ताजा अपडेट »

मन्त्री बन्न हानथाप, आवश्यकता २०, दौड १ सय ५६ को

आइतबार, १० साउन २०७८, ०८ : ४१
2 Shares

काठमाडौं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका थिए । नियुक्त भएकै दिन देउवाले आफ्नै दलका दुई जना र गठबन्धनमध्येको एक माओवादी केन्द्रका दुई गरी चार जनालाई मन्त्रीमा नियुक्त गरे ।

देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद्द्वारा मुलुकको शासकीय बागडोर सम्हाल्दै आएको १३ दिन बितिसकेको छ । तर, पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा समग्र सरकारको कार्यसञ्चालन प्रभावकारी बन्न सकेको छैन । संविधानतः मन्त्रिपरिषद्को संख्या २५ भन्दा बढी बनाउन पाइँदैन । हाल देउवासहित पाँच जना मन्त्रिपरिषद् रहेकाले उनले अब जम्मा २० जना मन्त्री मात्रै नियुक्त गर्न पाउँछन् । त्यसमा पनि मन्त्रालयको संख्या २१ मात्रै रहेकाले फुल मन्त्री १७ जना मात्रै नियुक्त हुन सक्छन् भने बाँकी चार जना राज्यमन्त्री बनाउनुपर्छ । नयाँ मन्त्री नियुक्त गर्न नसक्दा प्रधानमन्त्री देउवा आफंै १७ वटा मन्त्रालयको जिम्मेवारी लिन विवश छन् । मन्त्रालयमा मन्त्री नहुँदा नीतिगत निर्णय लिन निकै कठिन भइरहेको छ भने प्रशासनिक कामकाजमा समेत उल्झन आइपरिरहेको सरकारी अधिकारीको भनाइ छ । मन्त्रीको अभावमा मन्त्रालयको कुनै नीतिगत निर्णय सम्बन्धमा छलफल गर्नुपरेमा सचिव फाइल लिएर प्रधानमन्त्रीकहाँ धाउनुपर्ने वाध्यतामा छन् ।

गठबन्धन दलमा मन्त्री बन्न अत्यधिक हानथाप भइरहेको र त्यसले नेतृत्वमा रहनेलाई निकै सकस परिरहेको तथ्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैंले खोलेका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टीभित्र मन्त्री बन्नेको लर्को लागेकाले त्यस्तो प्रवृत्तिले आफूलाई आतंकित पारेको बताए । ‘कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे मेरो दिमागमा आतंक छाएको छ, हाम्रा ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ,’ दाहालले भने । गठबन्धनमा माओवादी केन्द्रले बढीमा सातवटासम्म मन्त्रालय पाउने प्रारम्भिक सहमति छ । दुई जना भने सुरुकै दिनमा मन्त्री भइसकेका छन् । दाहालले आफ्नो निवासमा चार÷पाँच दिनदेखि मन्त्री बन्ने चाहना गर्नेहरूको लर्को लागेकाले आफू मानसिक तनावमा भएको समेत बताए । सबै जनालाई मन्त्री नै चाहिने संस्कार र प्रवृत्ति गलत भएको स्पष्ट पार्दै दाहालले आदर्शको कुरा गरेर नथाक्नेहरूले समेत जसरी पनि मन्त्री बनाउनैपर्छ भनेर दबाब दिइरहेको बताए । उनले मन्त्री नभए पार्टीभित्र नेतृत्वलाई सराप्ने प्रवृत्ति जबर्जस्त रहेको जनाए ।

देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिँदा गठबन्धनसहित महन्थ ठाकुर समूहको राजपाको सहित १ सय ६५ मत पाएका थिए । उनलाई गठबन्धन सरकारमा गठबन्धन दलका रूपमा रहेका माओवादी केन्द्र, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जसपा अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका व्यक्तिलाई मन्त्रीमा ल्याउनुपर्ने चुनौती छ । यसमध्ये एमाले नेता नेपाल समूह मन्त्रीमा जाने नजाने बारेमा अनिर्णीत छ । हाल सरकारमा जानका लागि देउवालाई मतदान गर्ने सांसदहरूमध्ये नेपाल, महन्थ ठाकुर, बाबुराम भट्टराई यस मन्त्रीको दौडमा छैनन् । राजमोकी दुर्गा पौडेल पनि मन्त्री बन्ने दौडमा छैनन् । चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । यसरी विश्लेषण गर्दा गठबन्धनका प्रतिनिधि सभाका १५६ सांसदहरू मन्त्री बन्ने दौडमा हानाथाप गरिहेका छन् ।

माओवादीमा मात्रै नभएर जसपाका यादव र ठाकुर समूहमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा निकै सकस छ । यसो त प्रधानमन्त्रीकै पार्टी कांग्रेसमा पनि मन्त्री बन्न दौडधुप गर्नेको लामै लर्को रहेको बताइन्छ । सत्ता गठबन्धन दलले १५ देखि १८ वटा मन्त्रालय मागेकाले देउवालाई कांग्रेसभित्रै चित्त बुझाउनसमेत निकै कठिन भइरहेको बताइएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।