ताजा अपडेट »

यस्तो छ,टाइगर प्यालेस खरिद–बिक्री नालीबेली

सोमबार, २७ साउन २०७६, ०९ : ५४
26 Shares

साउन २७,

काठमाडौं । यही साउन २० गते क्लिकमाण्डू डट कमले ‘नेपालमा नामै नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए पाँच तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता’ शीर्षकको समाचार प्रकाशित गर्यो । साउन १५ गते टाइगर प्यालेस रिसोर्टको मालिक रहेको अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज र मलेसिया बस्ने एनआरएन इन्द्रबहादुर थापाबीच टाइगर प्यालेस किनबेचको सम्झौता भएको थियो ।सम्झौताअनुसार ३ करोड ३९ लाख अमेरिकी डलर अर्थात् साढे ३ अर्ब नेपाली रुपैयाँमा इन्द्रबहादुरले उक्त रिसोर्ट किन्ने भएका हुन् । यसका लागि उनले मलेसियन एक बैंकको करिब १८ अर्ब रुपैयाँ बराबरको स्टेटमेन्ट शो गरेका थिए ।यो समाचार बाहिरिएसँगै नेपालको कर्पोरेट जगतमा इन्द्रबहादुर थापाको ठूलो चर्चा भएको थियो । किनभने नेपालका ठूला व्यावसायिक घरानाले ताकेको टाइगर प्यालेस फुत्काउने अर्बपति इन्द्रबहादुरलाई कसैले पनि चिनेका थिएनन् ।

यति मोटो रकममा टाइगर प्यालेस किनेर कर्पोरेट जगत चकित पार्ने इन्द्रबहादुर को हुन् ? भनेर हामीले खोज्यौं । खोज्नेक्रममा हामीले नेपालमै रहेकी थापाकी श्रीमति राधा बुढाथोकी मगरसँग टेलिफोन सम्पर्क गर्यौं ।उनले इन्द्रबहादुर आफ्नो श्रीमान भएको तर टाइगर प्यालेस किन्ने विषयमा आफूलाई केही पनि थाहा नपाएको जवाफ दिइन् ।हामीले इन्द्रबहादुरकी साली फेला पार्यौं । नुवाकोटको एक गाउँपालिकाको उपाध्यक्ष रहेकी थापाकी सालीले पनि टाइगर प्यालेस खरिद प्रक्रियाको विषयमा अनविज्ञता प्रकट गरिन् ।यद्यपि हामीले खोज्न छाडेनौं । हामीले मलेसियाका धेरै व्यवसायीलाई भेटेर इन्द्रबहादुरको बारेमा सोधीखोजी गर्यौं । केही व्यवसायीले मात्रै थापालाई चिन्ने बताए । तर, उनीसँग यत्रो पैसा छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।

यसैक्रममा साउन २२ गते इन्द्रबहादुर हाम्रो सम्पर्कमा आए । हामीसँग टेलिफोन सम्पर्कमा आउँदा उनी बिजनेश मिटिङका लागि इन्डोनेशिया जान मलेसियाको एयरपोर्ट पुगेको बताएका थिए । तैपनि हामीले उनीसँग १३ मिनेट कुरा गर्यौं । र, अर्को ‘यी हुन् साढे ३ अर्ब रुपैयाँमा टाइगर प्यालेस किन्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता’ शीर्षकमा अर्को स्टोरी छाप्यौं ।हामीले इन्द्रबहादुरको विषयमा फलोअप समाचार प्रकाशित गरेपछि सरोकारवालाहरुले हामीसँग उनको बारेमा थप जिज्ञासा राखे । कतिपयले उनले २/४ अर्ब रुपैयाँ नेपाल ल्याइसकेको र उक्त सम्पत्तिको स्रोतमाथि राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले छानविन गरिरहेको छ रे नि भन्ने सूचना दिए ।

