ताजा अपडेट »

महामारी र हाम्रो एकता

सोमबार, २४ चैत्र २०७६, १५ : ०४
14 Shares

डिसेम्बर-२०१९ मा चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) का कारण आज विश्व नै आक्रान्त छ । यस महामारीबाट संसारका कुनै देश र भूूगोलका मानिसहरु अछुतो रहन सकेका छैनन् । यस रोगबाट २०८ देश तथा भूभागहरुका १२लाख ७३ हजार ७०९ जना बिरामी साथै ६९ हजार ४५६ मानिसको असामयिक निधन भइसकेको छ । (स्रोतःविश्व स्वा.सं. २०७६.१२.२४, विहान ९ः००) दोश्रो विश्व युद्ध पछि विश्वले एक अकल्पनीय अवस्थाको सामना गर्नु परेको छ । विश्व अर्थतन्त्र तहस–नहस भएको छ।

विश्वभरका मेडिकल साइन्स विधाका वैज्ञानिकहरु रोगको निदानका उपाय, औषधीका बारेमा चौविसै घण्टा अनुसन्धान गरिरहेका छन् । तथापि कोभिड–१९ को कुनै औषधि वा खोप पत्ता लगाउन सकेको छैन । अहिलेको उपचार पद्धति पूरै समुद्रमा ढुङ्गा फाले सरह कै छ । जसका कारण यो संक्रमण दिनानुदिन नियन्त्रण बाहिर गइरहेको छ । आजको दिनसम्म कसैले पनि यो रोगले विश्वमा सिर्जना गर्न सक्ने थप संकटका बारेमा आंकलन गर्न सकेका छैनन् । आशा गरौँ छिट्टै विश्वमानवको एक बुुटीका रुपमा औषधि वा खोप आशाको दियोको रुपमा पत्ता लाग्नेछ र महामारी नियन्त्रण हुनेछ ।

यस्तो महामारी उन्मुख अवस्थामा हामी नागरिकका हिसाबले कस्तो कर्तब्य बहन गर्ने त? पहिलो कुरो हामीले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य सम्बन्धी विज्ञहरुले जारी गरेको स्वास्थ्य सम्बन्धी निर्देशन पालना गर्नु अनिवार्य छ। नेपालसरकारले हाम्रो स्वास्थ्यको रक्षाका लागि देशनै बन्दगर्ने कार्य गरेको छ । लकडाउन सरकारको इच्छा हैन, बाध्यता हो । जनताको स्वास्थ्यको रक्षाको लागि चालिएको एक महान कदम हो । हामीलाई भष्म हुनबाट रोक्ने एक मात्र उपाए हो । लकडाउनलाई अनर्थ रुपमा लिइनु हुँदैन।

यसै सन्दर्भमा विशेषगरी भारतबाट आएर विभिन्न सिमा नाकामा अल्झेर बसेका नेपालीहरुका संवैधानिक/मानव अधिकारका विषयमा प्रश्नपनि उठेका छन् । उनीहरुलाई नेपाल भित्रन दिइनु पर्छ भनेर विभिन्न सोसल मिडियाहरुमा विचारहरु आएका छन् । तथापि भावना र महामारी एक अर्काका परिपूरक हैनन् । सामान्यतःहामी सबैलाई लाग्छ कि उनीहरु तुरुन्त आफ्नो देश भित्रन पाउन् । तर,अर्को सम्भावित महामारीका बारेमा पनि हामी नजर अन्दाज गर्न चुक्नु हुँदैन । अहिले सामान्य अवस्था हैन । यो एक पृथक र जटिल अवस्था हो । उनीहरुलाई सिमा नाकाहरुमा रोक्नु केवल सरकारको चाहना हैन । यो त विश्व स्वास्थ्य संगठन र स्वास्थ्यसँग सम्बन्धित विज्ञहरुको सुझाव हो । त्यसैले अझ केही दिन हामीले कहर सहेर पनि उनीहरुलाई उतै रहन आग्रह गर्नुपर्छ ।

एउटा हेर्नै पर्ने कुरा के हो भने, उनीहरु नाकाहरुमा खान र सुरक्षित तवरले बस्न पाएका छन कि छैनन्?अहिलेको जटिल अवस्थामा उनीहरु झन् खतरामा परेका छन् कि सुरक्षित छन् ?उनीहरुलाई मानवीय व्यवहार प्रस्तुत गरिएको छ कि छैन ? यस्ता मानव स्वास्थ्य सुरक्षाका बिषयमा गम्भिर ध्यानाकर्षण हुनु सवाभाविक हो । तर बिरोधका नाममा भावनामा डुबेर विरोधमा उत्रनु चाँही पक्कैपनि जायज हैन। यस बिषयमा पनि सत्ता र विपक्षीझैँ बाँडिएर विचारहरु आएका छन् । विचार आउनु एउटा कुरा हो तथापि अहिलेको अवस्थामा ठीक केहो भन्ने हेरिनुपर्छ । आइसकेकालाई देश भित्राउन थाल्न ेहो भने त्यसको म्यासेज भारतभर पुगी अरु थप लाखां बोर्डरसम्म हिडेरै भएपनि आउने अर्को सम्भावना जीवित छ।

