ताजा अपडेट »

सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा वर्षेनी २७ हजारको मृत्यु

बुधबार, ११ मंसिर २०७६, १३ : २५
6 Shares

मंसिर ११,

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरुमा सुर्तीजन्य पदार्थको प्रयोगमा कमी नआएपछि यसको प्रयोगको अवस्था र नियन्त्रणका प्रयासमाथि विस्तृत अनुसन्धान हुने भएको छ। सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएपछि यसको नियन्त्रणको उपाय खोज्ने क्रममा सो अनुसन्धान हुन लागेको हो ।

पछिल्लो समय नसर्ने रोग अन्तर्गत सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने प्रमुख क्यान्सर रोग बढ्दो अवस्थामा छ । सुर्तीजन्य पदार्थ सेवनका कारण फोक्सो, मुख, आन्द्राको क्यान्सर लगायत हुने सम्भावना बढी रहन्छ। विश्व स्वास्थ्य सङठनका अनुसार नसर्ने रोगको पहिलो नम्बरमा क्यान्सर देखिएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले ‘सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण कार्यक्रम’ अन्तर्गत सुर्तीजन्य पदार्थको प्रयोगबारे सबै जिल्लामा स्थलगत तथा यसको नियन्त्रणमा बनेका नीतिगत प्रावधान ऐन नियमावलीसहित सरकारको कर प्रणालीका बारेमा विस्तृत अध्ययन गरिने जनाइएको छ। नेपालमा गत आर्थिकवर्षमा सुर्तीजन्य पदार्थमाथिको करबाट मात्र ७ अर्ब राजस्व संकलन भएको थियो । संकलित करमध्ये ४० करोड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाएको थियो ।

मन्त्रालयले पाउने सो रकमको अधिकांश हिस्सा क्यान्सर अस्पताललाई विनियोजन गरेको थियो। यस मध्ये १ करोड मात्र जनचेतनाका कार्यक्रममा खर्च भएको थियो। अर्कोतर्फ सुर्तीजन्य पदार्थ नियमन ऐन तथा नियमावली छ तर यसको कार्यान्वयन फितलो अवस्थामा छ। विश्व स्वास्थ्य सङठनले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतसम्म कर लगाउन आफ्ना सदस्य देशलाई आग्रह गरेको छ। नेपालमा सरकारले यस्ता पदार्थको उत्पादन तथा बिक्री वितरणमा ३३ प्रतिशत मात्र कर उठाउने गर्दछ। यस्तो कर सन् २००३ बाट शुरु गरिएकोमा गतवर्ष मात्र ३३ प्रतिशत पुर्याइएको हो।- केन्द्रबिन्दु

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।