ताजा अपडेट »

रुपन्देहीको पत्रकारिताको इतिहास र साक्षीहरु

सोमबार, २१ असार २०७८, १४ : ०८
48 Shares

गुल्मी । सञ्चारमा मोफसलको राजधानी भनेर रुपन्देही परिचित छ । मोफसलबाटै राष्ट्रिय पहिचान बनाउने यात्रामा रहेको यस क्षेत्रलाई सञ्चारको विकासमा अब्बल बनाउनका लागि पुराना हस्तिहरुको जगत र नयाँ हस्तिहरुको उर्जाले थप टेवा पुगेको छ । यसै सन्दर्भरमा मुलुकमा २००७ सालको प्रजातन्त्र प्राप्ति, पञ्चायत विरुद्धको आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अवस्थासम्म आईपुग्दा यस क्षेत्रमा रहेर कलम चलाएका पुराना पत्रकारहरुलाई सम्झने प्रयास गरेका छौं ।

साबिकको लुम्बिनी अञ्चल रहँदा मोफसलको राजधानीका रुपमा परिचय पाएको रुपन्देहीले मुलुक संघीयतामा गएपछि पनि लुम्बिनी प्रदेशका लागि सञ्चारको राजधानी बनेको छ । गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, स्याङ्जा, बाग्लुङ तथा पर्वत लगायतका पहाडी जिल्लाबाट तराई झरेका मात्र होइन तराईका विभिन्न जिल्लाहरुको संगम स्थल रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारितामा लागेकाहरुले विभिन्न कालखण्डको राजनैतिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

वि.स. २०३८ सालदेखि पत्रकारिता पेशामा आवद्ध भएका पत्रकार डा. बालकृष्ण चापागाईले रुपन्देहीमा पत्रकारिताको पहिलो पुस्ता सुर्यलाल प्रधान लगायतको नाम लिँदै वि.स. २००७ देखि विभिन्न कालखण्डमा सक्रिय रुपमा क्रियाशिल पत्रकाहरुलाई जान्ने अवसर प्राप्त भएको बताउँछन् । वि.स. २००७ सालदेखि २०१७, सत्र सालदेखि ३६ साल तथा ४६ साल गरी विभिन्न चरण हुँदै आजको पिँढिसम्म आइपुगेको इतिहास बारे उनले बताए ।

वि.स. २०३१ साल अघिदेखि भैरहवामा बसेर पत्रकारिता गरेका करुणानिधी शर्मा (पौड्याल) अहिले ८१ वर्ष पुगेका छन् । भैरहवाकोसिद्धार्थनगर नगरपालिका–६ दयापथमा बसोबास गर्ने शर्माका कलम चलाउन औंलाहरु र नजर कमजोर भए पनि पत्रकारिताको नशाले भने नछाडेको बताउँछन् । त्यो समयमा नेपाल पत्रकार महासंघ भन्ने नभएको उनले सुनाए । उनकै नेतृत्वमा रुपन्देहीमा पहिलो पटक पत्रकार संघको गठन भएको थियो ।

‘२०३१ साल चैत्र १२ गते राजा विरेन्द्रको शुभ राज्यभिषेकको तयारी थियो, लुम्बिनी अञ्चलस्तरीय समारोह गरिँदै थियो । अरु क्षेत्र जस्तै पत्रकारितामा पनि संलग्न अञ्चलका हामी सबै समितिमा समाविष्ट थियौं ।’–पत्रकार संघ गठन गर्दाको घटना सुनाउँदै उनले भने, त्यस दिन साँझ अञ्चाधीश सुरेन्द्रबहादुर श्रेष्ठद्वारा आयोजित रात्रीभोजमा आमान्त्रित थियौं । कार्यक्रम सकिएपछि हामी एकसरे साप्ताहिक पत्रिकाका सम्पादक बसन्तध्वज जोसीको कार्यालयमा जम्मा भयौं । त्यो समयमा सबैजना जुट्ने अवसर कम नै पर्दथ्यो । कुरा उठे पत्रकारहरुको संघ बनाउने । तत्काल समिति गठन गरियो । मलाई सभापति बनाईयो । त्यस बेलाको माइन्यूट बसन्तजीसँगै होला म संग छैन।’

