ताजा अपडेट »

माटोलाई माया गर्ने विद्यालक्ष्मी..

बुधबार, २६ असार २०८१, ०८ : २४
830 Shares
बुधबार, २६ असार २०८१
830 Shares

व्यापारी घरानाकी छोरी विद्यालक्ष्मी लाकौल । उनका बाबा चिनियाँलाल श्रेष्ठ । बटौली बजारका नामी व्यापारी । मट्टीतेल, चिनी, कपडा र घ्यूलगायतका सामानका खास्सा व्यापारी । दुई सन्तान मध्येकी एक्ली छोरी । बुटवल र तानसेन, पाल्पामा घरद्वार भएका धनीमानी । पढाईमा कुनै समस्या थिएन । लाउन, खान उस्तै भरिपूूर्ण । 

विद्यालक्ष्मीले तानसेनको जेभीटी (नामी स्कूल, जनता मावि)मा पढ्थिन् । १० पढ्दै गर्दा विरामी भएर बुटवल झरिन् । बुटवल मावि, बुटवलमा कक्षा १० दोहोर्याइन् । एसएलसीको सेन्टर तानसेन परेको कारण परीक्षा दिन उतै पुगिन् । उनले कक्षा १० मा फिजिक्स, कमेष्ट्री लिएकी थिइन् । तगडा विद्यार्थीमा गनिन्थिन् । दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण भइन् २०२४ सालमा । साथीहरुमध्ये दुईजना उत्तीर्ण हुन नसक्दा सहभागी १४ जना सबै दुखी भएका रहेछन् । 

बुटवल बहुमुखी क्याम्पसमा उनीहरु आइए पढ्दा पहिलो समूहका विद्यार्थी रहेको विद्यालक्ष्मीले सुनाइन् । त्यतिबेला क्याम्पस सञ्चालनका लागि विद्यार्थीले मासिक १५ रुपैयाँ तिर्नपर्ने कुरा उनले सुनाउँदै गर्दा उनका क्लासमेटमा बुटवल नपाका पूर्व उपप्रमुख विमल शाक्य, रवीन्द्रगोपाल लाकौल रहेछन् । विद्यालक्ष्मीका स्कूले साथीहरु योगमाया, इन्दिरा, भुवन(मृत्यु भइसकेको), किरण लगायत थिए । बाँचेकामध्येका कुन साथी कता छन् उनलाई खासै हेक्का छैन । आइएको परीक्षा सेन्टर त्यतिबेला काठमाडौं रहेको र त्यही पुगेर परीक्षा दिएको इतिहास सुनाउँदै गर्दा आफ्ना छोरातिरका दुई नातिनीहरु बुटवलका कलेजहरुमा पढ्दै गरेको सुनाइन् । 

विद्यालक्ष्मीले आइए पासपछि बुटवल नगरभित्र खुलेका कान्ति, कालिका, सरस्वती, उजिरसिह लगायतका विद्यालयमा घुम्ति शिक्षकका रुपमा करिव दुई वर्ष पढाइन् । त्यतिबेला उनको मासिक तलवमान एकसय ५० रुपैयाँ थियो । यो कुरा २०२७ देखि २०२८ सालको हो । विहेपछि तराईको गाउँमा खेतीकिसानी गरी जीवन गुजार्नुपर्ने अवस्था आइपरेपछि उनले हुँदाखाँदाको मास्टरी सेवा समेत छाडिन् । 

उमेरले ७६ वर्ष पुगिन् । जोश, जाँगर भने १६ वर्षीया युवतीकाजस्तै । अत्यन्तै टाठी । सुगरको सामान्य समस्या भएपनि अरु रोगले उनलाई जित्न सकेका छैनन् । बुटवल उपमहानगरपालिका वडा नं.१ का स्थायीवासिन्दा उनी आफ्नो टोल विकास संस्था र टोल विकास समन्वय समितिका अध्यक्ष समेत बनिसकेकी छिन् । समाज सेवा उनको रुचीको विषय भएपनि यतिबेला घरव्यवहारमै व्यस्त छिन् । साविक बुटवल नगरपालिका वडा नं.३, बुटवलको वडा सदस्य निर्वाचित भइ सेवा गर्न भ्याएकी थिइन् । त्यतिबेला भोजप्रसाद श्रेष्ठ, नगर प्रमुख रहेको सुनाउँदै थिइन् । 

bidhya lakaul

उनको आँखाले बटौलीलाई नजिकबाट नियालेको छ । त्यतिबेला बटौलीमा बटुलिने नौ जिल्लाका मान्छेहरुको जात्रा हेर्दा यतिबेला एकादेशका कथा लाग्छ रे उनलाई । पहाडका मान्छेहरु सुठो, घ्यू लिएर आउँथे अनि बटौलीका व्यापारीहरुले नून, मट्टितेल, कपडा, तमाखु र चिनी बेच्ने गर्थे रे । मैनटोलको उज्यालोमा रात्रिकालीन व्यापारको झल्को उनले सुनाइरहँदा मलाई भने फिल्म हेरेजस्तै भो ! 

विद्यालक्ष्मीको स्मरण शक्ति कति तीखो  । सम्झनाहरु पनि पुराना रीलवाला फिल्मजस्तै एकोहोरो घुमिरहे । उनको कुरा सुनिरहँदा मोबाइलको नोटप्याडमा लेख्नै छुट्ला भन्ने मलाई पिरलो ! त्यतिबेलाको ढाक्रेसंस्कृति र संस्कार अनि यताका व्यापारीका व्यवहार बारेमा समेत सुन्ने सुनौलो अवसर प्राप्त भयो । जुलेवीजस्तै मीठा कुरा आमैका । उनीसँग कुरा गर्दै एकघण्टा बितेको हेक्कै भएन । साँझको सात बजिसकेको कारण घर फर्किनै हतारो । 

जाडो याममा बटौली झर्ने र गर्मीमा तानसेन, पाल्पा जाने उनका परिवारले बटौलीमा व्यापार गरेर नाम र दाम कमाएको सुनाउँदै थिइन् । विद्यालक्ष्मीले आफ्नो पढाईलाई थप बढाउन नसकेको विहेमात्र कारण बनेन बरु बन्यो खेतीकिसानी गर्ने उनको परिस्थिति । त्यतिबेला जतिपनि सरकारी जागिर खान पाइने अवस्थालाई उनले खेतीपातीमा नै समय खर्चिन् । 

हुन त हाम्रो देशमा नेवार समुदाय खासखास सहरमा व्यापार, व्यवसाय गर्ने जातिभित्र पर्छ । तैपनि उनी र उनको परिवारभने माटोलाई माया गर्ने लाकौल परिवार पर्यो । माटोको सुगन्धमा हुर्किएरै होला निरोगी छिन् । माटोलाई अगाध माया गर्छिन् । यतिबेला उनी आफ्ना श्रीमान् रवीन्द्रगोपाल र छोरा निरजका परिवारसँगै जीवन गुजारी रहेकी छन् । 
 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार