ताजा अपडेट »

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

शुक्रबार, ०४ भदौ २०७८, १३ : १७
20 Shares

मस्को । अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेको बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ । उनीहरुबीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ । पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरुले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरु असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको बताइएको छ ।

त्यसैगरी बिहीबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन् । उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ । यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका थिए । बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो ।

त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका थिए । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको बताइएको छ । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।