ताजा अपडेट »

नेपालमा नौ लाख बेरोजगार

शनिबार, १४ बैशाख २०७६, १० : ५२
12 Shares

वैशाख १४,

काठमाडौँ । उपलब्ध श्रम शक्तिमध्ये देशभर नौ लाख जना बेरोजगार रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागले शुक्रबार सार्वजनिक गरेको तेस्रोे नेपाल श्रम शक्ति सर्वेक्षणअनुसार करिब ८० लाख श्रम शक्तिमध्ये उक्त सङ्ख्या बराबर बेरोजगार रहेको उल्लेख गरेको छ । २०७४ असारदेखि २०७५ जेठसम्म गरिएको सर्वेक्षणमा यसअघि जस्तै १५ वर्ष वा सोभन्दा बढी उमेर समूह वा काम गर्ने उमेर समूहका करिब १८ हजार घरपरिवारमा सर्वेक्षण गरिएको विभागले जानकारी दिएको छ ।


सर्वेक्षण अवधिभर कम्तीमा एक घण्टा तलब अथवा ज्याला पाउने गरी काम गरेका वा नाफा नोक्सान आफैँ बेहोर्ने गरी व्यवसायमा संलग्न भएकोलाई रोजगार मानिएको छ । सर्वेक्षण अवधिभन्दा ३० दिनअघिसम्म ज्याला पाउने काम खोजेका र त्यस्तो काम गर्न उपलब्ध भएका व्यक्तिलाई बेरोजगार मानिएको छ । विभागका अनुसार नेपालमा १५ वर्षभन्दा बढी उमेर समूहको सङ्ख्या दुई करोड सात लाख ४४ हजार छ । त्यसमध्ये ७० लाख ८६ हजार रोजगारीमा छन् । रोजगारीमा रहेकामध्ये ४४ लाख ४६ हजार पुरुष छन् भने २६ लाख ४० हजार महिला छन् । बसोबासका आधारमा ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन् । रोजगारका आधारमा प्रदेशअनुसार सबैभन्दा बढी ४३.८ प्रतिशत र कम सुदूरपश्चिममा २४.१ प्रतिशत छ । 


कुल श्रम शक्तिको बेरोजगारमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन् । बेरोजगारमध्ये ६ लाख ४० हजार सहरी क्षेत्रमा बसोबास गर्छन् भने दुई लाख ६८ हजार ग्रामीण क्षेत्रमा रहेका छन् । सर्वेक्षण अवधिमा नेपालको बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ । त्यसमध्ये पुरुषको दर १०.३ प्रतिशत र महिलाको १३.१ प्रतिशत छ । सहरमा बेरोजगारी दर ११.६ प्रतिशत र गाउँमा १०.९ प्रतिशत छ । बेरोजगारका आधारमा प्रदेशअनुसार सबैभन्दा धेरै प्रदेश २ मा २०.१ प्रतिशत र कम प्रदेश ३ मा रहेको छ । 


कुल अर्थतन्त्रमध्ये औपचारिक रोजगारी १५.४ प्रतिशत रहेको छ भने अनौपचारिक रोजगारी ८४.६ प्रतिशत छ । यसरी रोजगारमा रहेका व्यक्तिको औसत मासिक कमाइ १७ हजार ८ सय ९ रुपियाँ छ । त्यसमध्ये पुरुषको १९ हजार ४६४ र महिलाको औसत मासिक आम्दानी १३ हजार ६ सय ३० रुपियाँ छ । औद्योगिक क्षेत्रका आधारमा सबैभन्दा धेरै कृषि, वन र माछापालन, थोक तथा खुद्रा बिक्री, मोटरगाडी तथा मोटरसाइकलको मर्मतसम्भार, उद्योग, निर्माण र शिक्षामा जस्ता क्षेत्रमा धेरै रोजगारीमा संलग्न रहेको पाइएको छ ।- गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।