ताजा अपडेट »

पुरुषहरु पनि पीडित छन्

शनिबार, २७ मंसिर २०७७, १७ : ४५
68 Shares

यो नसोच्नु होला पुरुष भएको कारण पुरुषको ओकालत गरी महिलालाई गिरायो । केही यथार्थपरक घटनालाई जोडेर केही लेख्न खोजेको छु । सबै महिला दिदि-बहिनि, आमाहरुप्रति मेरो उच्च सम्मान छ, सधै अनवरत रुपमा रहि रहनेछ ।

समाजमा महिला पिडित पुरूषको जमात ठूलो हुँदै गउको छ । दिनहुँजसो घट्ने यस्ता घटना बाहिर नआएका मात्र हुन् । जति महिला पिडित छन्, सोही अनुपातमा पुरूष पनि पिडित भएको देखिन्छ, समाजमा घटिरहेको बिभिन्न घटनाक्रमहरूलाई गहिराइबाट नियाल्ने हो भने । महिलाबाट पिडित पुरूषको संख्या झन्-झन् बढ्दै गएको छ । यसको अर्थ हाइन कि पुरूषबाट महिला पिडित छैनन् । जति महिला पिडित भएका घटनाहरुको बिरोध र महिलाको न्याय, हक-अधिकारका आवाज उठाइन्छ, आन्दोलन गरिन्छ त्यहीँ अनुपातमा पुरूष पिडित भएका घटनाहरुको न्याय र अधिकारका लागि आवाज उठेको कतै देखिँदैन । केही अपवादहरू बाहेक ।

समाज परिवर्तन हुँदै गएको छ । हामी पनि साच्चै आधुनिक बन्दै गएका छौं । अझ यो २१ औ शताब्दीमा हामी भन्छौं के महिला के पुरुष सबै बराबर । अहिलेको समयमा जो पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्दै गएका छन् । गर्न सक्छन् भन्ने प्रमाणित गरेका छन्, यदि महिलाले अवसर पाएको खण्डमा । समाजमा पनि धेरै हदसम्म त महिलाहरूलाई अवसर र अधिकार दिएकै छ । कहीँ कतै कमजोरी पक्षहरू त पक्कै पनि छन, नहोलान् भन्न सकिदैन । क्रमशः ति सुधार हुने क्रममा छन् । सदियौदेखि सुन्दै आएको त्यही एउटै कुरा हो पुरूष प्रदान हाम्रो समाज । तर जुन रूपमा पुरूष प्रदान समाज भन्दै आएका छौं त्यसलाई पूरा-पूरा सही हो भन्न नसक्ने स्थितीमा हाम्रो समाज साच्चै पुगिसकेको छ । आजको समयमा महिलाहरूलाई पनि उत्तिकै अवसर दिएको नैं छ । पुर्ण रुपमा नहोला, महिलालाई शिक्षा लगायत हरेक क्षेत्रमा अवसर दिएको नैं पाईन्छ । केही अपवाद होलान् ।

महिला पुरुष बराबर हो एउटै रथका दुई पाङ्ग्रा हुन् । महिला–पुरुष एक आपसका परिपूरक हुन भन्ने कुरा हाम्रो शिक्षित बन्दै गएको समाजले स्विकार्दै आएको पनि छ । फरक यो छ कि महिला पिडित हुँदा बिभिन्न किसिमका महिला अधिकार कर्मीहरूको आवाज चर्को रूपमा आउँछ । महिला सम्बन्धित बिभिन्न संघ संस्था लागि परेका हुन्छन् पिडित महिलाहरुको न्याय अधिकार सुनिश्चित गर्नको लागि । तर पुरुष पिडित हुँदा भने खासै आवाज उठेको देखिदैन, न महिला अधिकार कर्मी र त्यस सम्बन्धी काम गर्ने संघसंस्थाहरूले आवाज उठाउँछन् ।

नत आजसम्म कुनै पुरुषअधिकार कर्मीहरु पुरूष पिडितहरुको आवाज सुनिदिने कुनै संघसंस्था नै छन् । नत सुन्नमा आएको छ । पिडित पुरूषहरूको आवाज कस्ले सुनिदिने र तिनिहरूको बारेमा ओकालत कस्ले गरिदिने साच्चै जटिल समस्याको विषय बन्दै गएको छ । यतातिर ध्यानाकर्षण खासै कसैको पनि छैन । पुरूष पनि कैयौं अवस्थामा पिडित भएका छन् । महिलाहरुबाट धेरै अप्ठ्यारोमा परेका छन् ।

पछिल्लो समय समाज मा बढ्दै गएका जुनसुकै अपराधी गतिविधि होस महिला पुरुषको संलग्नता बराबर जस्तै भएको देखिन्छ । बिगत केही वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने महिलाबाट पिडित पुरूष धेरै वैदेशिक रोजगारीमा गएका युवाहरु भएको देखिन्छ । तपाईं हाम्रो समाजमा छरपस्ट रूपमा देख्न पाउनु भएको छ होला ।

