ताजा अपडेट »

विश्वासको मत गुमाएका स्विडेनका प्रधानमन्त्रीद्वारा पार्टी नेतृत्वबाट पनि बिदा लिने घोषणा

आइतबार, ०६ भदौ २०७८, १९ : ५३
10 Shares
आइतबार, ०६ भदौ २०७८
10 Shares

स्टकहोम । विश्वासको मत गुमाएका स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनले पार्टी नेतृत्वबाट पनि अलगिने घोषणा गरेका छन् । 

झण्डै दुई महिना देशको तल्लो सदनमा भएको मतदानमा विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले प्रधानमन्त्रीको जिम्मेबारीबाट बिदा लिनुपरेको थियो । उनले अब पार्टी नेतृत्वबाट समेत बिदा लिने आइतबार घोषणा गरेका छन् । 

सोसल डेमोक्र्याट पार्टीको अध्यक्षसमेत रहेका स्टेफनले आगामी नोभेम्बरमा आफूले पार्टीको नेतृत्वदायी भूमिकाबाट अलग हुने घोषणा गरेका हुन् । 

आगामी एक वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई फेरि विजयी गराउनका लागि आफूले जिम्मेवारी त्याग्न लागेको उनको भनाइ छ । 

पार्टीकै एक कार्यक्रममा उनले नयाँ नेतृत्वलाई अवसर दिन र पार्टीलाई नयाँ तरिकाले सञ्चालन गर्ने वातावरण बनाउन सहयोग होस् भनेर आफूले पार्टी अध्यक्षबाट पनि राजीनामा दिन लागेको बताए । उनको यो निर्णयलाई परिपक्व, जिम्मेवार र नैतिकतापूर्ण भएको भन्दै स्थानीय सञ्चारमाध्यमहरुले महत्वका साथ सकारात्मक तरिकाले सम्प्रेषण गरेका छन् । 

उनले आफू झन्डै १० वर्षदेखि पार्टी अध्यक्ष र सात वर्ष प्रधानमन्त्री भइसकेकाले अब यो श्रृङ्खलालाई अन्त्य गर्नुपर्ने निष्कर्षमा आफू पुगेको पनि उल्लेख गरेका छन् । “मैले पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा जे जति समय, अवसर र जिम्मेवारी पाएँ, त्यो आफैँमा अति अतुलनीय र महत्वपूर्ण थिए, यो सधैँ रहिरहँदैन, एक दिन अवश्य अन्त्य हुनेछ, त्यो अन्त्य गर्ने दिन अहिले आएको छ,” उनले भने । 
    
आफूले अहिले नै जिम्मेवारी त्यागेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिन पाएमा सबैका लागि हित हुने ठानेको पनि उनले बताएका छन् । 

मजदुर सङ्गठनबाट पार्टी राजनीतिमा आएका स्टेफनले सन् २०१२ देखि पार्टीको नेतृत्व गरेका छन् भने सन् २०१४ र २०१८ को आम निर्वाचन पनि उनकै नेतृत्वमा पार्टीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो । उनले दुई महिना अगाडि संसद्बाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि अर्को प्रधानमन्त्री चयन नभएकाले अहिले पनि काम चलाउ प्रधानमन्त्री कै जिम्मेवारीमा छन् । 

मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।  स्विडेनको संसद्मा अहिले ३४९ जना सांसद रहेका छन् । तीमध्ये १०९ जनाले मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए । 

स्विडेनको संसद्ले लिएको यो निर्णयले विघटन हुने खतराबाट त संसद् जोगिएको छ । तर नयाँ सरकार दिन भने असक्षम भएको छ । संसद् विघटन भएको भए निर्धारित समयभन्दा एक वर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । 

विपक्षीहरूले अविश्वासको प्रस्ताव पेस गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्विडेनको पहिलो प्रधानमन्त्री भएका छन् । अर्पाटमेन्टका सम्बन्धमा भएको विवादका कारण उनका यसअघिका केही समर्थक दलहरुले अहिले समर्थन फिर्ता लिएका हुन् । एएनआई

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।