काठमाण्डौं । नेपाली कांग्रेसले १४ महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न आज बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनुअघि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच करिब दुई घण्टा छलफल भएको थियो ।
छलफलपछि तयारी नपुगको भन्दै सोमबार दिउँसो ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए । कांग्रेसको आगामी भदौमा हुने महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्न बैठक डाकिएको जनाइएको छ । पार्टी संस्थापन पक्षले कार्यतालिका हेरफेर गर्न चाहे पनि अर्को पक्षले पुरानै कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम अघि बढाउनुपर्ने अडान लिँदै आएको छ ।
त्यसैगरी आज सोमबारनै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
प्रतिक्रिया