त्यो बेला निस्पक्ष ध्वनि साप्ताहिकका सम्पादक रहेका पौड्यालको नेतृत्वमा एक्सरे साप्ताहिकका प्रधान सम्पादक वसन्तध्वज जोसी, सिद्धार्थ साप्ताहिकका प्रधान सम्पादक बाबुराम अर्यालय, लुम्बिनी सन्देश साप्ताहिका अर्जुन ज्ञवाली, दैनिक निर्णय पत्रिकाका सम्पादक देविप्रसाद पाण्डे, मातृभूमि साप्ताहिकका प्रतिनिधि मदन पौड्याल, निष्पक्ष ध्वनीका सम्पादक लेखनाथ ज्ञवाली, राससका प्रतिनिधि सुरेन्द्र आचार्य र पाल्पाका प्रतिनिधि मेघराज शर्मा सदस्य रहेका थिए ।

यसैगरी सल्लाहकारहरुमा दैनिक निर्णयका प्रधानसम्पादक प्रतावकुमार भट्टचन, समीक्षा साप्ताहिकका प्रतिनिधि लालसिंह भण्डारी, खसोखास साप्ताहिकका प्रधान सम्पादक कपुर ज्ञवाली र जागृति साप्ताहिकका प्रतिनिधी डिल्लीप्रसाद आचार्य रहेका थिए । पत्रकार पौड्यालले यी बाहेकका कतिपयका नाम स्मरणमा नरहेका कारण छुट पनि हुन सक्ने उल्लेख गरे ।

बरिष्ठ पत्रकार शर्माले २०३८ सालमा आफूसँग भएको प्रेस र पेपर गुल्मीमा सारेका थिए भने पछि २०४० सालमा काठमाण्डौमा लगेका थिए । त्यस यता आफू पत्रकारितामा सक्रिय हुन नसकेको उनले बताउँछन् । शर्माका अनुसार त्यो समयमा पत्रिकाको लाईसेन्स पाउन भन्दा गोला–बारुद र बन्दुकको लाईसन्ेस पाउन सजिलो थियो । त्यतिखेरको अवस्था बारे सुनाउँदै उनले भने ‘शैलेन्द्रकुमार उपाध्याय सञ्चार मन्त्री बनेपछि भने अलिकति खुकुलो पारेका हुन् ।’ शर्माले छाडेपछि वसन्तध्वज जोसी र सुर्यलाल प्रधानहरुले नेपाल पत्रकार संघ चलाएका थिए ।

करुणानिधिका बुवा गुल्मीको हरेवा गाउँमा जन्मिएका थिए । उनका पिता पुर्खा गाउँमा जिम्मेवाल–मुखिया थिए । गाउँका गरिव दलितहरुलाई रैतीलाई जस्तो दास बनाउने प्रवृत्ति उनको बुबालाई मन नपरेपछि घर गाउँ नै छाडेका थिए । गरिबलाई दिएका स–सना ऋणहरुलाई पनि ६÷६ महिनामा तम्सुक थप्दै लुट्ने गरेपछि घरबाटै विद्रोह गरेर २०० सालमा उनको बुवाले घर छाडेका थिए । घर छाडेर नेपाली कांग्रेसको राजनीति गर्न काठमाण्डौं हिडेका दयानिधी शर्माका जेष्ठ सुपुत्र हुन् करुणानिधि शर्मा ।