हाम्रा पाठकबाट हामीलाई यस्ता प्रश्नहरु सोधिन थालेपछि हामी थप अध्ययन गर्न लाग्यौं । थापाले पैसा ल्याएको भए पक्कैपनि राष्ट्र बैंकलाई जानकारी हुन्छ भनेर हामी राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग पुग्यौं । र, सोही विभागभित्रको प्रत्यक्ष वैदेशिक लगानी हेर्ने केही अधिकारीहरुसम्म पुग्यौं । डेपुटी गभर्नरसम्म पुग्यौं । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइसम्म पुग्यौं । राष्ट्र बैंकका अधिकारीहरुसँग कुरा गरेपछि थापाको विषयमा अर्को एउटा रहस्यो खुल्यो कि- नेपालमा विदेशी पुँजी ल्याउन के कस्ता प्रक्रियाहरु पूरा गर्नुपर्छ भनेर बुझ्न थापा एक महिनाअघि राष्ट्र बैंक पुगेका रहेछन् ।

कसरी पुगे राष्ट्र बैंक ?

होटल खरिद प्रक्रियाअघि बढाउनुपूर्व थापा कानूनी प्रक्रिया बुझ्न राष्ट्र बैंक पुगेका थिए । जसका लागि थापाले राष्ट्र बैंकका पूर्वकर्मचारी तथा भैरहवामा होटल खोल्ने प्रक्रियामा रहेका व्यवसायी डा. शिवभक्त पोखरेललाई साथमा लिए गए ।डा. पोखरेललाई उनले नेपाल आउने जाने क्रममा भेट गरेका थिए । जसमा दुबै जनाको परिचय हुँदा होटल खरिदको विषयमा छलफल भएको थियो । यो अवसरमा पोखरेलले आफू राष्ट्र बैंकबाट डेढ वर्षअघि अवकास लिएर होटल व्यवसायमा लागेको बताएका थिए ।

पोखरेल राष्ट्र बैंकको पूर्वकर्मचारी भएकाले उनीसँग संगत गर्दा नेपालमा विदेशबाट पुँजी ल्याउने प्रक्रिया सजिलै बुझ्न सकिने र राष्ट्र बैंकसमक्ष सहजै एक्सेस हुने देखेपछि थापा पोखरेलसँग नियमित सम्पर्कमा रहे ।टाइगर प्यालेस किन्नका लागि नेपाल आएका थापालाई पोखरेलले आफू पनि होटल व्यवसायी भएको र होटलका लागि पार्टनर खोजी रहेको बताएका थिए । यसैक्रममा थापाले आफू पार्टनर नबन्ने तर होटल किन्न चाहेको बताए ।

टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

आर्थिक संकट झेलिरहेका पोखरेललाई होटल बिक्रीको विकल्प ठीकै लाग्यो । र, उनी निर्माणधिन गौतमवुद्ध एयरपोर्ट होटल बिक्री गर्न राजी भए । होटलको मूल्य ३४ करोड रुपैयाँ निर्धारण भयो ।थापाले होटल खरिदका लागि पोखरेललाई बैना रकम वापत ७२ लाख रुपैयाँको चेक दिए । तर उक्त चेक अहिलेसम्म पनि साटिएको छैन् । चेक बाउन्स भएपछि थापाले आफ्नो पैसा नेपाल ल्याउनका लागि ढिलाइ भएकाले चेक नसाटिएको बताएका थिए ।स्रोतका अनुसार पोखरेलको चेकसँगै नवराज बजगाईलाई थापाले दिएको ९ करोडको चेक पनि बाउन्स भएको थियो । स्रोतका अनुसार बजगाईको जग्गा खरिदका लागि थापाले ९ करोड रुपैयाँको चेक दिएका थिए । तर उक्त चेक पनि हालसम्म साटिएको छैन् । उनै पोखरेलले थापालाई एक महिनाअघि राष्ट्र बैंक पुर्याएका थिए ।

