ताजा अपडेट »

स्वराजको निधन: प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली व्यक्त

बुधबार, २२ साउन २०७६, ११ : ४६
2 Shares

साउन २२,
ग्लोबल आवाज
बुटवल । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । एक ट्वीट जारी गर्दै उनले स्वराजका परिवार, भारत सरकार तथा जनतालाई समवेदना व्यक्त गरेका छन् । यसैगरी नयाँ शाक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा नेता प्रदिप ज्ञवाली लगायतले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

६७ वर्षीय स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ। स्वराजले मंगलबार बेलुकी ७:३८ मा मात्रै ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई बधाई दिँदै जीवनमा यही दिन हेर्ने प्रतीक्षामा रहेको प्रतिक्रिया दिएकी थिइन्। उनको ट्वीट भारत सरकारले जम्मू कश्मिरलाई दिइएको विशेष दर्जा खारेज गरेको तर्फ केन्द्रित रहेको थियो। त्यसको केही समयपछि छातीमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ। केही वर्षअघि किड्नी प्रत्यारोपन गराएपछि स्वराज मन्त्रालयको काममा सहभागी हुने काम कम हुँदै गएको थियो। यद्यपि उनले नरेन्द्र मोदीको सरकारमा रहेर विदेश मन्त्रालयमा रहेर छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्न सफल रहिन्। नेपालसँग पनि उनको सम्बन्ध सुमधुर रहेको थियो।

सर्वोच्च अदालतकी वकिल एवम भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ समेत रहेकी स्वराजले स्वास्थ्यमा समस्याका कारण नै यसपटकको लोकसभामा उम्मेदवारी नदिने घोषणा गरेकी थिइन्। दिल्लीको मुख्यमन्त्री समेत रहिसकेकी स्वराज त्यसपछि भाजपा सरकारमा विभिन्न मन्त्रालयको पदको जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। गैर राजनीतिक परिवारबाट राजनीतिमा होमिएकी स्वराजमा भारतको प्रधानमन्त्री हुने लक्षण रहेको बाल ठाकरे लगायतका नेताहरुले बताएका थिए। समाजवादी विचारधारबाट प्रभावित स्वराजको आरएसएससँग पनि राम्रै समबन्ध रहेको थियो। विपक्षी दलसँग पनि उनको राम्रो सम्बन्ध रहेको थियो।  

स्वराजको निधनसँगै एम्स अस्पतालमा भाजपा लगायत अन्य दलका नेताहरुले समवेदना व्यक्त गरेका थिए। अन्तिम दर्शनका लागि मोदी क्याबिनेटका धेरै मन्त्रीहरु अस्पताल पुगेका थिए। हाल उनको पार्थिव शरीरलाई जन्तरमन्तरस्थित धवलदीपमा रहेको उनको निवासमा अन्तिम दर्शनका लागि राखिएको छ। बुधबार १२ बजेदेखि  उनको पार्थिव शरीरलाई भाजपा मुख्यालयमा राखिने छ। ३ बजे दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिने भाजपा अध्यक्ष जेपी नड्डाले बताए।  

भारतका राष्ट्रपति रामनाथ कोविन्दले स्वराजको निधनसँगै आफूले छोरी गुमाएको बताउँदै उनी साहस र निष्ठाको प्रतिमूर्ति रहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी स्वराजको अन्तिम दर्शन गर्नका लागि उनको निवास पुग्ने बताइएको छ। मोदीले ट्वीट गर्दै सुषमा स्वराज राजनेता भएको भन्दै विदेशमन्त्रीका रुपमा उनले गरेको काम भारतीय जनताले सदा याद राख्ने बताएका छन्।

भाजपाका साथै कांग्रेस, आम आदमी पार्टीका नेेताहरु पनि अन्तिम श्रद्धान्जली दिन सुष्मा निवास पुग्ने क्रम रहेको छ। यसैबीच, भारतीय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धीले पनि ट्वीट गर्दै स्वराजको निधनमा दु:ख व्यक्त गरेका छन्। 

ट्वीटरमा सक्रिय रहेन स्वराजले विदेशमन्त्री रहँदा विदेशमा रहेका भारतीय र भारतमा रहेका विदेशीहरुले ट्वीटरमार्फत समस्या पोख्दा चाँडै समाधान गर्ने गर्थिन्। सन् २०१७  जुन ८ मा उनले 'मंगल ग्रहमा भए पनि त्यहाँ रहको भारतीय राजदूतावासले सहयोग गर्ने' ट्वीट निकै चर्चामा रहेको थियो। 

पाकिस्तानबाट आएका भिसाका समस्या पनि सहजै समाधान गर्न पछि नपर्ने स्वराजले मोदी सरकारको विदेश नीतिलाई शिखरमा पुर्‍याएको भारतीय मिडियाको विश्लेषण छ। 'सुट बुट मन्त्रालय' मा परिचित विदेश मन्त्रालयलाई स्वराजले आम सर्वसाधरणको पहुँचमा पुर्‍याएकी थिइन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।