२०१५ सालमा राजले गराएको चुनाव बहिस्कार गर्दै कांग्रेसबाटै विद्रोह गरेर उनका पिता २०१९ सालमा भएको चुनावमा पार गुल्मीबाट राष्ट्रिय पञ्चायको सदस्य हुँदै सहायक वनमन्त्री समेत बन्न सफल भएका थिए । बाबु जस्तै जनपक्षिय विचार भएका कारण आफूले पत्रकारिता गरेको शर्माको भनाई छ ।

२०४५ सालसम्म यस्तो थियो अवस्था
२०४५ साल देखि मोफसलबाट निरन्तर प्रकाशित दैनिक लुम्बिनी पत्रिकाका संस्थापक प्रधान सम्पादक र प्रकाशक कर्णबहादुर कार्कीले त्यो बेलासम्म रुपन्देहमा प्रहरीले उक्त पत्रिका चलाउन नदिएपछि आफूले नवलपसीमा दर्ता गरेर चलाईएको बताउँछन् ।

त्यस बेला सम्पादक गोपी गुरु लगायत धेरै जना हुनुहुन्थ्यो ।, विगत त्यसताको अवस्था सम्झिँदै उनले भने ‘सबैलाई त सम्झीन सक्दिन, त्यो समय डिआर घिमिरे प्रधान सम्पादक रहेर दैनिक लुम्बिनीलाई यहाँसम्म पुर्याएको योगदान पनि भुल्न नसिकेने छ ।’ पछि एमबि बिश्वकर्मा अध्यक्ष, मोहन चपाईगाई प्रधान सम्पादक भएर काम गरेका थिए । चापागाई हाल सोही पत्रिकाको अध्यक्ष रहेका छन्।

उनले २०३५ सालदेखि पाल्पाबाट काठमाण्डौको नेपाल पोष्ट तथा प्रतिध्वनी साप्ताहिकमा काम गरेका उनले राष्ट्रपुकार पत्रिकाबाट यो पेशाको सुरुवात गरेको बताए । उनले २०३७ सालमा आफैले आवाज मासिक पत्रिका प्रकाशन गरे भने २०४४ सालमा रामचन्द्र भट्टराईको समालोचना साप्ताहिकमा सम्पादक रहेर पनि काम गरेको अनुभव छ । २०४५ सालमा जनताका पक्षमा अलि कडा पत्रकारिता गर्नकै लागि दैनिक लुम्बिनी दर्ता गरेर चलाउन सुरु गरेको उनले बताउँछन् । लुम्बिनी दैनिक पत्रिकामै २०५२ सालपछि जोडिएका पत्रकार तिलक महत पनि त्यस समय पत्रकारीताकै कारण भागाभाग समेत गर्नु परेको सुनाउँछन् ।

मोदनाथको आगमन
वि.स. २०२१र२२ सालतिर अर्घाखाँचीका मोदनाथ प्रश्रितले पनि बुटवल झरेर पत्रकारिता गरेका थिए । उनी त्यस ताका लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र गुराँस नामक साहित्यीक पत्रका प्रकाशक थिए ।

त्यसताका रामेश्वर भट्ट, ऋषिराम भुसाल, मित्रबहादुर शाक्य, पछि डाक्टर बनेका गितु गिरि, रामचन्द्र भट्टराई, मदनलाल पौड्याल, बामदेव पाहडी, कर्णबहादुर कार्की, देविप्रसाद पाण्डे, नारायण सापकोटा, वेदराज पन्थ, शक्ति लम्साल, पण्डित बाबुराम, मदनलाल पौड्याल, रामचन्द्र भट्टराई, बाबुराम अर्याल, रविन्द्रनाथ शर्मा, कृष्णराज पाण्डे, पृथ्वी शेरचन र गुल्मीका हरिप्रसाद ज्ञवाली लगायतका पत्रकारहरुले रुपन्देहीलाई कर्मथलो बनाएका थिए ।