राष्ट्र बैंकका इन्द्रबहादुरको सवा घन्टा

विदेशी विनिमय व्यवस्थापन विभागकी कार्यकारी निर्देशक सरिता भट्टले थापा र पोखरेलसँग एक्लै डिल गरिनन् । उनले आफ्ना विभागीय प्रमुखहरु अर्थात् निर्देशकस्तरका सबै कर्मचारी बोलाइन् । सवा १ घन्टा थापा, पोखरेल र राष्ट्र बैंकका कर्मचारीहरु बसे ।थापाले आफूले भैरहवाको सिल्भर हेरिटेज किन्ने प्रक्रिया शुरु गरिसकेको जानकारी गराउँदै विदेशबाट नेपालमा पैसा ल्याउन के कस्ता प्रक्रिया छन् बनेर आफू बुझ्न आएको बताए ।

सो अवसमार राष्ट्र बैंकका कर्मचारीले भोलिको दिनमा सम्पत्ति फिर्ता नलैजाने हो भने नेपाली नागरिकका लागि विदेशबाट पैसा ल्याउन राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने तर, सम्पत्ति र नाफा फिर्ता लाने हो भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ भन्ने जानकारी गराए ।‘नेपालमै लगानी गर्छु र आफ्नो जायजेथा नेपालमै राख्छु भन्छ भने विदेशमा कमाएको पुँजी ल्याउन स्वीकृति लिनु पर्दैछ,’ राष्ट्र बैंकका अधिकारीले भने, ‘तपाईं के गर्ने हो पहिला क्लियर हुनुहोस् ।’

छलफलमा थापाले सिल्भर हेरिटेजलाई भुक्तानी दिनका लागि सिंगापुरस्थित सिल्भर हेरिटेजको खाता बैंकको बैंकमा नै आफूले ३० लाख डलर आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको बताए । र, सिल्भर हेरिटेजले सिंगापूरमै भुक्तानी गर्दा सजिलो हुन्छ भनेको र आफूले त्यसै गर्न लागेको जानकारी गराए ।थापाले यसो भनेपछि राष्ट्र बैंकका अधिकारीहरुले तपाईंको व्यक्तिगत खातामा भएको उक्त रकम झिकेर नेपाल ल्याउनुहोस् र नेपालबाट भुक्तानी गर्नुहोस् । सिंगापूरबाट भुक्तानी गर्नु भनेको गैरकानूनी हो, तपाईंलाई समस्या पर्न सक्छ भनेर सम्झाए ।

प्रक्रिया बुझेपछि थापाले भने- झन्डै फसिनछु

राष्ट्र बैंकका अधिकारीहरुको यो कुरा सुनेपछि थापाले भने, ‘अ हो म त झन्डै फसिनछु । अब सबैकाम प्रक्रिया पूर्याएरै गर्छु’ भनेका थिए ।‘उहाँले सिल्भर हेरिटेजले सिंगापुरबाटै भुक्तानी गर्नुहोस् हामीलाई सजिलो हुन्छ भनेको छ, मैले त्यसै गर्न लागेको छु भन्नुभयो, हामीले नेपालमै पैसा ल्याएर भुक्तानी गर्नुपर्छ, सिंगापुरबाट भुक्तानी गर्न मिल्दैन भन्यौं, त्यसो गर्नुभयो भने गैरकानूनी काम हुन्छ भन्यौं,’ राष्ट्र बैंकको प्रत्यक्ष बैदेशिक लगानी विभागका एक कर्मचारीले भने, ‘अहो म त झन्डै फसिन छु, अब म त्यसै गर्छु भन्नुभयो ।’