वैदेशिक रोजगारले निम्त्याएको कारूणिक अवस्थाले कत्तिको बिचल्ली बनाएको छ । विरानो मुलुकमा परिवारको खुशी र उज्वल भविष्यका लागि भोक, शोक, माया, ममता र आफ्नोपनलाई पैतालामा च्यापेर दिनरात रात काम गर्दै, पसिनालाई पैसामा साटेर नेपालमा पैसा पठाउँछन् । त्यही पैसाको दुरुपयोग गरी घरपरिवार र छोरा छोरी सबैको बिचल्ली पारेर हिड्ने, महिलाको संख्या दिनानुदिन बढ्दै गएको छ । यस्ता महिलाबाट पिडित हुने पुरुषको आवाज कस्ले सुनिदिने ?

‘यसमा पूर्ण रूपमा महिला मात्र दोषी छन् भन्न खोजेको होइन, पुरुष पनि दोषी छन् यस्तो मामिलामा धेरै दोषी महिला भएको देखिन्छ । तर यो विषयमा महिलाले त जेन तेन न्याय पाएकै हुन्छन् । धेरै पुरूषहरू घर न घाटको स्थितिमा पुगेका हुन्छन् ।’ सबै पुरूष सही छन् सहि हुन् भनेको पक्कै होइन । पुरुषको न्याय अधिकारका लागि आवाज उठाउदै आन्दोलन गरेर सरकारलाई दबाब दिएको कतै पनि देख्न पाईदैन, जति महिलाका लागि आवाज उठाईन्छ । पुरूष पिडित भएका धेरै घटनाहरू छन् तर ति सबै छायाँमा छन् भयौं या अझ लुकेका छन् । बाहिर खासै आउदैन, न हाम्रो समाजले नै खासै पत्याउँछ ।

महिला पुरुष बराबर हुन अधिकार पनि बराबर दिनु पर्छ । पिडितलाई न्याय पनि बराबर दिनु पर्छ । यो होइन कि पुरूषले सानो गल्ती गरे जेलमा कोच्न सक्ने वातावरण सिर्जना गर्ने । महिलाले पुरूष माथि गरेको ज्याजति सहेर बस्न बाध्य छन कैयौं पुरुषहरु । कति ठाउँमा त महिला हो भनेर छुट दिएको अवस्था पनि छ । पछिल्लो समय केही गलत प्रवृत्तिका महिलाबाट धेरै पुरूष बर्बाद भएका छन् । कानुनी रुपमा उपचार नपाएको अवस्था छ । महिला पिडित हुँदा सबैको सहानुभुती र साथ समर्थन पाउछन् तर त्यहीँ पुरूष पिडित हुँदा त्यति साथ समर्थन पाउँदैन । अझ यो भनिन्छ, तिमी त पुरूष हो नि यस्ता साना तिना झिना मसिना कुराहरु पनि गर्ने हो ? पिडित पुरूषको आवाज नसुनिदिएको कैयौं घटनाले देखाएका छन् ।

महिला शब्द नै कोमल छ त्यसैले सबैको मन पनि छिट्टै छुन्छ, र तिनीहरू पिडामा परेको देख्दा आवाज पनी छिट्टै उठ्छ । पुरुष शब्द सुन्दा नै कठोर सुनिन्छ, झ्याप्प कसैको मन छुदैन । त्यसैको कारण उनीहरुको पिडामा पनि खासै आवाज उठ्दैन फरक यत्तिनै हो । महिला पुरुष जो पनि पिडित र पिडक हुन सक्छन् त्यसैले कसैलाई काखा कसैलाई पाखा नबनाइयोस् भन्ने हो । यहाँ कसैलाई आरोप प्रत्यारोप लगाउन खोजेको छैन । समाजमा धेरै घटना घटिरहेका हुन्छन्, महिला पुरुष दुवै तर्फबाट ।

भावनात्मक संवेगका आधारमा दण्ड नगरियोस् महिला अप्ठ्यारोमा पर्दा आवाज उठाउने महिला पुरुषहरू, पुरूष अप्ठ्यारोमा पर्दा पनि त्यति नै दरिलो रूपमा आवाज उठ्न् पर्छ । के महिला के पुरुष सबै बराबर हरेक तबरबाट यसलाई मनन् गर्नु पर्छ । अवसरमा मात्र महिला पुरुष बराबर होइन की हरेक क्षेत्रमा महिला र पुरुषको अस्तित्व बराबर होस् । बन्दै गरेको यो हाम्रो सु–शिक्षित समाजमा परिवर्तनको नयाँ आधार स्तम्भमा महिला पुरुष बराबर होस् । सबै लाई मेरो उच्च सम्मान् । जय देश ।

https://www.globalaawaj.com/archives/63700
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।