लुम्बिनी पत्रकार संघको प्रथम अध्यक्ष बनेका चापागाई
स्याङ्गजाको भिरकोट नगरपालिका आङवाङ गाउँमा २०१८ साल मंसिर ८ गते पिता नरभुपाल चापागाई र माता डिल्लीकुमार चापागाईको कोखबाट जन्मिएका बाल कृष्ण चापागाईंले लुम्बिनी पत्रकार संघको पहिलो अध्यक्ष बन्ने अवसर प्राप्त गरे । २०३८ सालमा बुटवल झरेपछि बुटवल मिडिया प्रकाशन प्रालि हाँक्न थालेका उनले संघलाई थप व्यवस्थित र संगठित बनाउने काममा सक्रिए भए ।

यसैगरी पहाड घर स्याङ्जा छाडेर बुटवल झरेका पुराना पत्रकार मोहन चापागाईंले वि.स. २०३८ साल साउन १ गतेदेखि पत्रकारिता सुरु गरेका थिए । पत्रकार चापागाईले २०३९ साल तिर लुम्बिनी पत्रकार संघको अध्यक्ष मदनलाल पौड्याल हुँदा सचिव काम गरेका थिए ।

यसैगरी संघको अध्यक्षमा कर्णबहादुर कार्की हुँदा पनि उनैले सचिव भएर काम गर्ने मौका पाए । त्यति बेलासम्म केहि पत्रकारहरु जुट्ने तदर्थ समिति बनाउने मात्रै गरिन्थ्यो । २०४९ सालमा लुम्बिनी पत्रकार संघको विधिवत रुपमा प्रथम अधिवेशन भएको उनले सम्झिए । प्रथम अधिवेशनले चापागाईंलाई अध्यक्ष बनाएको थियो । डिआर घिमिरे सचिव भएका थिए । योभन्दा अघिल्लो पुस्ता उनै बालकृष्ण चापागाई, विनोद पाहडी लगायत रहेको बताईन्छ ।

त्यस समयमा रुपन्देहीबाट नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष तथा पश्चिमाञ्चल संयोजक कर्णबहादुर कार्की भए । प्रत्यक्ष निर्वाचनमा केन्द्रिय सदस्यमा पश्चिमाञ्चलबाट सबैभन्दा बढी मत ल्याएर मोहन चापागाई पश्चिमाञ्चल संयोजक भए । त्यस्तै जिल्लाको नेतृत्व हुँदै केन्द्रिय सदस्यसम्म पुग्नेहरुमा मेघराज शर्मा, हरि लम्साल र विनोद पहाडी पनि हुन् । त्यस्तै संघीय संरचनापछि लुम्बिनी प्रदेशको उपाध्यक्ष हुने भरत केसीले इतिहास रचे भने पछिल्लो पटक प्रत्यक्ष निर्वाचनबाट प्रदेशको महासचिव पदमा विजयी भएर अहिलेको पिढीका जल्दाबल्दा पत्रकार बिक्रम खड्काले नेतृत्वमा बाजी मारे । कार्य क्षेत्र रुपन्देही भएपनि उनी गुल्मीका हुन् ।

पत्रकारदेखि डाक्टरको उपाधिसम्म
बुटवल देखि पत्रकारिता गरेका मोदनाथ पश्रित राजनीतिमा लागेर शिक्षा मन्त्रीसम्म भए । अरु पनि त्यस्ता पदमा पुग्नेहरु होलान् । पत्रकार महासंघ रुपन्देहीको पुर्व अध्यक्ष रहेका विनोद पहाडी संविधान सभा सदस्यसम्म भए । उनका दौतरी पात्र ठानिने बालकृष्ण चापागाईले भने अध्ययन गर्नमा र सञ्चार उद्यमी बन्नमा बढि जोड दिए ।

