ताजा अपडेट »

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः गराउन माग

विहीबार, २८ साउन २०७८, २२ : ०१
8 Shares

काठमाडौं । पाँच विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन् । बाग बजारमा आज नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अखिल (छैटौँ) र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।   

“प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्र्तीण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति हुन्छ”, उनले भने, “जसले गर्दा विद्यार्थीलाई झन्झट, तनाव थपिने र नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीलाई देशमै अध्ययनको वातावरण बनाउन माग गर्दछौँ ।”

बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ । 

यसैगरी बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न बैठकले माग गरेको अखिलका अध्यक्ष पराजुलीले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनीयरिङ, मेडिकल, वाणिज्य सहितका विषयमा कोटा थप गर्न माग गर्दै कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाइ उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाइ छात्रवृत्ति सहज बनाउन बैठकले माग गरेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।