ताजा अपडेट »

चिसोले पानी जम्दै

मंगलबार, ०७ पुस २०७७, १७ : १०

खलङ्गा । चिसो बढेसँगै जुम्लालगायत हिमाली जिल्लामा खानेपानी पाइप र खोला तथा तालमा पानी जमेको छ । पुस महिना शुरु भएसँगै ह्वात्तै बढेको चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

चिसोका कारण खानेपानी पाइपमा पानी जम्न थालेको जुम्लाको चन्दननाथ नगरपालिका–४ का युवराज न्यौपानेले बताए । उनले भने, “खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।” अत्यधिक चिसोका कारण पानी जमेर धारामा आउन छाडेपछि खानेपानीको समस्या हुन थालेको उनको भनाइ छ ।

यसैगरी जिल्लाको तापक्रम घट्दै गएपछि यहाँका दर्जनौँ तालमा पनि पानी जमेको छ । अत्यधिक चिसो बढेपछि नदी नजीकैका ताल र हिमाल नजीकका तालको पानी जमेका छन् । यहाँको तातोपानी गाउँपालिका–४ स्थित गिढीदह तालको पानी जमेको स्थानीयावासी प्रेमराज पाण्डेले बताए । उनले भने “गिढीदह, शङ्करदह, काटा दहलगायत तालमा पानी जमेको छ ।”

जिल्लाको तापक्रम साँझबिहान माइनस ७/८ डिग्री सेल्सियसमा झर्न थालेको छ । दिउँसो घाम लागेको अवस्थामा माइनस ६ डिग्री सेल्सियस हुन्छ । रातको समय भने माइनस १३ डिग्री सेल्सियससम्म तापक्रम पुग्न थालेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

खेतीयोग्य जमीनमा सिँचाइ अभाव

तिला गाउँपालिका–१ स्थित दहचौर सिँचाइ सुविधाबाट वञ्चित भएपछि खेतीयोग्य जमीन अकाशको पानीको भरमा रहेको छ । सो जमीनलाई सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमीन अनुत्पादक जमीनका रुपमा परिणत भएको वडाध्यक्ष परबहादुर रावतले बताए । तिला नदीबाट पानी ल्याउनुको कुनै विकल्प नरहेको स्थानीयवासी नौसेर रावतले बताए । धान, मकै, गहुँ खेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकै र कोदो खेती मात्र गर्दै आएको स्थानीयवासी काली बुढाको भनाइ छ । उनले भने, “झण्डै एक हजार २०० रोपनी जमीनमा अहिले सिँचाइको पहुँच छैन ।”

सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ । गाउँमा एक दिन खानेपानीको समस्या भएपछि तिला नदीको दूषित पानी बोकेर खानुपरेको यहाँका स्थानीयवासी बताउँछन् ।

रासस
लेखकको बारेमा
रासस