ताजा अपडेट »

बुटवलमा ललितकला विषय पढाउने तयारी

शनिबार, ०५ भदौ २०७८, १९ : १५
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमका अतिरिक्त विद्यालय तहदेखि नै ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको छ । बुटवल उपमहानगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा ललितकला विषय अध्ययन अध्यापनका माध्यमबाट विद्यालय तहदेखि नै बालबालिकामा ललितकला सम्बन्धीको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको बुटवलका प्रमुख शिवराज सुवेदीले बताए ।

विद्यालयतहदेखि नै ललितकलाका विधागत सीपको विकास गर्दै व्यवसायिक तथा संस्थागत विकासका निम्ति अभिप्रेरणा जगाउने र स्थानीय कलासंस्कृतको समेत संरक्षण र संर्वद्धन गर्ने उद्देश्य रहेको प्रमुख सुवेदीको भनाइ छ । आवश्यक अध्ययन गरी व्यवस्थापनका प्रक्रिया अगाडि बढाउन गत बैशाखमा डा.तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय अध्ययन कार्यदल गठन गरिएको थियो । विभिन्न विषयका विज्ञहरु सम्मिलित उक्त कार्यदलले विस्तृत अध्ययन गरी उपमहानगरमा प्रारम्भिक प्रतिवेदन पेस गरेर सुझाव माग गरेको छ ।

सोही प्रतिवेदनमा सुझाव प्रस्तुत गर्दै प्रमुख सुवेदीले बालबालिकाको अभिरुचि र सीपलाई उपयुक्त अवसर प्रदान गर्ने र त्यसैलाई व्यवसायिक रुप दिंदै राष्ट्रिय हितमा केन्द्रित गराउन जरुरी रहेको बताए । कार्यदलले काठमाण्डौं विश्वविद्यालय र त्रिभूवन विश्विद्यालयका ललितकला विभागका प्रोफेसरहरुसंग अन्तरक्रिया गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको कार्यदलका संयोजक तिलक भुसालले बताए । प्रारम्भिक प्रतिवेदनका आधारमा शनिबार बुटवलका एक कार्यक्रमको आयोजना गरि सुझाव संकलन गरिएको थियो ।

बुटवल उपमहानगरपालिकामा ललितकला विषयलाई प्राज्ञिक विषयका रूपमा विद्यालयदेखि स्थापित गरी विद्यार्थीहरूलाई यस विषयतर्फ आकर्षित गर्न विषयगत व्यवस्थापनसम्बन्धी अध्ययन गरर प्रतिवेदनलाई अन्तिम रुप दिन सुझाव दिइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए । कार्यक्रममा सहभागी विज्ञ डा. मुराहरी पराजुली, अजित खनाल, प्रेमबहादुर बस्नेतलगायतले ललितकलाका विभिन्न विधामा विशेष अभिरुचि भएका विद्यार्थीहरूलाई ललितकला बिषयको अध्यापनका माध्यमबाट उनीहरूको उच्च शिक्षा तर्फको गन्तव्यलाई पनि सुनिश्चितता प्रदान गर्नेगरि योजना बनाउन सुझाव दिएका थिए ।

के हो ललितकला विषय ?

ललितकला मानिसका विचार, सम्बन्ध आदिसँग सम्बन्धित ज्ञानहरूमध्ये एउटा शाखा हो । ललितकला मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने वास्तु, मूर्ति, सङ्गीत, चित्र, साहित्य आदि विधामा फैलिएको ज्ञानको शाखा हो । यसले मिहिन रूपमा मानवजीवनका विविध पक्षसँग सम्बद्ध चौंसठ्ठी कलालाई समेटेको हुन्छ । यद्यपि समसामयिक सन्दर्भमा साहित्य विधाहरूसँगै विशेषतः सङ्गीत, चित्र, वास्तु, मूर्ति आदि (फाइन आर्ट) लाई बुझिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।