पार्टीको जिल्ला नेतृत्वका लागि हुने सभापतिको उम्मेदवार बन्न दुईथरी नीति बनाइएको भन्‍दै त्यसलाई सच्याउनुपर्ने माग उनीहरूको छ ।कांग्रेसले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको छ भने एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधिमध्येबाट नै जिल्ला सभापति चयन हुनेगरी निर्देशिका बनाइएको छ ।

कांग्रेसले १४औं महाधिवेशनको नयाँ कार्यतालिका अनुसार भदौ १८ भदौबाट गाउँ तथा नगर अधिवेशन सुरु हुनेछ । कांग्रेसले सोमबार अबेर मात्रै क्रियाशील सदस्यता विवाद टु‌ग्याएको थियो । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने तय भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।