ताजा अपडेट »

देश विकासमा व्यवधान खडा गर्न एमाले नेतृत्वको सरकार भत्काइयो : अध्यक्ष ओली

शनिबार, ०४ मंसिर २०७८, २० : १४
8 Shares

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासमा व्यवधान खडा गर्न जनताबाट निर्वाचित दलको सरकार भत्काएर अर्को सरकार गठन गरिएको बताएका छन् ।

एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार यहाँ आयोजना गरेको नेपाल संवत् ११४२ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताए । एमाले नेतृत्वको सरकारविरुद्ध सबै दल लागेर कठपुतली सरकार निर्माण गरेको उनले टिप्पणी गरे । वर्तमान सरकारले जनताको विश्वास जित्नेगरी काम गर्न नसक्ने उनले बताए । 

'जनताद्वारा निर्वाचित बहुमत प्राप्त सरकार ढलाएर लोकतन्त्रको हुर्मत र संविधानको धज्जी उडाउने काम गरिएको छ', एमाले अध्यक्ष ओलीले थपे, 'अन्तैबाट बनेको सरकारले प्रतिनिधिसभा संसद् बैठकमा विश्वासको मत लिने काम गरेर लज्जास्पद काम गरेको छ ।'
 
उनले सरकार बनाउने थलो संसद् भए पनि सांसदको मतबाट सरकार गठन हुनुपर्ने यस पटक अन्तैबाट गठन भएको बताए । 'परमादेशले सरकार बन्यो । योभन्दा ठूलो जनताको अपमान के हुन्छ ? यो सरकारले केही काम गर्नेवाला छैन,' उनले भने ।

मन्त्री बनाउन, यसअघिको सरकारले नियुक्त गरेका राजदूत, कर्मचारी हटाउनमै वर्तमान सरकार व्यस्त रहेकाले जनताको पक्षमा काम गर्न नसक्ने उनले टिप्पणी गरे । एमालेविरुद्ध पाँच दलीय गठबन्धन बनेको भए पनि यस्ता दश वटा दलको गठबन्धन बने पनि एमालेलाई केही फरक नपर्ने उनले बताए ।

काठमाडौं उपत्यका जीवित संग्रहालय भएको चर्चा गर्दै अध्यक्ष ओलीले नेपाल देश प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदाले सुन्दर र धनी रहेको चर्चा गरेका थिए । सभ्यता र संस्कृतिको उदगत देश नेपाल भएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, 'यो देश शास्त्र, ज्ञान, संगीत, कला, छन्द, धुन, गीत, नृत्य आदिको उदगत स्थल हो ।'-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।