Mar 23, 2023
बुटवल । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने कारबाही बदरको माग राख्दै जनता समाजवादी पार्टीका नेताहरुले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।
जसपाका नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले रिट दायर गरेका हुन् । पाण्डेय हाल लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्री, यादव भूमि व्यवस्था मन्त्री, कल्पना पाण्डे उद्योग, वन तथा वातावरण मन्त्री र रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।
रिटमा लुम्बिनी प्रदेशसभाका सभामुख, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सहसराम यादवलाई विपक्षी बनाइएको छ ।
आफूहरुमाथि गरिएको कारबाही उत्प्रेषणको आदेशमार्फत बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।
प्रतिकृया दिनुहोस्