ताजा अपडेट »

'कोभिड–१९ को खोप पत्ता नलागेसम्म लकडाउन खुला गर्न हुँदैन'

विहीबार, २७ चैत्र २०७६, १० : २९
6 Shares

काठमाडौ । लकडाउनलाई अन्त्य गर्दै आफ्ना जनतालाई पुनः काममा फर्काउन चाहिरहेका देशहरुले कोडिभ–१९ विरुद्ध खोप पत्ता नलागेसम्म नयाँ संक्रमणलाई नजिकबाट नियाल्नुपर्ने र त्यहीअनुसारले नियन्त्रण कायम राख्नुपर्ने चिनियाँ अनुभवमा आधारित अध्ययनले देखाएको छ ।

चीनमा दैनिक जीवनमा गरिएको आक्रामक नियन्त्रणले कोभिड–१९ को पहिलो लहरलाई अन्त्य गरेको हङकङमा रहेका अध्ययनकर्ताहरुले बताएका छन् । तर, दोस्रो लहरको खतरा अझै रहेको उनीहरुको भनाइ छ । ‘नियन्त्रणका उपायहरुले संक्रमितको संख्यालाई न्यूनमा झार्न सफल भएको छ तर कोभिड–१९ बिरुद्ध सामुहिक इम्युनिटी (रोग प्रतिरोधात्मक शक्ति) बिना व्यवसाय, उद्योग र विद्यालयहरु खुलेर सामाजिक घुलमिल बढ्दा संक्रमितको संख्या पुनः बढ्न सक्छ । विश्वभर महामारी फैलिरहँदा बाहिरबाट देशमा कोरोनासंक्रमित भित्र्ने खतरा उत्तिकै हुन्छ,’ अध्ययनमा संलग्न हङकङ विश्वविद्यालयका प्राध्यापक जोसेफ टी वू भन्छन् ।

चीनले एक कोभिड–१९ संक्रमित व्यक्तिले अर्को व्यक्तिलाई संक्रमित गर्ने दरलाई दुई वा तीनबाट एकभन्दा कममा झार्न सफल भएको छ । त्यही भएर त्यहाँ महामारी घट्दो क्रममा छ ।तर, दैनिक जीवनलाई चाँडै सामान्य रुपमा अघि बढ्न दिए र नियन्त्रणका उपायहरुलाई एकैपटक हटाउने हो भने यो संक्रमणको दर पुनः बढ्न सक्ने अध्ययनकर्ताहरुको चेतावनी छ । ‘के भइरहेको छ’ भन्ने कुरालाई सरकारले नजिकबाट नियाल्नु पर्ने उनीहरुको भनाइ छ । ‘सामाजिक दुरी र व्यवहार परिवर्तन जस्ता नियन्त्रणका नीतिहरु केही समय अझै लागू गनुपर्छ भने खोप पत्ता नलागेसम्म आर्थिक गतिविधिलाई पुनः सञ्चालन गर्ने र संक्रमणको दरलाई एकभन्दा कममा राख्नेबीचको सन्तुलनलाई पनि कायम गर्नु नै अहिले सबैभन्दा उत्तम रणनीति हुनसक्छ,’ वूले भने ।

ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित उक्त रिपोर्टलाई चीनमा फैलिएको महामारीमा आधारित गरिएको छ । उक्त रिपोर्टका अनुसार चीनमा कोरोनाभाइरस संक्रमितको मृत्यु दर १ प्रतिशतभन्दा कम रहेको थियो भने महामारीको केन्द्रविन्दु बनेको हुबेईमा यो दर ६ प्रतिशत थियो । हरेक प्रान्तको आर्थिक अवस्था र स्वास्थ्य सेवाको आधारमा यो दर फरक फरक पाइएको थियो । ‘बेइजिङ र सांघाईजस्ता समृद्ध र स्रोतसाधनले सम्पन्न मेगा सहरहरु, जहाँ स्वास्थ्य सेवा पर्याप्त छ, सेवाको माग ह्वात्तै बढे उनीहरुले पनि संघर्ष गर्नुपर्नेछ,’ हङकङ विश्वविद्यालयका प्राध्यापक ग्याब्रियल एम लेउङ भन्छन् ।

मध्य जनवरीदेखि फेब्रुअरी २९ सम्म चार सहर बेइजिङ, सांघाई, सेनजेन र वेनझाउ र हुबेईबाहिर सबैभन्दा बढी संक्रमित रहेका १० प्रान्तहरुमा स्वास्थ्य आयोगले जारी गरेको कोभिड १९ संक्रमितहरुको तथ्यांकको आधारमा उक्त रिपोर्ट तयार गरिएको हो । अध्ययनले नियन्त्रणका उपायहरु बिस्तारै मात्र हटाउनुपर्ने निष्कर्ष निकालेको छ । संक्रमितको संख्यालाई पुनः बढ्न दिने हो भने यसले स्वास्थ्य र अर्थतन्त्रमा झन् ठूलो क्षति पुर्याउने र संक्रमितको संख्यालाई कम गर्न झन् कडा उपायहरु अपाउनुपर्ने हुनसक्ने अध्ययनमा भनिएको छ ।

केही समयका लागि सामाजिक दुरी, व्यवहारमा परिवर्तन, जनचेतना लगायतका उपायहरु जारी राखिए पनि खोप उपलब्ध नभएसम्म आर्थिक गतिविधि खुला गर्ने र नयाँ संक्रमण बढ्न नदिन आवश्यक नियन्त्रणलाई कायम राख्ने बीचको सन्तुलन मिलाउनु नै उत्तम रणनीति हुने अध्ययनको निष्कर्ष रहेको छ ।   

स्रोत : द गार्जियन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।