अहिले ५८ वर्ष उमेरमा पाईला टेकेका चपागाईंले बौद्य दर्शन र सञ्चार विषयमा लुम्बिनी बौद्य विश्व विद्यालयबाट २०७७ फागुन १९ गते विद्यावारिधी (पिएडी) को उपाधी प्राप्त गरे । हिजो नामका पछाडी पत्रकार हुन्थ्यो भने अहिले डाक्टर थपिएको छ । चापागाइले नेपाली विषय र आम सञ्चार तथा पत्रकारितामा मास्टर डिग्री गरेका छन् । कानुनमा पनि एलएलबी गरेर अधिवक्ता समेत बनेका छन् । उनले ‘नेपालको पत्रकारितामा लुम्बिनीको भुमिका’ विषयमा थेसिस लेखेर एमए गरेका हुन् ।

त्यस मार्फत हाल दैनिक पत्र राष्ट्रिय दैनिक, त्यसको सह–प्रकाशन जनसंघर्ष साप्ताहिक र स्वाधिन मासिक पत्रिकार र दैनिक पत्र अनलाईनका प्रकाशक तथा प्रधान सम्पादक भएर काम गरिरहेका छन् ।

हालसम्म रुपन्देहीको नेतृत्व सम्हाल्नेहरु:


पत्रकार महासंघ रुपन्देहीका प्रथम अध्यक्ष बालकृष्ण चापागाईं हुन् । उनले विं.सं.२०४१ देखि २०५१ सम्म नेतृत्व गरेको संघका वर्तमान सचिव विनोद परियारले बताए । उनका अनुसार चापागाईंले अर्को कार्यकाल २०५१ देखि २०५३ सालसम्म नेतृत्व गरे । चापागाईं पछि वि.सं.२०५३ देखि २०५५ सम्म विनोद पहाडीले नेतृत्व गरे । उनले पनि अर्को कार्यकाल २०५५ सालदेखि २०५८ सम्म नेतृत्व गरे । हरि लम्साल २०५८ सालदेखि २०६१ सालसम्म अध्यक्ष भए ।

डि.आर घिमिरे २०६१ सालदेखि २०६४ सालसम्म अध्यक्षको जिम्मेवारी सम्हाले । मोहन चापागाई २०६४ सालदेखि २०६७ साल सम्म अध्यक्ष भए । दीपक ज्ञवाली २०६८ सालदेखि २०७० सालसम्म अध्यक्ष रहे । शेरबहादुर केसी २०७० सालदेखि २०७३ सालसम्म अध्यक्ष थिए । यानेन्द्र जिसी २०७३ सालमा रुपन्देही पत्रकार महासंघको अध्यक्ष बने । उनी निवर्तमान अध्यक्ष हुन् । २०७७ साल चैत्र २५ गते पहिलो पटक केन्द्र प्रदेश र जिल्लाको नेतृत्व एकै साथ जिल्लाबाटै छान्ने ऐतिहासिक अधिवेशनबाट रामराज पोखरेल बर्तमान अध्यक्ष भए ।

उनको नेतृत्वमा उपाध्यक्षद्वयः विश्वास ढकाल, अमृता अनमोल पाण्डे, सचिव बिनोद परियार, सह-सचिवद्वयः बिरेन्द्र कुँवर र माया केसी र कोषाध्यक्ष सञ्जय विश्वकर्मा सौगात लगायत २० सदस्यीय कार्य समिति रहेको पत्रकार महासंघ रुपन्देहीका कार्यालय सचिव बिशाल पाण्डेले बताए । पत्रकार मोहन चापागाईका अनुसार बालकृष्ण चापागाईसंगै डिआर घिमिरे, विनोद पाहाडी, खिमानन्द भट्टराई, सुमन अधिकारी, शेरबहादुर केसी, भरत केसी, दिपक ज्ञवाली, गिरी श्रीस, माधव नेपाल, रुपन्देहीको पत्रकारिताको इतिहास र साक्षीहरु, यानेन्द्र जिसी, तिलक महत नयाँ पिढीका लागि अघिल्लो पुस्ता हुन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार