ताजा अपडेट »

‘बुटवललाई राम्रोसँग बुझेकी छु, उमेरले सानै भएपनि जिम्मेवारी निभाउन सक्छु’

मंगलबार, २७ बैशाख २०७९, २० : ३८
10 Shares

भगवती पाण्डे उमेरले अहिले २५ वर्षकी भइन् । पाण्डेले बैशाख ३० गते हुन लागेको स्थानीय तहकको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएकी छिन् । ‘मैले कुनै भष्ट्राचार गर्ने छैन ।’ भनेर दुर्गा मातालाई साक्षी राखेर राप्रपाबाट बुटवलको उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेकी हुन् ।

पाण्डे १५ वर्षको उमेरदेखि नै राप्रपाको राजनीतिमा लागेकी थिइन् । युवाहरुले पनि केही गर्न सक्छन् भन्ने प्रमाणित गर्नका लागि आफूले बुटवल उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेद्वारी दिएको बताउने पाण्डेले बुटवलाई सुन्दर र हराबर शहर बनाउने आफ्नो परिकल्पना रहेको बताउने गरेकी छिन् । यसै सन्दर्भमा रहेका प्रस्तुत छ , निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि वसन्त आचार्यले भगवती पाण्डेसँग गरेको कुराकानी :

तपाई उमेरले सानै हुनुहुन्छ । बुटवल उपमहानगरको उपमेयरमा उम्मेद्वारी दिने सोँच कसरी आयो ?
–म सानै उमेरबाट सबै कुरामा जिग्यास राख्ने गथ्र्ये । समाजमा के भइरहेको छ भन्ने कुरामा म विशेष जानकारी राख्र्थे । मेरो हजुर बुबा जिल्ला प्रशासन कार्यालय गुल्मीको अधिकृत हुनुहुन्थ्यो । राजनीतिमा म कसरी आएँ भन्ने सवालमा मेरो माइजु लक्ष्मी कुँवर अञ्चालान्याधिश हुनु हुन्थ्यो । उहाँले देश धेरै नै बिग्रियो यो देश तपाईहरु जस्ता युवाहरुको हातमा छ भन्ने गर्नु हुन्थ्यो । उहाँको प्रेरणाका कारणले नै म १५ वर्षको उमेरदेखि राप्रपामा आवद्ध भएकी थिएँ । त्यसदेखि अहिलेसम्म राप्रपामै क्रियाशिल रहेकी छुँ । देशको अवस्था विभिन्न कारणले गर्दा यो पटक मैले बुटवलको उपप्रमुखमा उम्मेद्वारी दिनु पर्छ भन्ने लाग्यो र मैले उम्मेद्वारी दिएकी हुँ ।

तपाइँको प्राथमिकता तथा एजेण्डाहरु के कस्ता छन् ?
– मेरो मुख्य प्राथमिकता भनेको शिक्षा, स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेकी छु । ७० वर्ष भन्दा माथिका विरामीहरुको घरमै गएर उनीहरुको स्वास्थ्य उपचार गर्नेदेखि लिएर सुत्केरीलाई तीन महिनासम्म ३ हजारका दरले तीन महिनासम्म सुत्केरी भत्ता दिने कुरा मैले प्राथमिकतामा राखेकी छु । बुटवल जस्तो स्थानमा अहिले सार्वजनिक शौचालयको व्यवस्था रहेको छैन । बुटवलका केही स्थानमा रहेका सार्वजनिक शैचालय अहिले ताला लगाएका छन् । यसकारणले बाटोमा हिड्दा शैचालय जानु पर्ने भए यात्रुहरुलाई धेरै दुःख रहेको छ । यसकारणले नगरका मुख्य मुख्य चोक र स्थानमा सार्वजनिक शैचालय र खानेपानीको व्यवस्था मिलाउने मेरो उद्देश्य रहेको छ ।

सडकका कारण बुटवल उपमहानगरपालिका एउटा दुर्गम क्षेत्र जस्तो भएको छ । यसले गर्दा बुटवलको मुख्य सडकदेखि लिएर सबै सडकलाई व्यस्थित गर्नु पर्ने अवस्था रहेको छ । मेरो कार्यकाल भित्रमा बुटवलका सबै सडकलाई मर्मत र व्यवस्थित गराउने छु । बुटवलमा रहेको धागो कारखाना लामो समयदेखि बन्द अवस्थामा रहेको छ । यसलाई नगरको मातहतमा ल्याई सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउने छु । साथै नगरलाई भष्ट्राचार मुक्त नगर बनाउने र स्र्माट सिटि बनाउने मेरो लक्ष्य रहेको छ । विभिन्न तालिमका माध्यमबाट युवाहरुलाई सक्षम बनाएर नगरमै रोजगारीको अवस्था सृजना गर्ने छु । समग्रमा बुटवल उपमहानगरपालिकाको विकासका लागि सबै काम गरेर बुटवलाई सुन्दर र हराबर शहर बनाउने छु ।

तपाइँको जीतको आधार के कस्ता छन्?
–मैले जित्छु भन्ने पहिलो आधार त मेरो राप्रपाको केन्द्रदेखि लिएर स्थानीय तहसम्म हाम्रो एजेण्डा बलियो छ । हाम्रो एजेण्डा परिपक्क तरिकाले पुरा गछौँ। राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देङले वडाबाट जित्दै राष्ट्रिय अध्यक्षसम्म आउनु भएको हो । उहाँले वडा जिते पछि धेरै काम गर्नु भएको थियो । यसकारण मैले पनि बुटवल उपमहानगरपालिकामा काम गर्न सक्छु भन्ने विश्वास रहेको छ । अर्को कुरा म एउटा युवा पनि हो । म यहि ठाउँमा जन्मिए हुर्केको पनि हुँ । बुटवलका सबै गतिविधिहरु मैले सानैबाट नियाल्दै आएकी छु । यसले गर्दा बुटवलका सबै समस्याहरु मैले बुझेकी छु । म शिक्षित युवा भएकाले विदेशीनस हुन स्वेदेशमै केही गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुँ । सबै युवाहरुले मलाई सहयोग गर्नु हुने छ । मैले कुनै भष्ट्राचार गर्ने छैन् भनेर दुर्गा मातालाई साक्षि राखेर बुटवलको उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेकी हुँ । यसकारणले पनि सबै बुटवलबासीले मलाई विश्वास गर्नु हुने छ भन्ने नै मेरो मुख्य जितको आधार हो ।

आजबाट मौन अवधि पनि सुरु हुँदै छ । जनताको घर दैलोमा जाँदा उहाँहरुबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
–एउटा युवा त्यसमा पनि महिला जुन आँट र हिम्मत गरेर अघि आउनु भएको छ । हामी यसमा धेरै खुसि छौँ । तपाईलाई हामी साथ दिन्छौँ भन्नु भएको छ । राप्रपाको एजेण्डा हामीहरुले पहिलादेखि नै मन पराइरहेका थियौँ । अहिले बुटवलबाट राप्रपाले राम्रो उम्मेद्वार छनौट गरेको रहिछ । तपाई आउनु भएको छ । यस पटक तपाईलाई नै हामी मत दिन्छौँ भन्नु भएको छ । तपाईले अवश्य जित्नु हुन्छ हामी सबै तपाईको साथमा रहेका छौँ भन्नु भएको छ । सबै युवाहरुले पनि हामी सबै तपाईको साथमा छौँ हामीले जिताउँछौ प्रतिबद्धता पनि गर्नु भएको छ । म जस्को अघि भोट माग्न जान्छु । सबैले भोट हलोमा भन्नु भएको छ । हामी अरु पार्टीबाट बाक्क दिक्क भइसक्यौँ । दुई तिहाईको सरकार र बुटवल उपमहानगरपालिका आफ्नै हातमा हुँदा पनि उहाँहरुले केही गर्न सक्नु भएको छैन् । यसकारण यस पटक तपाईलाई सहयोग गछौँ भन्नु भएको छ ।

तपाई बुटवलको उपप्रमुखमा निर्वाचित भए बुटवलमा के कस्ता परिर्वतन हुन्छ भन्ने परिकल्पना गर्नु भएको छ?
– म बुटवलको उपप्रमुखमा निर्वाचित भए । सबै भन्दा पहिला बुुटवलका सडक निर्माण गर्छु । व्यापरिक केन्द्र जस्तो ठाउँमा सडकको अवस्था निकै नाजुक छ । यसकारण संघीय सरकारसँग आवश्यक समन्वय गरेर तत्काल सडक निर्माण गर्छु । ५ वर्ष भित्रमा कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गर्ने छु । बुटवल नगरमा भएका सबै समस्याको समाधान गरेर ५ वर्ष भित्रमा सुन्दर बुटवल र हराबरा बुटवल बनाउँने छु ।

निर्वाचनको पूर्व सन्ध्यामा बुटवलवासीलाई तपाई के भन्न चाहानु हुन्छ ?
–म यहि नगरमा हुर्केकी हुँ । अहिले यहि बुटवलमै हुर्केकी छोरीलाई मौका दिनुहोस् । म अहिले युवाहरुले पनि केही गर्न सक्छन् भन्नेर देखाउनका लागि म अघि आएकी छु । यसकारणले गर्दा सबैले मलाई सहयोग गर्नु हुने छ भन्ने विश्वास रहेको छ । मैले कुनै पनि काम निकै पारर्दशी रुपमा गर्ने छु । एक रुपिँया पनि भष्ट्राचार गर्ने छैन भन्ने प्रतिबद्धता पनि व्यक्त गर्छु। म जुन आँट र साहासका साथ अघि आएकी छु । पक्कै पनि तपाईहरुले मलाई आफ्नै छोरी सम्झेर सहयोग गर्नु हुने छ र यस पटक मलाई मतदान गर्न आग्रह गर्छु ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।