ताजा अपडेट »

शिक्षक-प्रहरी झडप: १२ जना घाइते

शुक्रबार, ०४ भदौ २०७८, १५ : ०१
16 Shares

महेन्द्रनगर । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै  कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो ।

सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए । घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए । यसअघि पनि नगरपालिकामा रहेका नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगर प्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको  छ ।-रासस 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।