ताजा अपडेट »

७ अर्ब ७३ करोड राजस्व संकलन

आइतबार, १९ साउन २०७६, १३ : १७
4 Shares

साउन १९,
भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब ७३ करोड ९७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो असुली लक्ष्यअनुसार ८३ दशमलव २ प्रतिशत हो । आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत देवीप्रसाद भण्डारीले ९ अर्ब ३० करोड २२ लाख ४७ हजार लक्ष्य रहेकामा लक्ष्यअनुसार संकलन हुन नसके पनि विगतका वर्षमा भन्दा बढी संकलन भएको जानकारी दिए ।


यो कार्यालयले साउन १ गतेदेखि १५ गतेसम्म १५ करोड ९६ लाख ३५ हजार ७ सय २१ रुपैयाँ राजस्व असुलि गरेको जनाएको छ । कार्यालयले गत आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर, ब्याजकरमा लक्ष्यअनुसार राजस्व संकलन गरे पनि आयकर र अन्तःशुल्कमा लक्ष्य पूरा गर्न सकेन् । मूल्य अभिवृद्धि करमा लक्ष्य १ अर्ब १३ करोड ५ लाख ७१ हजार रहेकामा असुली १ अर्ब १७ करोड ४५ लाख ३७ हजार संकलन भएको छ । यो लक्ष्यको १०३ दशमलव ८९ प्रतिशत हो । त्यसैगरी ब्याजकरमा ५ करोड १८ लाख ९० हजार लक्ष्य रहेकामा ५ करोड २७ लाख ४३ हजार असुली भएको छ । यो लक्ष्यको १०१ दशमलव ६४ प्रतिशत हो ।


त्यसैगरी आयकरमा १ अर्ब ७२ करोड १३ लाख ७१ हजार लक्ष्य रहेकोमा १ अर्ब ५८ करोड ६९ लाख ५० हजार मात्र संकलन भएको छ । यो लक्ष्यको जम्मा ९२ दशमलव १९ प्रतिशत मात्र हो । त्यसैगरी अन्तःशुल्कतर्फ ६ अर्ब ३९ करोड ८४ लाख १५ हजार लक्ष्य रहेकामा जम्मा ४ अर्ब ८५ करोड २५ लाख २५ हजार संकलन भएको छ । यो लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र हो ।
त्यसैगरी कार्यालयले घर बहालतर्फ ५ करोड २४ लाख १४ हजार, स्वास्थ्य सेवातर्फ १ करोड ५७ लाख ६४ हजार र शिक्षा सेवा शुल्कमा ४७ लाख ७९ हजार रुपैयाँ संकलन गरेको छ ।

बढ्दै करदाता
पछिल्लो समय करमा समाहित हुनेहरूको संख्या बढ्दै गएको छ । आन्तरिक राजस्व कार्यालय भैरहवा क्षेत्रअन्तर्गत असार मसान्तसम्म विभिन्न प्रकृतिका करदाताको संख्या ६५ हजार ७ सय ६६ पुगेको छ । जसमा आयकर (व्यवसायिकतर्फ) ३१ हजार २ सय ६१, आयकर (व्यक्तिगत) तर्फ २६ हजार ५ सय ६४, मूल्य अभिवृद्धिकरतर्फ ४ हजार ८ सय २५ र अन्तःशुल्क इजाजततर्फका करदाता ३ हजार १ सय १६ रहेका छन् ।


गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै आयकर (व्यवसायिकतर्फ) ४ हजार १ सय १०, आयकर (व्यक्तिगततर्फ) ४ हजार ४ सय २८, मूल्य अभिवृद्धिकरतर्फ ६ सय २७ र अन्तःशुल्कतर्फ ४ सय ९१ गरी कुल ९ हजार ६ सय ५६ करदाता थपिएका छन् । यो कार्यालयअन्तर्गत सिद्धार्थनगर नगरपालिका, रामग्राम नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा ५ देखि माथि सबै तथा नवलपरासी पश्चिमका गाउँपालिका र रूपन्देहीका लुम्बिनी क्षेत्र, मर्चबार, धकधई, ओमसतिया, रोहीणी, अमुवा, छपियालगायत कार्यक्षेत्र पर्दछन् ।- मनोरञ्जन शर्मा/कारोबार दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।