महामारीले सत्ता र विपक्षी भन्दैन । यसले धनी/गरीब वा कुनै लिङ्ग वा बर्ग चिन्दैन । महामारीले मन्त्री वा शासन सत्तामा रहेकालाई असर नगर्ने कुरा पनि भएन । हामी यो ठानौँ कि सत्ताधारीहरु पनि सही नियतले महामारी नियन्त्रणकालागि लागि परेका होलान् । जनस्वास्थ्यमा घात पुग्ने गरी निर्णयहरु नगरेका होलान् । त्यस्तो केही बदनियतको गन्ध आएमा समय आउँछ उनीहरु कानूूनको फन्दामा पर्ने । उनीहरुका अग्नी परीक्षाका दिनहरु बल्ल शुरु भएका छन् । परीक्षामा पास हुने कि फेल भन्ने सत्ताधारीहरुको हातमा छ।

अनि यस्तो संकट उन्मुख बेलामा पनि कतिपय बुद्धिजिवी भनाउँदाहरुको खेति नै कडा स्ट्याटस लेख्ने र आँफू सबैको केन्द्र बन्ने देखिएको छ । अझ भनौं होड नै जस्तो पाइएको छ । यथार्थ भन्दा अलिक फरक वा यथार्थलाई बंङ्गाएर मात्र आफ्ना विचार बेच्नेले यो अवस्थामा स्वास्थ्य र देशलाई मन मुटुमा राखेर आफू प्रस्तुत हुनुपर्छ । प्रजातन्त्रिक शासन व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता छ , भन्दैमा अहिलेको जस्तो अवस्थामा संकटलाई असहयोग हुने वा सत्यबाट च्यूत पार्ने खालका विचारहरु स्वीकार्य हुँदैनन्।

अहिलेको अवस्थामा हामी सबैको दायित्व सरकारको प्रतिपक्ष भन्दा सकारात्मक आलोचकका रुपमार हनु उपयुक्त होला । केवल नकारात्मक पक्षपोषण र खण्डन भन्दासरकारको कामप्रति सचेत रहन खबरदारी गर्न सक्नुपर्छ । हामी नागरिकहरु सचेत भएर जिम्मेवारी बोध नगरेमा सरकारले एक्लै चाहेर यो महामारी विरुद्ध लड्न सक्दैन । सरकारमा रहेका प्रधानमन्त्री वा मन्त्रीहरुको राजनैतिक नैतिकता निरपेक्ष नभई सापेक्ष हुन्छ । सबै एउटै प्रवृत्तिका पनि हुँदैनन्। त्यसमा हाम्रो पनि जिम्मेवारी जोडिएको हुन्छ । सधै प्रधानमन्त्री वा मन्त्रीहरुलाई खराब भनेर मात्र समस्या समाधान हुने हैन । जनता सार्वभौम अधिकार प्राप्त छन् र सरकार गैरजिम्मेवार हुँदैगए दिन गन्तिपनिसँगै शुरु हुनेमा शंका छैन।

हामी नेपाली सिङ्गापुरका नेता लिक्वान यू जस्ता राजनेताको प्यासमा सयौँ वर्षदेखि आन्दोलित हुँदै जीवन उत्सर्ग गर्नु परेको छ । विशेषगरी –२०४६ साल पछिका कुनै पनि सरकारले जनताको अपेक्षा सम्बोधन गर्ने प्रयास गरेनन् । पटक–पटकप्रधानमन्त्री भएका र डडेल्धुराका जनताले चुनावमा सधैं विजय बनाएर पठाएका देउवाज्यूको जिल्लाको स्वास्थ्यको नाजुक अवस्था एक ज्वलन्त उदाहरण हो । स्पष्ट बहुमत भएको ओली नेतृत्वको सरकार पनि पटक–पटक भ्रष्टाचारका काण्डमा फसेका खबरहरु आएका छन् । अहिलेको नाजुक अवस्थामा समेत चिनबाट सामान ल्याउँदा भ्रष्टाचारको गन्ध आउनु भ्रष्टाचार मात्र नभएर एक अमानवीय कर्म समेत हो । जे होस् गल्ति गर्नेहरु कठ्घरामा आउनै पर्छ।

यस्तो अवस्थामा हामी जनताले सरकार वा जोकोहीको सही कामको प्रशंसा र खराबी भए त्यसलाई सुधार गर्नुपर्ने विकल्प सहित आफ्ना विचारहरु प्रस्तुत गर्न सक्नुपर्दछ । नेताहरु त स्वास्थ्य भाँडमा जा भनी सत्ताकालागि छिना झपटी गरीरहन्छन् । बेमौसमी सहमतीय सरकार, मध्यावधी चुनावसम्म भन्न भ्याइसके । त्यसमै हामी रोमलिनु भएन । सत्तापक्ष र विपक्षी दुवैलाई सचेत गर्दै ठीक ठाउँमा ल्याएर अहिलेको संकटसँग जुध्न जनाताको अहम् भूमिका हुन्छ ।

आज हामी आन्तरिक रुपमा हैनकि रोगसँग एकाकार भएर जुध्नु पर्दछ । एकातर्फ महामारीको चपेटामा पर्ने अर्कोतर्फ राष्ट्रिय एकतापनि कायम हुन नसक्ने हो भने त्यसले हामी कसैलाई भलो गर्दैन । महामारीसँगै विश्व शक्तिराष्ट्रहरु बीच शक्तिको होड शुरु भइसकेको छ । सहयोगको नाममा विदेशी सेना डाक्टरको भेषमा छिर्ने र हाम्रो स्वाधिनतालाई लुटने समेत खतरा भएकोले हामीबाट उच्च राजनीतिक चरित्र प्रदर्शन गर्दै हजारौँ वर्ष देखिको स्वाधिनताको रक्षा गर्नु जरुरी छ । अतःत्यस प्रकारका कुण्ठित विचारलाई परास्त पार्न हामी एकाकार हुनुको विकल्प छैन । इतिश्री !!!

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।