ताजा अपडेट »

तिलोत्तमाको एकीकृत सहरी विकास योजना सार्वजनिक

आइतबार, २६ साउन २०७६, २१ : ४२

साउन २६,
ग्लोबल आवाज

बुटवल । तिलोत्तमा नगरपालिकाले एकीकृत सहरी विकास योजना तयार गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको योजनाले आगामी १५ वर्षको विकासको लक्ष्य निर्धारण गरेको छ । सिद्धार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रा.लि. ले तर्जुमा गरेको एकीकृत सहरी विकास योजना प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । योजना सार्वजनिक गर्नुअघि कन्सल्टेन्सीका अध्यक्ष लिलाबहादुर केसीले तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेलाई योजना हस्तान्तरण गरेका थिए ।


योजना सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेशका १०९ वटै पालिकाहरुलाई योजनाबद्ध विकासका लागि प्रदेश सरकारले आह्वान गरेको भन्दै तिलोत्तमा नगरले योजना निर्माणमा अरु पालिकालाई उछिनेको बताए । पर्यटनमन्त्री लिला गिरीले योजनाले सडकलाई मुख्य प्राथमिकतामा राखेकाले सडक निर्माणमा कसैले संकीर्ण सोंच राख्न नहुने र यसका लागि सबै नगरबासीको साथ अपरिहार्य रहेको बताए । प्रदेश सांसद दधिराम न्यौपानेले एकीकृत सहरी विकास योजनाले विकासको मार्गदर्शन तय गरकाले यसलाई कार्यान्वयन गरेर अघि बढ्न आग्रह गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इशवर गौतमले योजनाबद्ध विकासले मात्रै लक्ष्य हासिल गर्न सकिने उल्लेख गर्दै तिलोत्तमा नगरपालिकाले सार्वजनिक गरेको एकीकृत सहरी विकास योजना नगर विकासका लागि कोसेढुंगा हुने विश्वास व्यक्त गरे । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मुलुककै नमुना नगर बनाउने उद्देश्यका साथ नगरपालिका अगाडि बढेको भन्दै एकीकृत सहरी विकास योजना प्रभावकारी ढंगले कार्यान्वयन गरिने बताए ।

नेकपाका तिलोत्तमा नगर अध्यक्ष मोहन चापागाईंले १५ वर्षे दीर्घकालीन योजनाले बोकेका लक्ष्य पूरा भए नगरले समृद्धि हासिल गर्ने बताए । योजनाबारे जानकारी दिंदै कन्सल्टेन्सीका सदस्य चिरन्जीवी पौडेलले एकीकृत सहरी विकास योजना तर्जुमा गर्दा आगामी १५ वर्षको भिजन तय गरिएको बताए । त्यसैगरी आर्थिक वर्ष ०७५र७६ देखि ०८०र८१ का लागि योजना, लक्ष्य, रणनीति, आवश्यक बजेट र कार्यान्वयनको ढाँचा प्रस्तुत गरिएको छ । उक्त योजनाले आगामी पाँचवर्षमा नगरको आर्थिक वृद्धिदर १०.३ प्रतिशत हुने र १५ वर्षमा साढे १० प्रतिशत हुने लक्ष्य निर्धारण गरेको छ । अहिले तिलोत्तमा नगरको आर्थिक वृद्धिदर ६.८ प्रतिशत छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।