राष्ट्र बैंकका अधिकारीहरुले थापालाई तपाईंको कम्पनीको खातामा पैसा छ कि व्यक्तिगत खातामा भनेर सोधेका थिए । सो अवसरमा थापाले सिल्भर हेरिटेज किन्ने पैसा आफ्नो व्यक्तिगत खातामा भएको पटकपटक बताएका थिए ।‘त्यसपछि हामीले उद्योग विभाग र राष्ट्र बैंकको स्वीकृति लिएर त्यो पैसा नेपाल ल्याउनुहोस् र सिल्भर हेरिटेजलाई भुक्तानी गर्नुहोस्, तपाईंले भुक्तानी गरेपछि सिल्भर हेरिटेजले राष्ट्र बैंकसँग रिप्याट्रेशनको स्वीकृतिका लागि आवेदन दिन्छ, हामी उसले पुँजीगत लाभकर लगायतका दायित्व भुक्तानी गरेको छ कि छैन भनेर हेर्छौं, भुक्तानी गर्न बाँकी रहेको नदेखिएपछि मात्रै उक्त पैसा विदेश लान स्वीकृति दिन्छौं,’ राष्ट्र बैंकका अधिकारीले थापालाई सुनाए ।राष्ट्र बैंकका अधिकारीहरुले पहिला डीडीए गर्नुहोस्, त्यसपछि एसपीए गर्नुहोस्, त्यसपछि उद्योग विभागको स्वीकृत लिएर नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुहोस् भनेर प्रक्रिया सुझाएका थिए ।

राष्ट्र बैंकका अधिकारीलाई शंका लागेपछि…

यतिधेरै रकम ल्याउँछु भनेर आएको मान्छे त्यति टाठो लागेन । र, राष्ट्र बैंकका अधिकारीले यत्रो पैसा कमाउन के व्यवसाय गर्नुभयो भनेर सोध्दा थापाले ‘मेरो बिजनेश धेरै छ’ भन्ने जवाफ दिए ।त्यतिमात्रै होइन, राष्ट्र बैंकका अधिकारीहरुले अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेजले चलाउन नसकेको होटल किन्दै हुनुहुन्छ, तपाईं कसरी होटल चलाउन सक्नुहुन्छ ? अहिलेसम्म होटल चलाएको अनुभव छ कि छैन भनेर राष्ट्र बैंकका अधिकारीहरुले सोध्दा थापाले– ‘मसँग पैसा छ, मलाई कुनै अफ्ठ्यारो पर्दैन,’ भन्ने जवाफ दिएका थिए ।उनको यस्तो जवाफ सुनेपछि ‘कतै मैले गलत प्रश्न पो सोधेछु कि भनेर आत्मग्लानी भएको’ राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानी विभागका एक कर्मचारीले जानकारी दिए ।

यस्तो छ प्रक्रिया

नेपालमा डलर भित्रियो भने त्यसको जानकारी राष्ट्र बैंकलाई हुन्छ । अहिलेसम्म राष्ट्र बैंकलाई कुनै जानकारी आएको छैन ।वाणिज्य बैंकहरुले विदेशी मुद्राको कारोबार गर्नका लागि विभिन्न देशमा नोस्ट्रो एकाउन्ट खोलेको हुन्छ । यस्तो खातामा पैसा आउँछ ।राष्ट्र बैंकका अधिकारीहरुका अनुसार सामान्यतया बैंकको डलर खातामा आएपछि जुन देशबाट आएको हो त्यो देशको केन्द्रिय बैंकलाई सम्बन्धित बैंकले स्वीफ्ट म्यासेज गर्छ । कुन कम्पनीमा लगानी गर्ने हो ? पैसा पठाउने मान्छेको भ्यालीडीटी के हो ? आयस्रोत के हो ? सम्पत्ति सुद्धिकरण निवारण ऐन पालना गरेको छ कि छैन ? कर तिरेको पैसा हो कि हैन ? भनेर पठाउँछ ।

विदेशी बैंकको जवाफ आइसकेपछि सम्बन्धित बैंकले राष्ट्र बैंकलाई जानकारी गराउँछ । राष्ट्र बैंकले विदेशी पुँजी ल्याउन स्वीकृति दिएको छ कि छैन भनेर राष्ट्र बैंकलाई सोध्छ ।बैंकले फलानो देशबाट, फलानो व्यक्तिले फलानो खाता नम्बरमा यति रकम पठाएको छ, के गरुँ ? भनेर सोध्छ । शंका लागेको खण्डमा बैंकले राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा समेत पठाउँछ ।बैंकहरुले धेरै विदेशी मुद्रा होल्ड गरेर राख्न सक्दैन । किनभने त्यसो गर्दा बैंकलाई फाइदा हुँदैन । विदेशी मुद्रा होल्ड गरेर राख्दा अत्यन्तै न्यून मात्रै ब्याज आउँछ । त्यसलाई नेपाली मुद्रामा परिवर्तन गर्ने हो भने बैंकको कमाई पनि बढ्छ । भुक्तानी गर्नुपर्ने दायित्व बाहेकको विदेशी मुद्रा बैंकहरुले राष्ट्र बैंकलाई बिक्री गर्छन् ।

पैसा नेपाल आएको छैन

‘आज हामीले बैंकबाट ३ करोड २० लाख डलर किनेका छौं, पछिल्लो ६ महिनायताको तथ्यांक हेर्ने हो भने बैंकहरुले राष्ट्र बैंकलाई दैनिक ३÷४ करोड डलरभन्दा बढी बिक्री गरेको रेर्कड छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘यसले के पुष्टि हुन्छ भने इन्द्रबहादुर थापाले नेपाली बैंकको नोष्ट्रो एकाउन्टमा पैसा जम्मा गरेका छैनन् ।’राष्ट्र बैंकका अधिकारीहरुका अनुसार अहिलेसम्म इन्द्रबहादुरले नेपालमा पैसा ल्याएका छैनन् ।‘यदि पैसा ल्याएका भए उनी प्रक्रिया बुझ्न आउने नै थिएनन्,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

यसो भन्छ वित्तीय जानकारी इकाई

उद्योग विभाग र राष्ट्र बैंकको स्वीकृतिबिना थापाले नेपाली बैंकमा विदेशी मुद्रा जम्मा गरेका भए सम्बन्धित बैंकले शंका गरेर वित्तीय जानकारी गराउँथ्यो ।वित्तीय जानकारी इकाइका अधिकारीहरुसँग बुझ्दा अहिलेसम्म यसबारे कुनै जानकारी नआएको बताए ।‘हामीले पनि मिडियामा समाचार पढेर यो विषय थाहा पाएका हौं, यदि नेपालमा यति मोटो रकम भित्रिएको भए पक्कैपनि बैंकले हामीलाई भेरिफिकेशनका लागि पठाउँथ्यो,’ इकाइका एक अधिकारीले भने, ‘अहिलेसम्म कुनै जानकारी आएको छैन । तपाईंहरुले पनि जिज्ञासा राख्नुभयो अब के रहेछ हामी पनि सोधखोज गरौंला ।’

सिल्भर हेरिटेजलाई ३ अर्ब ५ करोड एफडीआएको अनुमति

सिल्भर हेरिटेज लिमिटेड, ब्रिटिश भर्जिन आइसल्याण्ड हङ्कङबाट १ अर्ब ७५ करोड ५० लाख रुपैयाँ विदेशी लगानी भित्र्याउनका लागि राष्ट्र बैंकले २०७० कात्तिक २६ गते स्वीकृति दिएको थियो । जसमा सन् २०१३ नोभेम्बर ११ देखि २०१६ नोभेम्बर २१ सम्ममा उक्त रकम नेपाल भित्र्याइएको राष्ट्र बैंकले जनाएको छ ।

टाइगर प्यालेसका नेपाली १० प्रतिशतका साझेदार राजेन्द्र बजगाईंको नाममा रहेको तथा आंशिकरुपमा चुक्ता भएको प्रतिकित्ता १०० रुपैयाँका दरले सेयर सिल्भर हेरिटेजलाई बिक्री गर्न उद्योग विभागले २०७२ चैत ४ गते स्वीकृति दिएको थियो । त्यस्तै, २०७३ माघ २७ गते संसोधित सेयर खरिद बिक्री सम्झौता (एसपीए) भएपछि उक्त रकम बराबरको विदेशी लगानी भित्र्याउन पनि राष्ट्र बैंकले स्वीकृति दिएको थियो । यसो गर्दा राष्ट्र बैंकले सिल्भर हेरिटेजलाई कूल १ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको स्वीकृति दिएको जनाएको छ ।

त्यसैगरी, रिजर्भकोसहित गरेर कूल ३ करोड ५ लाख कित्ता अर्थात् ३ अर्ब ५ करोड रुपैयाँ बराबर हुने परिवर्तय विदेशी मुद्रा थप विदेशी लगानी बापत बैंकिङ प्रणालीमार्फत् नेपाल भित्र्याउन राष्ट्र बैंकले २०७४ असार २१ गते स्वीकृति दिएको थियो ।

टाइगर प्यालेस किन्न यसरी आइपुगे इन्द्रबहादुर

सिल्भर हेरिटेजले टाइगर प्यालेसबाट नाफा कमाउन नसकेपछि बेचेर बाहिरिने संकेत गर्यो । यस्तो संकेत पाएपछि नेपालको कर्पोरेट जगतका नामी व्यवसायीहरु चौधरी ग्रुप, आईएमई ग्रुम, विशाल ग्रुप जस्ता घरानाले चासो देखाए । तर, मूल्यमा कुरो मिलिरहेको थिएन ।त्यतिबेला थापा मलेसियाबाट नेपालमा अरुण तेस्रोको विडिङका लागि आएका थिए । तत्कालिन समयमा भारतीयहरुले बिडिङ उनीबाट फुस्काएपछि उनी टाइगर प्यालेसको मालिक कम्पनी सिल्भर हेरिटेजसम्म पुगेका थिए । जहाँ उनले बिडिङ गरे । र, बाजी मारे ।‘मैले ट्राइ गरेको, फ्याटै टेन्डर पर्यो,’ थापाले सुनाए ।नेपालमा व्यवसाय गर्ने उद्देश्यले नेपाल आएको बेलामा उनले टाइगर प्यालेसमा आँखा लगाएका थिए ।

पोखरेल भन्छन्, ‘थापाजी लाई कुरिराछु’

थापाजीसँग मेरो भेट थापाकै बाल्यकाल कै साथी इन्जिनियर शंकर गिरीमार्फत चिनजान भएको थियो । त्यो बेलामा मेरो होटल निर्माणकै क्रममा थियो ।तपाई पार्टनर खास मन नपर्ने भएकाले सुरुमा राखेको थिए । तर पछि मलाई अलिकति गाह्रो भएपछि एक जना पार्टनर राखौं न भन्ने भयो । सोही क्रममा गिरीले मलाई थापासँग परिचय गराउनु भयो । थापाजीले मेरो पनि होटल खरिद गर्ने इच्छा देखाउनु भयो । ७ कठ्ठामा पपर्टी भए पनि राम्रो बनाएको थिए । तर उहाँले भैरहवामै पुगेर साइट हेरे पछि त्यसका लागि ठीक छ तर पार्टनर नगर्ने भन्नु भयो ।जसका लागि हामीले अडिट गर्र्यौ । र, मूल्य निर्धारण भयो । जसवापत उहाँले मलाई टोकन मनीका रुपमा ७२ लाख रुपैयाँको चेक दिनु भयो ।तर त्यो चेक अहिलेसम्म पनि साटिएको छैन् । उहाँसँग म अहिले पनि सम्पर्कमै छु । उहाँले म अहिले बाहिर भएकाले रेमिट गर्न पाएको छैन् । गत सोमबार सिल्भर हेरिटेजको इस्क्रो अकाउन्टमा ३ लाख अमेरिकी डलर डिपोजिट गरेँ पनि भन्नु भएको छ । र, अहिले मैले होटलको सम्पूर्ण काम रोकिसकेको छु ।

