ताजा अपडेट »

आमाको सम्झनामा पौरखीको कथा समेटेर क्यालेण्डर

मंगलबार, १० बैशाख २०७६, १० : ११
18 Shares
मंगलबार, १० बैशाख २०७६
18 Shares

वैशाख १०,
ग्लोबल आवाज
बुटवल । नयाँ वर्षको पूूर्वसन्ध्यादेखि नै विभिन्न संघ–संस्थाहरुले आफ्नो प्रचारात्मक क्यालेण्डर प्रकाशन गरेका छन् । अहिलेपनि अधिकांश छापा खानामा क्यालेण्डर छाप्ने क्रममा छन् । यो क्रम करिब असारसम्म नै पुग्छ । यी मध्ये केही संस्थाले आफ्नो लगानीमा आफ्ना जानकारी तथा सूचनामूलक र विज्ञापनमुखी तस्विर राखेर प्रचारात्मक सामग्री सहितको क्यालेण्डर सार्वजनिक गर्छन् ।

त्यस्तै केही संस्थाले अरुका विज्ञापन सामग्री राखेर कमाउने उद्देश्यले क्यालेण्डर सार्वजनिक गर्छन् । तर, बुटवलका एक दम्पत्ति र उनका परिवारले भने आफ्नो लगानीमा श्रमजिविहरुको तस्विर र कथा समेटेर क्यालेण्डर सार्वजनिक गरेका छन् । राजनीतिक पृष्ठभूूमिबाट परिचित सरिता श्रीष र उनका श्रीमान राजुु पुनले पौरख शिर्षकमा (भित्तेपात्रो)क्यालेण्डर प्रकाशन गरेका हुन् ।

समाजसेवी दम्पतिको रुपमा परिचित उनका ससुुरा खेम पुन र सासुु ओमी पुुनको विशेष सहयोगमा विभिन्न क्षेत्रका ५ जना श्रमजिवि पौरखीहरुको फोटो कथा समेटेर क्यालेण्डर प्रकाशन गरिएको हो । उक्त क्यालेण्डरको सोमबार एक समारोहबीच पौरखी द्वय रामनारायण ठाकुर र प्रभादेवी क्षेत्री र पुन परिवार लगाएत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुद्वारा संयुक्त रुपमा विमोचन गरिएको हो ।

सो अवसरमा बोल्दै स्वः आमा पूर्ण श्रीषको सम्झना र सम्मानमा क्यालेण्डर प्रकाशन गरेको सरिता श्रीषले बताइन् । उनले श्रमको सम्मान र अरुलाई पनि प्रेरित हुने उद्देश्यले पौरखीहरुको पौरखलाई समेटर क्यालेण्डर प्रकाशन गरेको बताइन् । समारोहमा उनका ससुरा तथा चर्चित समाजसेवी खेम पुनले बुहारी र छोराको प्रयासमा आफूले सहयोग गरेको बताउँदै आफू समाजसेवाको लागि सधैं तयार रहेको बताए । उनले आफूले आय गरेको केही अंश समाज सेवामा लगानी गर्ने उद्देश्यले वि.सं.२०७० मा खेम ओमी फाउण्डेशनको स्थापना गरी निरन्तर कोषमा रकम जम्मा गर्दै सहयोग पनि गर्दै आएको बताए ।


‘कमाएर मात्र के गर्नु आफूले कमाएकोबाट केही सेवमा लगाउने उद्देश्यले आफूूले अध्ययन गरेको विद्यालयबाट सहयोग सुरु गरेको हु । त्यसपछि बुवाको र हजुर आमाको सम्झनामा सहयोग गरे । पछि रु.१७ लाखमा कोष स्थापना गरेर विभिन्न आवश्यक व्यक्ति तथा विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं । हामीले सहयोग गरेका ४ विद्यार्थी डाक्टर भएका छन् । अहिलेपनि केही डाक्टर र इन्जिनियर पढ्ने विद्यार्थीहरुलाई निरन्तर उनीहरुलाई आवश्यक पर्ने रकम सहयोग गरिरहेका छौं ।’उनले भने । विमोचन समारोहमा राजनीतिज्ञ पुरुषोत्तम घिमिरे,सिद्धिचरण भट्टराई ,राजु गुरुङ लगाएतले पौरख र पौरखीको कथालाई समेटेर क्यालेण्डर प्रकाशन गर्नु अनुकरणीय र प्रेरणादायी हुने बताउँदै सराहनिय कदम रहेको बताए।

६ पृष्ठको क्यालेण्डरमा बुटवल ट्राफिक चोकमा औषधी लगाएतका सामानहरु लोड–अनलोड गर्ने ४० वर्षीय पदम भट्टचन,सियारी गाउँपालिकामा सिलाई सम्बन्धी व्यवसाय गर्ने ५२ वर्षिया प्रभादेवी क्षेत्री,२९ वर्षदेखि बुटवलको सडक छेउमा जुुत्ता सिलाउँदै आएका ६० वर्षिय प्रेमी राम्ले,बुटवलमै मकै पोल्दै आएकी ५५ वर्षिया टुककुमारी श्रेष्ठ र सैनामैनामा नाइको पेशा (कपाल काट्ने) गर्दै आएका रामनारायण ठाकुरको तस्विर र पौरखको कथा समेटिएको छ ।

तस्विरका संयोजन श्रीनगर मिडिया बुटवलले गरेको छ भने प्रकाशनमा फोटो पत्रकार मनिष पन्थ,कमला तिवारी र दिया तिवारीको सहयोग रहेको छ । चिया चौतारी क्याफे बुटवलमा भएको विमोचन समारोहको सञ्चालन सञ्चारकर्मी इन्दिरा अर्यालले गरेकी थिइन् ।



ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।