ताजा अपडेट »

बुटवलमा कोभिड खोप लगाउन अनलाइन फारम !

मंगलबार, १९ साउन २०७८, ११ : ०१
4 Shares

बुटवल । बुटवल १० का ५५ वर्षीय भुपेन्द्र खनाल यसअघि कोभिड विरुद्धको खोप लगाउन छुटे । पोष्ट कोभीडले शिथिल बनेका उनी २ पटक खोप लगाउने केन्द्रमा पुगेका थिए । तर, अत्याधिक भीडका कारण सहज पालो पाएनन् । परिवारले फर्काए । मंगलबार तिनै भुपेन्द्रको घरमा उपमहानगरपालिकाका स्वयमसेवक आए । उनीहरुले अनलाइनमार्फत उनीसहित परिवारको भरिदिए । त्यसकै आधारमा उनीहरु अहिले खोप लगाउने पालो कुरेका छन् ।

कोभिड विरुद्धको खोपलाई व्यवस्थीत गर्न भन्दै बुटवल उप महानगरपालिकाले अनलाइन मार्फत नाम दर्ता गर्न थालेको छ । नाम दर्ता गर्न नभुलौं खोप लगाउन नछुटौ भन्ने नारासहित उप-महानगरका १९ वटै वडामा स्वयंसेवकहरु परिचालन गरिएका छन् । उनीहरुले वडा कार्यालय र टोल समिति मार्फत नाम दर्ता थालेको हो । आफ्नै वडा र टोलमा फारम भर्न पाइने भएपछि र्वसाधरणको पहुंच बढेको छ ।

बुटवल उप–महानगरपालिकाले साउन ७ गतेबाट अनलाईन नामदर्ता अभियान सुरु गरेको हो । ४५ जना युवा स्वयंसेवकहरु वडा कार्यालय र टोलमा पुगेर अनलाईन नामदर्ता गरीहेका छन् । जसमा नाम र परिचय खुल्ने कागजातका आधारमा १८ वर्षभन्दा माथिका सबै नागरिकको नाम दर्ता गरिएको छ । नगरप्रमुख शिवराज सुवेदीले खोप लगाउने कामलाई व्यवस्थीत गर्न र खोप लगाएकाको विश्वव्यापि तथ्यांक राख्न अनलाइन फारम दर्ता सुरु गरेको बताए । ‘अघिल्लो पटक खोप लगाउँदा धेरै भद्रगोल भयो । खोप लगाउनुपर्ने पनि छुटे,’ उनले भने, ‘भद्रगोल हटाउन र सबै व्यक्तिका लागि खोपको व्यवस्था गर्न यसो गरेका हौं ।’

बुटवलमा अघिल्लो पटक अस्थायी र विदेशी नागरिक खोप लगाउनबाट छुटेका थिए । अनलाइन फारममा स्थायी वासिन्दासंगै अस्थायी र बुटवलमा बस्ने विदेशी नागरिकको समेत नाम संकलन गरिएको छ । संक्रामक रोग जो कोहीलाई लागेपनि प्रभावीत हुने भएकाले बुटवलमा बस्ने सबै नागरिकको नाम संकलन गरिएको प्रमुख सुवेदीले बताए ।

विदेश जानेलाई खोप लगाएको प्रमाण आवश्यक पर्छ । अनलाइन फारमले त्यस्तो प्रमाण राख्न पनि सहज भएको स्थानीयको अनुभव छ । ‘मलेसियाका लागि तयारी गरिहेको थिए“ । खोप विना प्रक्रियाअघि बढेन, ’बुटवल-४ का निमबहादुर थापाले भने,‘खोप लगाएको अनलाइन प्रमाण पठाएपछि बल्ल प्रक्रिया अघि बढेको छ ।’

कोभीड विरुद्ध नाम दर्ता अभियान साउन मसान्तसम्म चल्ने छ । अहिलेम्म ८० हजार २ सयले अनलाइन फारम भरेका छन् । उक्त अवधीमा एक लाख २० हजार नागरिकको नाम दर्ता गरिसक्ने लक्ष्य लिएको छ । अनलाइन नाम दर्ता अभियानमा बुटवल उप-महानगरपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन, यूएनडिपीले सहयोग गरेका छन् । १८ वर्षमाथिका सबै व्यक्तिको नाम दर्ता भएपनि सरकारले तोकेको उमेर अनुसारको अभियानमा उनीहरुले खोप लगाउन पाउने छन् ।

‘नामदर्ता पछि खोप लगाउने ब्यक्तिले खोप लगाउने आफ्नो पालो मोवाईल म्यासेजबाट थाहा पाउने छन्,’ उपमहानगरपालिकाका सुचना अधिकारी मीत्रमणी खनालले भने, ‘पालो अनुसार खोप लगाउनेछन् । कोही खोपबाट बन्चीत हुने वा खोप केन्द्रमा भिड हुनेछैन ।’

बुटवलमा यसअघि पनि वडा नम्बर १, ३ र ४ का शहरी स्वास्थ्य केन्द्र एवं मोतीपुर र सेमलारमा अनलाइन मार्फत नाम संकलन गरेर कोभीड खोप लगाइएको थियो । अनलाइनमार्फत खोप लगाउदा कुनै व्यक्ति छुट्ने वा लक्षीत व्यक्ति बाहेकले खोप लगाउने समस्या नदेखिएको सुचना अधिकारी खनालले बताए ।

बुटवलसहित देशका ७ स्थानीय तहमा कोभिड विरुद्ध अनलाइन फारम दर्ता भएको छ । अन्य देशमा जस्तै नेपालमा पनि खोपलाई व्यवस्थित गर्न र खोप लगाएका व्यक्तिको विश्वव्यापी तथ्यांक राख्न परिक्षणका रुपमा ७ स्थानीय तहमा कार्यक्रम चलाइएको युएनडिपिका लुम्बिनी प्रदेश संयोजक सुदीप अर्यालले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।