ताजा अपडेट »

न दिनमा भोक, न रातमा निद्रा

बुधबार, ३० असार २०७८, ०७ : ५७
6 Shares


मेलम्ची (सिन्धुपाल्चोक) । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् ।

मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा निद्रा । असार १ गते मेलम्ची तथा इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची नगरपालिकाको तीन हजार पाँच सय रोपनी धान खेतलाई बगरमा परिणत गरेपछि यहाँका किसानलाई असारको चटारो छैन ।

“चैतमा रोपेको धान भित्र्याएर हिजोआज रोपाइँमा व्यस्त हुने बेला हो यो । अहिले खेतसँगै घर बाढीले पु-यो, लहलह हुन थालेको धान खेत ढुङ्गा र बालुवाले पुरेको छ”, आँगनको डिलमा बसेर मेलम्चीको बाढीले पुरेको खेत हेर्दै ८६ वर्षीय टङ्कप्रसाद दुलालले सुस्केरा हाल्दै भने । उनले २०२४ सालमा मेलम्चीमा बाढी आए पनि यस्तो विनाश र दुःख भने नदिएको स्मरण गरे ।

आफ्नो जीवनमा पहिलो पटक असार महिनामा समेत चौतारामा बसेर गफ गर्ने समय पाएको र वर्षभरि पालेका गोरु असार साउनमा समेत फुर्सदिला भएको विरह उनले सुनाए । असार १ मा आएको बाढीले पसाइसकेको धानसहित उनको १२ रोपनी खेत बगरमा परिणत गरेको थियो । “एक बालीमै ५० मुरी फल्ने खेत बालुवा र ढुङ्गामुनि होला भनेर कसले पो सोचेको थियो हो र ?” दुलालले भने ।

मेलम्चीकै ठाकुरप्रसाद रिजालको अवस्था पनि यस्तै छ । मध्य असारमा समेत रोपाइँ गर्नु नपर्ला भनेर आफूले सपनामा समेत नसोचेको उनले बताए । “यो बेला रोपार, बाउसे, गोरु र हली खोज्न व्यस्त रहने हामी यो वर्ष बाढीले पुरेको खेत हेरेर बसिरहेका छाैँ”, रिजालले भने ।यो समाचार आजको गाेरखापत्र दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।