होटलसँगै जग्गामा पनि लगानी

थापाले टाइगर प्यालेस रिसोर्ट मात्रै खरिद होइन उनले भैरहवामै रहेको निर्माणधिन होटल खरिदका लागि पनि बैना रकमको चेक दिइसकेका छन् भने पूर्वझापामा जग्गा खरिदका लागि पनि बैना रकम वापतको चेक दिइसकेका छन् । यसरी हेर्दा थापाले नेपालमा एउटा मात्रै कम्पनीमा नभई अन्य क्षेत्रमा पनि लगानी गर्ने सोच देखिन्छ ।

टाइगर प्यालेसको कानूनी विवाद

पाँच तारे होटल टाइर प्यालेस जग्गासम्बन्धि कानूनी विवादमा पनि मुछिएको छ । यसै सन्दर्भमा सिल्भर हेरिटेजले अष्ट्रेलियन स्टक एक्सचेञ्जमा आइतबार कानूनी प्रक्रिया सम्बन्धि सूचनासमेत प्रकाशित गरेको छ ।टाइगर प्यालेस रिसोर्ट होटल कम्पनी तथा सहायक कम्पनीको नाममा नरहेका प्लटबारे मुद्धा अहिले अदालतमा छ । जसमा ५ वटा प्लट ।रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१३, कोटिहवामा निर्माण गरिएको भनिएको उक्त रिसोर्टले जिल्ला अदालतको रुपन्देहीको आदेशको अवज्ञा गरेको भन्दै बिक्रीको प्रक्रिया अगाडि बढाएको हो ।

रिसोर्टले भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज)को करिब १० कठ्ठाभन्दा बढी जग्गा (सार्वजनिक कुलो तथा नगर) अतिक्रमण गरी संरचना निर्माण गरिएको दाबी गरिएको छ । तत्कालिन भैलुभुज परियोजना अन्तर्गत नलकुप जल उपभोक्ता संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले ‘सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काई सरकारी सम्पत्ति संरक्षण गरी पाउँ भनि रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।रिसोर्टले रुपन्देही साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका–१३) स्थित नरहको (नलकुप)को कित्ता नम्बर १२०, १४८, १५२, १९० र कित्ता नम्बर ७३ को सरकारी जग्गामा कम्पाउन्ड लगाई होटलको संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको छ ।

तत्कालिन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब १० कठ्ठा १८ धुर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको भन्दे रिसोर्ट विरुद्ध रुपन्देही जिल्ला अदालतले गत असार २० गते सुनुवाई गर्दै रिसोर्टको संरचना तथा सम्पत्ति बिक्रीवितरण नगर्नु–नगराउनु भनी अन्तरिम आदेश जारी गरेको थियो ।मुद्दाको प्रारम्भिक सुनुवाई गर्दै तत्कालिन एक नम्बर इजलासका न्यायाधीश नरिश्वर भण्डारीले प्रतिवादीको नाममा ‘मुलुकी देवानी कार्यविधि संहिता २०७४’ को दफा १५६ बमोजिम अन्तरिम आदेश जारी गरेका थिए ।

तर सिल्भर हेरिटेजले ९ अगस्ट २०१९ मा जारी गरेको र अष्ट्रेलियन स्टक एक्सचेञ्जमा प्रकाशित रिपोर्टमा सिल्भर हेरिटेजले कम्पनी र सहायक कम्पनीको स्वामित्वमा नहरेको जग्गा बाहेकको जग्गा बिक्री गर्नका लागि कुनै समस्या नभएको जनाएको छ । कम्पनीले उक्त नोटिसमा अन्तरिम आदेशले बिक्रीका लागि होटलको भवन, सञ्चालत तथा कानूनी प्रक्रियामा कुनै असर नगर्ने दाबी समेत गरेको छ । कम्पनीले अहिले आफ्नो तर्फबाट कानूनी प्रक्रिया अघि बढाएको समेत बताएको छ ।-साभार: क्लिकमाण्डु डटकम

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।