ताजा अपडेट »

थप ६० हजार शिक्षक दरबन्दी आवश्यक, १२ हजारमा विज्ञापन खोल्ने तयारी

सोमबार, ०७ भदौ २०७८, ०८ : २८
2 Shares

काठमाडौँ ।  शिक्षक सेवा आयोगले स्थायी दरबन्दीमा शिक्षक भर्नाको विज्ञापन खुलाउने तयारी गरेको छ । पदाधिकारी पाएसँगै आयोगले नियमित काम गर्न थालेको हो ।आयोगका अध्यक्ष मधु रेग्मीले क्यालेन्डर बनाएर नियमित काम अघि बढाउने बताए । उनका अनुसार आयोग करिब एक वर्ष पदाधिकारीविहीन भएकाले केही नियमित कामहरू रोकिएका छन् ।नियमित रुपमा चाँडै गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजनाअनुसार शिक्षक दरबन्दी खुलाउन लागिएको उनले बताए । केही दिनमै स्थायी शिक्षक दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले करिब १२ हजार स्थायी दरबन्दीमा विज्ञापन आह्वान गर्न लागेको बताए । उनका अनुसार आधारभूत तहका १० वटा विषयमा र माध्यमिक तहका १३ वटा विषयमा दरबन्दी आह्वान गर्न लागिएको छ ।प्राथमिक तहमा ९ हजार १०६ जना, निमाविमा १ हजार ९१३ जना र माविमा १ हजार ४२ जना गरेर जम्मा १२ हजार ६१ जना शिक्षकको रिक्त दरबन्दीमा विज्ञापन आह्वान गर्ने तयारी भइरहेको मरहठ्ठाले बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७७ चैत मसान्तमा रिक्त दरबन्दीको विवरण पठाएकोले विज्ञापन खुल्दासम्म यो संख्या बढ्न सक्ने उनले बताए । उनले भने, ‘हामीले केन्द्रलाई थप रिक्त दरबन्दीको विवरण मागेका छौँ, त्यसलाई पनि समेटेर विज्ञापन गर्न सक्छौँ ।’

उनका अनुसार लिखित परीक्षाका लागि प्राथमिक तहको पाठ्यक्रम तयार भएको छ । निमावि र माध्यमिक तहको लागि पाठ्यक्रम बन्दैछ ।
पाठ्यक्रम तयार भएको तीन महिनापछि मात्र परीक्षा सञ्चालन गर्न सकिने कानूनी प्रावधान छ । आयोगले नियमित अवकाश वा राजीनामाबाट रिक्त भएको दरबन्दीमा पदपूर्ति गर्न विज्ञापन आह्वान गर्न लागेको हो । यसले मात्र शिक्षक अभाव भने टर्ने छैन ।

सरकारसँग नयाँ दरबन्दी सिर्जनाका लागि प्रस्ताव गरे पनि सुनुवाइ भएको छैन । निम्न माध्यमिक र माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान लगायत विषयमा शिक्षक अभाव छ । हालसम्म ७ लाख १७ हजार १०५ जनाले अध्यापन अनुमति पत्र लिएको मरहठ्ठाले बताए ।

थप ६० हजार शिक्षक आवश्यक

देशभर शिक्षक अभाव टार्न थप ६० हजार शिक्षक दरबन्दी आवश्यक पर्ने देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
देशभर २७ हजार ८१३ सामुदायिक विद्यालय छन् जसमा हाल स्थायी, अस्थायी र राहत गरेर जम्मा १ लाख ५६ हजार शिक्षक कार्यरत छन् । यसमा स्थायी शिक्षक दरबन्दीको संख्या १ लाख २ हजार ३६४ छ ।

निमावि र मावि तहमा करिब २५–२५ हजार तथा कक्षा ११ र १२ का लागि करिब ८ हजार शिक्षकको दरबन्दी थप्न आवश्यक रहेको केन्द्रले जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले पनि २०७५ सालमा माध्यमिक तह (कक्षा १०) कक्षासम्म करिब ५० हजार नयाँ शिक्षक दरबन्दी आवश्यक रहेको ठहर गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।