ताजा अपडेट »

बालबालिकाप्रति उत्तरदायी बनौं

मंगलबार, २९ भदौ २०७८, १४ : ०८
20 Shares

आज ५७ औं राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष भदौं २९ गते मनाइने यो दिवस विशेष रुपमा मनाइने गरिन्छ । बालबाललिकाको अवस्था र अधिकारसँग प्रर्वद्धनका लागि यो दिवसले विशेष महत्व राख्द छ । हरेक वर्ष फरक नारासहित मनाइने यस दिवस गत वर्षदेखि कोरोना महामारीका कारण प्रभावित बनेको छ । यद्यपी गत वर्ष ‘पिवद्मा बाल अधिकारको सुनिश्चितता,हामी सबैको साझा प्रतिववद्धता’ भन्ने नारासहित विभिन्न भर्चूअल कार्यक्रम गरी मनाइएको थियो । विसं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउने गरिन्छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।

यस वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ ५७औँ राष्ट्रिय बाल दिवस मनाइँदैछ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले विशेष कार्यक्रम गर्दैछन् । त्यसैगरी प्रदेश ,स्थानीय तहरु लगाएत विभिन्न संघसंस्थाहरुमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । दिवसका अवसरमा बालबालिकाको शिक्षा, स्वास्थ्य,लगाएतका अधिकार सुनिश्चित गर्दै स्वतन्त्रता प्रदान गर्नेदेखि प्रतिभा पहिचान र प्रवद्र्धनसम्मका कुराहरु भाषणका मुख्य विषयहरु बन्दछन् ।

नेपालको जनसंख्याको करिब ४० प्रतिशत जनसंख्या १८ वर्ष मुनिका बालबालिका छन् । नेपाल एकात्मक शासन पद्धतिबाट संघीयतामा प्रवेश गरेसँगै देशमा संघीय, प्रादेशिक र स्थानीय गरी तीन तहको सरकार स्थापित भयो। तीन तहको संरचना अन्तर्गत बालबालिकासम्बन्धी धेरै सरकारी सेवाहरू स्थानीय र प्रादेशिक तहमा हस्तान्तरण भएका छन् बालबालिकाको अवस्था सुधार्नका लागि सार्वजनिक महत्वका कामहरू गर्न नयाँ संरचनाले अवसरहरु प्रदान गरेको छ। यसका लागि, विभिन्न तहमा सम्बन्धित नीति, नियम, संयन्त्र र क्षमताको सुदृढिकरण गर्न उल्लेखनीय प्रयासको आवश्यकता छ। तर,संघीयताको अभ्यासमै रहेका तहले बालबालिका लक्षित कार्यक्रम कार्यान्वयनमा सुस्त छन् । विशेषगरी स्थानीय सरकारले स्थानीय तहका बालबालिकासँग प्रतक्ष्य सरोकार राख्दछ ।

हरेक वर्ष बाल दिवस मनाइन्छ । विभिन्न आकर्षक नाराका साथ मनाइने बाल दिवसका दिन बालबालिकाका विषयमा धेरै कुरा हुन्छन् । विभिन्न सभा , समारोहमा चर्का भाषण हुन्छन् । राज्यका उच्च निकायका पदस्थहरुबाट शुभकामनासहितका विज्ञप्ती जारी हुन्छन् । तर, वर्षभरी बालबालिकाका लागि के–कस्ता कार्यक्रम हुन्छन् ,कस्ता योजना बनेका छन् ,कति कार्यान्वयन भए,बालबालिकाको वास्तविक अवस्था के छ, दिवसले के–कस्तो प्रभाव पारेको छ,आदि विषयमा भने न त राज्यको न सरोकारवालाकै ध्यान पुग्छ । लामो समयदेखि बालदिवस मनाउँदै आइएको छ । हरेक वर्ष बालबालिकाका विषयमा आवाज उठ्छन् । तर, अझैपनि बालबालिकाले संविधानले नै दिएको अधिकारबाट बञ्चित छन् । अझैपनि हजारौं बालबालिका शिक्षाबाट बञ्चित छन् । अझैपनि देशका हजारौं बालबालिका शिक्षाबाट बञ्चित छन् । लाखौं बालबालिका गरिबीको रेखामुनी छन्। कैंयौं बालबालिका अभिभावकविहिन् छन् । त्यस्तै बढ्दो व्यस्त जीवनशैलीले समृद्ध परिवारका कैंयौं बालबालिका पनि अभिभावकको साथ,माया,स्नेहबाट बञ्चित छन् । कुनै न कुनै तवरबाट अधिकांश बालबालिकाले प्राप्त गर्नुपर्ने संरक्षण,अधिकार लगाएतका आधार प्राप्त गरेका छैनन् ।

‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित राष्ट्रिय बाल दिवस मनाइरहँदा नारा जस्तै व्यवहारमा पनि उतार्न आवश्यक छ । अर्थात् दुई वर्षदेखि महामारीले मुलुक प्रभावित छ ,बालबालिका निकै प्रभावित छन् । घरभित्रै र कोरोना संक्रमणको त्रासमा रहेका बालबालिकालाई उच्च मनोबल र संरक्षणको आवश्यकता छ । स्वास्थ्य सतर्कतासँगै उनीहरुलाई परामर्शको आवश्कयता छ । यस्तो अवस्थामा मात्रै नभई उनीहरुलाई सामान्य अवस्थामा पनि संरक्षण गर्ने सबैको जिम्मेवारी हो ।

भनिन्छ,बालबालिका राज्यका कर्णधार हुन् । उनीहरुमाथि गरेको लगानीले राज्यलाई उच्चतम प्रतिफल मिल्छ । अर्थात् बालबालिकाको वृद्धि,पालनपोषण,शिक्षा,स्वास्थ्यसँगै क्षमता विकास र प्रवद्र्धनमा परिवारको मात्रै नभई राज्यको पनि जिम्मेवारी हुन्छ । कस्तो जनशक्ति निर्माण गर्नेदेखि कस्ता नागरिक उत्पादन गर्ने भन्ने सन्दर्भमा राज्यले गर्ने लगानी र खेल्ने भूमिका महत्वपूर्ण हुन्छ । गरिबी,विकटता,वैदेशिक रोजगार,अस्थिरता लगाएत विभिन्न कारणले आधारभूत आवश्यकताबाट बञ्चित बालबालिकालाई हेर्ने राज्यको संवैधानिक जिम्मेवारी हो । तर, करिब ४० प्रतिशत बालबालिका तथा किशोरी रहेको नेपालमा राज्यको लगानी भने कम छ । राज्यले बालबालिकाका लागि नियम–कानून बनाएतापनि लगानी र कार्यान्वयनमा भने आवश्यक भूमिका निर्वाह गरेको छैन ।

त्यसैगरी बालबालिकाप्रति अभिभावक र राज्यमात्रै नभई सरोकारवाला पनि जिम्मेवार बन्नु पर्दछ । बालबालिका लक्षित खुलेका राज्यका विभिन्न निकाय,विभिन्न संघ–संस्था लगाएत सरोकारवाला सबैले बालबालिकाप्रति निभाउनुपर्ने दायित्वय निभाएमा मात्रै आजका बालबालिका भोलिका बलिया कर्णधार बन्न सक्छन् । अर्कोतर्फ बद्लिँदो परिवेश र प्रविधिको पहुँचले बालबालिकाहरु सानैदेखि फरक क्षमतामा दक्ष बन्दै गएका छन् । उनीहरुको वृद्धिसँगै सिकाइको पनि विकास भएको पाइन्छ । तसर्थ समयमा नै अभिभावक,समाज,सरोकारवाला र राज्य लगाएत सबैले समयमा नै बालबालिकाको संवेदनशीलतालाई संरक्षण गर्दै उचित हेरचाह,पोषणसँगै संरक्षण र प्रवद्र्धनमा उत्तरदायी बनेर उनीहरुको वृद्धि,विकास,सफलतामा सहयात्रा गर्न आवश्यक छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।